मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
कला

पनौतीको कला–सम्पदामाथि जोडिन पुगेको आधुनिक कलादीर्घा

शनिबार, २९ वैशाख २०८१, २० : ५७
शनिबार, २९ वैशाख २०८१

यसपल्टको आलेखमा नेपाली संस्कृति र कलागत धरोहर बोकेको ऐतिहासिक सहर पनौतीका बारेमा छ । पनौती काठमाडौँँ उपत्यकाकै एक भागजस्तो भएर देखापर्ने गर्छ । काठमाडौँबाट मात्र दुई घन्टामा पुगिने पनौती एउटा सानो गाउँ वा बस्तीजस्तो छ, तर त्यहाँ हुबहु काठमाडौँ उपत्यकाकै जस्ता मठ–मन्दिर, घर, पाटीपौवा छन्; चाडपर्व अनि जात्राहरू एकैजसो देखिन्छन् । यहाँको अवलोकनले नेवार समुदायको गरिमामय परम्परालाई तत्क्षणै महसुस गराउँछ । 

हुन त नेपालभर नेवार समुदाय जहाँ–जहाँ गएका छन्; त्यहाँ उनीहरू एकै ठाउँमा गुजुमुज्ज भएर बसेको देखिन्छ । जहाँ गए पनि उनीहरूले आफ्नो संस्कृति र संस्कारलाई धानिरहेकै हुन्छन् । 

पनौतीमा राणाकालमा देखापरेका पश्चिमी वास्तुकला शैलीका घर ठाउँठाउँमा देखिन्छन् । राणाशासकको कलागत दख्खल यो ठाउँको यथेष्ट रूपमा प्रयोग भएको रहेछ भन्ने यसले देखाउँछ । 

बजारको माझमा पुरानो शैलीका घरलाई भत्काएर पश्चिमी बेलायती शैलीमा बनेको एउटा घर छ । त्यतिबेलाका सत्ता र पैसाले मात्तिएका राणाहरू त्यहाँ आएर बस्थे रे । शाही रवाफ त एकातिर छँदै छ, उनीहरूले आम मान्छेप्रति कसरी भयको वातावरण सिर्जना गर्थे भन्ने कथा अहिले पनि त्यहाँका बुढाबुढीले सुनाउने गर्छन् । 

यसघर पछाडिपट्टि घोडा राख्ने तबेला  छ । यहीँबाट राणाहरू अगाडिको घना जंगलमा सिकार खेल्न जान्थे अरे । उनीहरू यहाँ बसुन्जेल गाउँवासीले बुहारी र छोरीमान्छेलाई घरबाहिर ननिस्कनू है भनेर एक प्रकारको उर्दीजस्तै गर्थे रे । पनौतीकै एकजना वृद्ध व्यक्तिले भनेका कुरा हुन् यी । 

यहीँबाट राणाहरू अगाडिको घना जंगलमा सिकार खेल्न जान्थे अरे । उनीहरू यहाँ बसुन्जेल गाउँवासीले बुहारी र छोरीमान्छेलाई घरबाहिर ननिस्कनू है भनेर एक प्रकारको उर्दीजस्तै गर्थे रे । 

त्यस घरमुनितिर अहिले इँटा–ढुङ्गाले छापेका सुनसान गल्ली अनि सबैजसो पुराना भोटेताल्चा भिरेका घरहरू भेटिन्छन् । बास बस्न बसेका एक–दुईवटा गाडीबाहेक त्यहाँ गाडी कुदेको देखिँदैन । बस्तीबाहिर ठुलै सहर देखिन्छ । गाडीको कोलाहल सुनिनसक्नुको छ, सहर हुँँदै गएको यो पक्की सडकलाई बस्तीभित्र प्रवेश दिइएको देखिँदैन । 

ती पाका मानिससँग मैले सोधेको थिएँ— यहाँका सबै पुराना मूर्तिहरू चोरेर कतै लगिसके रे नि ? 

उनले हाँस्दै भने— यहाँका मान्छेहरू त कता–कता गए, शून्य भइसक्यो । भगवान्का मूर्तिहरू उनैले सँगै लगे होलान् । 

IMG_20240427_110640__01

  • दाइजोमा दिएको ! 

भक्तपुरका राजा भूपतिन्द्र मल्लले बहिनीलाई दाइजोका रूपमा दिएको ठाउँ हो रे पनौती । यो ठाउँ त्यसैबेलादेखि एउटा अलग्ग स्टेटका रूपमा रहेको किंवदन्ती रहेछ । सानो बस्ती वरिपरिबाट रोशी र पुण्यमती नदीले घेरिएको छ । अहिले फोहोर र घीनलाग्दो देखिए पनि यी नदी उतिबेला कलकल बग्ने रहरलाग्दा थिए रे । यहाँको पानीलाई पनौतीवासीले खान, नुवाइधुवाइ गर्न र पूजापाठ आदिका लागि समेत प्रयोग गर्थे । आज यति घीनलाग्दो भएर बग्दा पनौतीबासी आफैँ पनि दुखेसो गर्ने गर्छन् । तैपनि रहरलाग्दो भएर बस्तीको वरिपरि भई नदी बग्दा मनमोहक देखिन्छ । 

भक्तपुरका राजा भूपतिन्द्र मल्लले बहिनीलाई दाइजोका रूपमा दिएको ठाउँ हो रे पनौती । यो ठाउँ त्यसैबेलादेखि एउटा अलग्ग स्टेटका रूपमा रहेको किंवदन्ती रहेछ ।

विद्वान्हरूले यसको प्राचीनतालाई ईशाको पहिलो शताब्दीसम्म तान्ने गर्छन् । मन्दिरको वरिपरि यत्रतत्र छरिएर रहेका थुप्रै मूर्ति देखिन्छन् । धेरै स्थानीयवासीले यी मूर्तिलाई लिच्छविकालको भन्दा रहेछन् । मूर्तिहरू चिल्ला काला प्रस्तरले बनेका, थोरै गरगहना लगाएका, लावण्यले भरिपूर्ण आङ्गिक अनुपात ठ््याक्कै मिलेको देख्दा पनि यी मूर्तिलाई लिच्छविकालको आकलन गर्नु अस्वाभाविक छैन । 

खासगरी ब्रह्मायणी मन्दिर रहेको भित्तामा उप्केर, भत्केर नदेखिने भइसकेका भित्तेचित्र देखिन्छन् । बाहिरका मन्दिरहरूका बाह्य भित्तामा पनि यस्ता भित्तेचित्र छन् । यहीँ नयाँ घर बनाउँदै गरेको देखिन्छ, त्यसैले यी कलालाई बचाउने कोसिस गरेको देखिँदैन । बरु बडेमानको ग्राफिटी आर्ट (आधुनिक भित्तेचित्र) चम्केर अगाडि उभिएको देखिन्छ । यो ग्राफिटी आर्ट पनि नराम्रो त होइन, तर सदियौँदेखि समुदायको आस्था र विश्वासको केन्द्र भइबसेका यस्ता भित्तेचित्रको संरक्षण गर्नु अत्यन्त आवश्यक देखिन्छ । 

यहाँ पुराना शिलालेख पनि प्रशस्तै छन् । कलाविद्, संस्कृति, लिपिविज्ञले आगामी दिनमा यसको थप अध्ययन अनुसन्धान गरी यसबारे थप जानकारी गर्लान् नै, तर जताततै मिल्किएका अनेकौँ सुन्दर मूर्ति हेर्दा र देख्दा दुःख लागेर आउँदो रहेछ ।

यहाँको दैनिकी, आममान्छेको स्वभाव आदि पनि नेपाली परम्परागत कलासँग, नेपालको संस्कृति र संस्कार वा धर्मसँग जोडिएर अगाडि बढिरहेको देखिन्छ । वरिपरिबाट कङ्क्रिट बिल्डिङहरूले छोपेको छ, यसले यहाँको परम्परागत बस्ती संकटमा परेजस्तो आभास गराउँछ ।

यहाँको माटोका इँटा छापेको बाटोमा हिँड्दा प्राचीन र मध्यकालीन एउटा सानो गाउँभित्र रहेको महसुस समेत गराउँछ । यहाँका बासिन्दाले भन्दा रहेछन्– यस्ता नेपाली कला सम्पदा काठमाडौँ उपत्यकापछि यहीँ मात्र छ । 

  • लायकु दरबार 

कला सम्पदाका रूपमा मूलतः पनौतीमा दुईवटा ठाउँ स्पष्ट देखिने रहेछ । एउटा बजारको बीचोबीच अवस्थित लायकु दरबार अनि अर्को रोशी खोलाको किनारतिरको ईन्द्रेश्वर महादेवको मन्दिर । 

लायकुु दरबार अहिले त्यस बेलाको राजाको दरबारको भग्नावशेषका रूपमा देखिन्छ । जसलाई नजिकैको अग्लो डाँडामाथि बसेको नवबुद्धसँग जोडेर रमाइला दन्त्यकथा बनाइएका रहेछन् । 

ताल्चा लगाएका यहाँका पुराना खाली घरलाई सफा–सुग्घर गरी आधुनिक कलाको म्युजियम बनाउने धोको नरेशले लिएका रहेछन् । उनको सपना पूरा भए यहाँ नेपालकै पहिलो आधुनिक कला सङ्ग्रहालय तयार हुनेछ ।

यसै ठाउँका कान्छा राजकुमार महासत्वले भोक–प्यासले तड्पिरहेको बघिनी र उसका डमरुलाई आफ्नै शरीरको मासु काटीकाटी खुवाएका थिए रे । नवबुद्धको नाम समेत यही कथालाई हेरेर भनिँदो रहेछ । ईन्दे्रश्वर महादेवको मन्दिर भने अहिल्या र ईन्द्रदेवको पे्रमालाप गाँसिएको कथासँग सम्बन्धित रहेछ । गौतम ऋषिले श्राप दिएपछि ईन्द्र पत्थर बने, त्यो पत्थर पनि मन्दिरसँगै छ । अनि बाहिरपट्टि अलि ठुलो पत्थर अहिल्याको छ । 

विशेष पर्खाल लगाई विशेष स्थान बनाइएको यो ठाउँमा मूल महत्त्वको मन्दिर ईन्द्रेश्वर महादेवसँगै उन्मुक्त भैरवको मन्दिर छ । यस्तै अष्टमातृका देवीका मूर्तिहरू र अजङ्गको मूर्तिसहित तुलानारायण मन्दिर पनि छ । चिल्लो कालो पत्थरमा बनेको यो विशाल नारायणको मूर्ति शान्त र स्थिर स्वभावमा देखिन्छ । सौन्दर्यताले वशीभूत यति ठुलो मूर्ति नेपालमा कमै पाइन्छ । ईन्दे्रश्वर महादेवको गर्भगृहभित्र रहेको यमानको शिवलिङ्ग अस्वाभाविक रूपमा देखिन्छ । शिवलिङ्गको तलको भागलाई समेत दर्शन गर्न मिल्ने भएका कारण अन्य शिवलिङ्गभन्दा यो पृथक् देखिन्छ । अजङ्गको भैरव हेर्दै डरलाग्दो छ, झन्डै १८–२० फुटजस्तै अग्लो काठैकाठले बनेको कलाकै रूपमा पनि यो अद्भुत देखिन्छ । 

काठैकाठले बनेको काष्ठकलाको उत्कृट नमुनामा रहेको भैरवको मूर्ति नेपालमा पाइएको सबैभन्दा ठुला काठका मूर्तिमध्ये एक हो रे । कलाविद् डाउम्यानका अनुसार उत्कृष्ट उडेन टेम्पलको प्रसिद्धि पाएको यो मन्दिर सन् १२९४ मा स्थापना भएको हो । पनौती म्युजियमका अनुसार चाहिँ यस मन्दिरलाई राजकुमारी वीरमादेवीले नौ दशक लगाएर बनाएकी हुन् । 

कलाविद् स्लुसरले पनि यसलाई १३औँ शताब्दीमा चलेको उत्कृष्ट शैलीमा बनेको मन्दिर भनेर उल्लेख गरेका छन् । विशेष गरेर यो मन्दिरको छतलाई अड्याउन बनाएका टुँडाल नेपालकै अद्वितीय कलात्मक काष्ठकला मानिन्छ । यसैको बाहिरपट्टि महेश्वरी मन्दिर, भैरव मन्दिर, गणेश मन्दिर र अलि पर सङ्कटा मन्दिर छ । खोला पारिपट्टि ब्रह्मायणी, सटलपाटी, कृष्णमन्दिर, बद्रीकेदार, शीतलामाई, अजिमाका देवीदेवता आदिले यहाँको सौन्दर्य थपेको छ । यी मन्दिरका कारण यहाँ कलामा आस्था हुनेहरू र भक्ति भावमा लिन हुन चाहने भक्तहरूको बिहानैदेखि भीडमा देखिँदो रहेछ ।    

  • धरोहरभित्र जुर्मुराएको कलादीर्घा 

यसै क्षेत्रमा जन्मे–हुर्केका झन्डै ६५ पुगिसकेका एक कलाकार नरेश सैँजु आफ्नै जन्मथलोमा आजको कलाको हब बनाउन लागिपरेका छन् । अहिले उनी काठमाडौँँमै बस्ने गर्छन् । पुख्र्यौली जग्गाको सानो भाग उनको नाममा परेपछि नरेशले भर्खरै एउटा सानो चिटिक्क परेको घर बनाए र घरभित्रै सानो कलादीर्घाको स्थापना गरे, जसको नाम दिइएको छ, पनौती कलादीर्घा ।

यस कलादीर्घामा यतिबेला उनैका मात्र चित्र छन् । कलाका अनेकौँ कार्यक्रम गर्ने उनको लक्ष्य देखिन्छ । गएको साता उनले त्यहाँ दुईदिने जलरंगी दृश्यचित्र कार्यशाला आयोजना गरे । सन् १९०३ मा खुलेको ‘वाटरकला सोसाइटी’, जसमा उनी पनि संलग्न छन्, जुन धेरै समयदेखि सुस्त अवस्था थियो, त्यसैलाई ब्युँताउँदै उनले कार्यशाला आयोजना गरेका हुन् । 

दृश्यचित्रमा स्थापित कलाकार रतनकुमार राई, सिर्जन राजभण्डारी, बुद्धि गुरुङ, हरेराज जुजु, जीवन राजोपाध्याय, नरेश सैँजु, मन्दिरा मल्ल, मानिकलाल होरा र म आफैँलाई पनि गत साता त्यहाँ जान जुरेको थियो । यो कला कार्यशालामा बनेका चित्र यसै कलादीर्घामा प्रदर्शित हुनेछन् ।   

नेपालमा आधुनिक कलाको सङ्ग्रहालय नेपालभर कतै पनि छैनन् । ताल्चा लगाएका यहाँका पुराना खाली घरलाई सफा–सुग्घर गरी आधुनिक कलाको म्युजियम बनाउने धोको नरेशले लिएका रहेछन्, जुन असम्भव पनि छैन, किनकि यी सबैजसो ताल्चा लगाइएका घर उनका आफन्तैका हुन् । नरेशको सपना यथार्थमा बदलियो भने यहाँ नेपालकै पहिलो आधुनिक कला सङ्ग्रहालय तयार हुनेछ । नेपालभरिका कलाकारलाई यहाँ आउन र बस्नको व्यवस्था गर्नेदेखि यतै कला प्रदर्शनी गर्ने अनेक योजना पनि उनले बनाएछन् । 

पर्यटकलाई आकर्षण गरी कलालाई आयसँग जोड्ने आफ्नो योजना रहेको उनले बताए । आज सुनसान रहेको यो ठाउँमा यी क्रियाकलाप हुनसके कलामा एउटा नयाँ आयाम थपिने थियो । 

सुनसान गल्लीमा भर्खरै बनेको पनौती कलादीर्घाले बेग्लै रौनक थपेको छ, सुनसान गल्लीभित्र चहार्दै हिँड्ने पत्रकार अचानक यस ग्यालरी ठोक्किँदा अचम्भित भएका देखिए । प्राचीन माध्यमिक कालका कला हेर्न आउने पर्यटकले यस कलादीर्घाबाट आधुनिक कलाको रसास्वादन गर्ने र कला किनेर लैजाने सम्भावना पनि देखिन्छ । 

पनौतीको पुरानो बजारको सेरोफेरामा घुम्दै गर्दा पूर्वजले बनाएर छाडेका अनेकानेक वास्तुकला, पाटीपौवा, मठमन्दिरले स्वागत गर्दछ । पनौतीको सानो बजारमा रहेका पचासौँ मठ–मन्दिरले थुप्रै कथा र किंवदन्ती बोकेका छन् । 

चोक र डबली, सभा नाचघर अनि न्याय गर्ने विशेष ठाउँ आदि हुनुले दुई–चार सय वर्षअगाडि मात्र यो ठाउँ कति व्यवस्थित हुँदो हो भन्ने लाग्छ । यति सानो बस्तीमा दर्जनौँ डबली छन् । भक्तपुरबाट जात्रामा यहाँ ल्याउने प्रचलन रहेकाले अलग–अलग पार्टी बनाइएको छ । डबलीमा नाचगान, नाटक अनि रमाइला कार्यक्रम गर्ने यो अनौठो प्रथाले नेपाली संस्कृतिलाई अझ प्रखर रूपमा उजिल्याउन सघाएको छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप