आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश सरकारको बजेट खर्च गत वर्षको तुलनामा १६ प्रतिशतले कमी

सञ्चित कोषमा १० अर्ब थुप्रियो
शुक्रबार, ११ जेठ २०८१, ०६ : ०७
शुक्रबार, ११ जेठ २०८१

विराटनगर । चालु आर्थिक वर्षको वैशाख महिनासम्म कोशी प्रदेश सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले कमी भएको छ ।

वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको बजेट १५ अर्ब ८८ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । कुल खर्चमध्ये चालु खर्च ६ अर्ब १३ करोड ५९ लाख, पुँजीगत खर्च ७ अर्ब ४७ करोड ८० लाख र स्थानीय तह अनुदान २ अर्ब २६ करोड ६४ लाख रुपैयाँ छ ।

यस अवधिमा चालु, पुँजीगत र स्थानीय तह अनुदानतर्फ वार्षिक विनियोजित बजेटको क्रमशः ४८.२ प्रतिशत, ३६.६ प्रतिशत र ६१.७ प्रतिशत खर्च भएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म चालु, पुँजीगत र स्थानीय तह अनुदानतर्फको खर्च क्रमशः ५२.२ प्रतिशत, ४२.५ प्रतिशत र ६४.२ प्रतिशत भएको थियो ।

यसैबिच प्रदेशको आन्तरिक आय पनि गत वर्षको तुलनामा कम हुने देखिएको छ । गत आर्थिक वर्ष (२०७९÷८०) को वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको राजस्व र अनुदान २४ अर्ब ६६ करोड ७७ लाख प्राप्ति भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने यस्तो आयमा ७.१ प्रतिशतले कमी आइ २२ अर्ब ९३ करोड ८ लाख (वार्षिक अनुमानको ७०.९ प्रतिशत) प्राप्ति भएको छ ।

चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको वार्षिक लक्ष्य ४ अर्ब ५७ करोड ७८ लाख रहेकोमा वैशाख मसान्तसम्म ३ अर्ब ३ करोड २५ लाख (६६.२ प्रतिशत) प्राप्त भएको छ । सङ्घीय राजस्व बाँडफाँटको वार्षिक लक्ष्य ११ अर्ब ६४ करोड ८१ लाख रहेकोमा २०८१ साल वैशाख मसान्तसम्म ७ अर्ब ८८ करोड ५१ लाख (वार्षिक लक्ष्यको ६७.७ प्रतिशत) र सङ्घ अनुदानको अनुमान १६ अर्ब ११ करोड ७० लाख रहेकोमा १२ अर्ब १ करोड ३२ लाख (वार्षिक लक्ष्यको ७४.५ प्रतिशत) प्राप्ति भएको छ ।

प्रदेशको आन्तरिक राजस्व भने समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा केही बढेको छ । गत वर्ष वैशाख मसान्तसम्ममा २ अर्ब ९४ करोड २९ लाख राजस्व उठेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३ करोड २५ लाख आन्तरिक राजस्व उठेको छ ।

यस्तै २०८१ वैशाखसम्म सङ्घीय राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक राजस्वसमेत गरी प्रदेश सञ्चित कोषमा १० अर्ब ९१ करोड ७६ लाख (वार्षिक लक्ष्यको ६७.३ प्रतिशत) राजस्व सङ्कलन भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय अनुसार सङ्घबाट लक्ष्य अनुसार अनुदान प्राप्त नहुँदा प्रदेशको समग्र आयमा कमी भएको हो ।

राजस्व सङ्कलनको अनुपातमा सङ्घबाट वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएकाले प्रदेशको आयमा गत वर्षको तुलनामा न्यून भएको मन्त्रालयको दाबी छ ।

प्रदेशमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट कार्यान्वयन भइरहेको छ । जसअनुसार कोशी प्रदेशको चालुतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त बजेटको खर्च बेहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड थियो ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार, नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ बेहोर्ने बजेटको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप