बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

पोडवे सार्वजनिक यातायातको विकल्प बन्न सक्ने सम्भावना देख्छु : आशिष गजुरेल (भिडियोसहित)

शुक्रबार, ११ जेठ २०८१

पेसाले यातायात इन्जिनियर रहेका आशिष गजुरेलले जर्मनीबाट ट्रान्सपोर्ट इन्जिनियरमा मास्टर्स गरेका छन् । यातायात व्यवस्थापन सम्बन्धमा लामो समयदेखि वकालत गर्दै आएका इन्जिनियर गजुरेल हाल नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक छन् ।

नेपालमा बढ्दो सवारी जाम तथा साँघुरो सडकका कारण आधुनिक रेल प्रविधि ‘पोडवे’का बारेमा चर्चा हुने गरेको छ । यसै विषयमा केन्द्रित रहेर आशिष गजुरेलसँग रातोपाटीका लागि नरेन्द्र रौलेले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश - 

आधुनिक रेल प्रविधि ‘पोडवे’ नेपालका लागि नयाँ विषय हो । यो कस्तो प्रविधि हो ?

नयाँ आएको प्रविधिलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । कसैले पोडवे विकास गरिराखेको छ, नेपालमा पोडवे बनाउँ भन्दैछ भने हामीले त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यो प्रविधि बेलारुसबाट सुरुवात भएको हो । अहिले दुबईमा ४  सञ्चालनमा छ । दुबईले पनि केही सोचेरै यसमा लगानी गरिराखेको छ । मैले पनि यसबारे अध्ययन गरेपछि त्यसको प्रविधि बुझेँ । हेर्दाखेरी केवलकार जस्तो भए पनि यो वास्तवमा रेल प्रविधि रहेछ । रेल प्रविधि ठ्याक्कै मिलेपछि त इन्जिनियरिङ मिल्यो भन्ने कुरामा मलाई विश्वास भयो ।

पोडवेले कति जना मान्छे बोक्ने भन्ने कुरा तपाईंले माथि बनाउने रेल कति बलियो बनाउँनुहुन्छ, त्यसको लागि पोल हाल्नुहुन्छ, त्यसमा भर पर्छ । आवश्यकता अनुसार २ देखि ७२ जना बोक्ने पोड बनाउन सकिन्छ ।

यस्तै सामान बोक्ने कन्टेनरमा पनि त्यही कुरा लागु हुन्छ । यसको इन्जिनियरिङ मिलेको छ । अब म प्राविधिक मान्छे, इन्जिनियरिङ मिलेपछि यो प्रविधिको नेपालमा राम्रो सम्भावना मैले देखेको छु ।

पोडवे हेर्न तपाईं कुन–कुन देश पुग्नुभयो ?

अहिले पोडवे बेलारुस र दुबईमा छ । दुबई गएर म आफैँले प्रयोग पनि गरेँ ।  यसको प्राविधिक पक्षबारे पनि बुझेँ । यसको सञ्चालन तथा व्यवस्थापन पक्षबारे पनि बुझेँ । यसको सुरक्षाको विषय पनि बुझेँ । सबैकुरा बुझ्दाखेरी यो चाहिँ हामीले नेपाल सरकारलाई अध्ययनमा लग्नुस्, अध्ययनबाट हेर्नुस् भन्छौँ ।

राज्यले गम्भीरतापूर्वक लिनु पर्‍यो । यसको वातावरणीय पक्ष, आर्थिक र वित्तीय  पक्ष, सामाजिक पक्षको अध्ययन गर्नुपर्छ । सबै पक्षको अध्ययन गरेर राज्यले आफ्नो धारणा दिनुपर्‍यो । ४० वर्षदेखि अध्ययन र अनुसन्धान भएर विकास भएको प्रविधि हो यो । दुबईले सुरु गरिसकेको छ । भारतका यातायात मन्त्री नितिन गड्करी यो प्रविधि बनाउनु पर्छ, हामी बनाउँछौ भनेर भाषण गरिरनु भएको छ । म एउटा यातायात इन्जिनियरिङको विद्यार्थीको हिसाबले पनि इन्जिनियरिङ मिलेको छ नेपालका लागि सुहाउँदो छ ।

केबलकार र पोडवेबिच के फरक छ ?

केबलकार र पोडवे हेर्दा सामान्यतः उस्तै देखिन्छ । केबलकार सिस्टम त हामीले धेरै नै प्रयोगमा ल्याइसकेका छौँ । नेपालमा सफल पनि भएको छ । मान्छेले यसमा कुनै पनि शङ्का गर्दैनन् । तर, यो सहरी क्षेत्रमा प्रयोगमा आइसकेको छैन । र, यसको क्षमता हेर्दा पनि सहरी क्षेत्रलाई त्यति उपयुक्त नहुनेजस्तो देखिन्छ ।

केबुलकार रमाइलोका लागि, शनिबार घुमफिरका लागि, मन्दिर भ्रमणका लागि प्रयोग हुँदै आइरहेको छ । केबलकारका लागि पोल गाडेको हुन्छ र, तार हुन्छ । जुन थेग्ने किसिमको पोल हुन्छ र गोन्डोला अर्थात् फिक्स गरिएको हुन्छ । तार हिँड्छ, तार हिंडेपछि गोन्डोला पनि हिँड्छ । गोन्डोलामा तपाईं बस्नुभयो भने तपाईं पनि हिँड्नुहुने भयो । तर, पोडवेचाहिँ माथि रेल हुन्छ । पोड्लाई अड्काउन बलियो सिस्टमको व्यवस्था गरिएको हुन्छ । त्यहाँ अड्किएर झुन्ड्याइएको रेलमा पोडमा भएको पाङ्ग्रा गुडेर पोड र त्यसमा बस्ने यात्रु अगाडि बढ्ने हो अर्थात केबलकार रोपवे सिस्टम हो भने पोडवे रेलवे सिस्टम हो । रेल्वेको कम्प्याक्ट रूप हो यो ।

योभन्दा अघि तपाईंले मेट्रो रेलको आवश्यकताका बारेमा धेरै वकालत गर्दै आउनुभएको थियो । अहिले पोडवेका बारेमा धेरै वकालत गरिरहनु भएको छ । यो ठिक भन्नुहुन्छ । यो प्रविधिमा केले लोभ्यायो ?

पोडवेका विषयमा वकालत गर्नेभन्दा पनि नयाँ प्रविधि आएको छ, त्यसलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ भन्ने मान्यता राख्छु । कुनै नयाँ चिज वा प्रविधि आयो भने नेपालले पहिले बनाउनु हँुदैन भनेर कहीँ लेखेको त छैन नि । पहिला अरुले गर्छन्, अनि म गर्छु भनेर नेपालले बस्नुपर्छ भन्ने पनि छैन ।

अहिले हामीले पोडवे सिस्टम विकास गर्‍यौँ भने भोलि अमेरिकामा छलफल गर्छन् ।  पोडवे नेपालमा बन्यो भने त्यही कुरा हेर्न पर्यटक आउँछन् । हामीले त नवीनतम कुरा सोच्नु पर्‍यो नि ।

मेट्रो रेल भनेको ठूलो मास ट्रान्स्पोर्टेसन हो । हामीले बनाउन सक्दा राम्रो यातायात प्रणाली हो । हाम्रो इन्जिनियरिङले के भन्छ भने कुनै सहरको जनसङ्ख्या ३० लाख छ भने त्यो सहरमा रेल्वे सिस्टम चाहिन्छ । त्यो भनेको मेट्रो रेल नै हो भन्ने सिद्धान्त छ । हामीले २०१२ मा अध्ययन गर्‍यौँ । तर, आज २०२४ भइसक्यो केही गरेका छैनौँ । हाम्रो बुताले बन्ला जस्तो मलाई लाग्न छाड्यो ।

आज पनि सरकारलाई मैले झक्झक्याइरहेको छु, मेट्रो रेल बनाउनु पर्छ । मेट्रो रेल आज सुरु गरे पनि पूरा हुन अर्को २० वर्ष लाग्छ । तर, पोडवेचाहिँ कम समयमा निर्माण गर्न सकिन्छ । जमिन अधिग्रहण अत्यन्त कम चाहिन्छ । खर्च पनि कम लाग्छ । मैले अहिलेसम्म गरेको अध्ययनको आधारमा भनेको हो । यसको फाइनल भ्यु नेपाल सरकारको अध्ययनबाटै आउनुपर्छ ।

अहिले मेट्रो रेलका लागि केही नभए पनि १ किलोमिटर बनाउन करिब १२ अर्ब रुपैंयाँ लागत लाग्छ भने पोडवेको ४० देखि ५० करोड रुपंैयाँमा एक किलोमिटर बन्छ । मूल्य त आकाश जमिनको फरक भयो ।

पोडवे नेपालमा सुरु गर्ने आधार के हो ?

नयाँ प्रविधिलाई त तपाईंले रोक्न सक्नुहुन्न । इन्ड्राइभ आयो, पठाओ आयो, अब यो राइड सेयरिङ त बढ्दै जाने हो । यसले मात्र हाम्रो यातायात व्यवस्थापन हुँदैन ।  नयाँ आएको प्रविधिलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । नेपालमा कसैले पोडवे बनाउँ भन्दैछ भने हामीले त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

पोडवे छोटो समयमा बनाउन सकिन्छ । तुलनात्मक रुपमा अन्य यातायात भन्दा सस्तो छ । छिटो र कम खर्चिलो छ । वैकल्पिक र नयाँ–नयाँ प्रविधि आउँदा त्यसलाई पनि हेर्नुपर्छ ।

नेपालमा सबै ठाउँमा मेट्रो बनाउन सम्भव छैन । कुनै स्थानमा मेट्रो बनाए पनि अरु ठाउँमा पोडवे बनाउन सक्छौँ । सार्वजनिक यातायात प्रणालीको व्यवस्थापन गर्न जरुरी छ । त्यो सन्दर्भमा पोडवे एउटा राम्रो माध्यम हुनसक्छ । त्यसलाई हामीले सकारात्मक रुपमा हेर्नुपर्छ । राज्यले विस्तृत र वैज्ञानिक अध्ययन अनुसन्धान गर्नुको विकल्प छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया