पहिरोको जोखिममा दलित बस्ती

दार्चुला । व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको जेखिममा छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएका कारण बस्ती पहिरोको उच्च जोखिममा परेको हो ।
यो क्षेत्रमा २०२२/२३ सालदेखि पहिरो खस्न थालेको हो । वि.सं. २०२८ र २०५१/५२ मा आएको पहिरोका कारण यस क्षेत्रको एउटा बस्ती पूरै विस्थापित भएको छ ।
महाकाली किनारदेखि पहिरो जान थालेकामा अहिले भुलचौरा बस्ती नजिकै पहिरो पुगेको छ । भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरी माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको भनाइ छ ।
भुलचौराभन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झन्डै ४२ परिवार २०५१/५२ मा पहिरोबाट विस्थापित भएका छन् ।
मडगाउँ पूरै पहिरोले कटान गरेको व्यास गाउँपालिका–४ का स्थानीय हरकसिँह विष्टले बताए । यो क्षेत्रमा निरन्तर पहिरो जाने गर्दछ । यहाँको भौगोलिक बनोटका कारण पनि पहिरो रोकिने अवस्था छैन ।
साविकको सुनसेरा गाउँ विकास समितिअन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ ।
वि.सं. २०७४ मा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी र बिन्नाला बस्तीका ३२ परिवारका लागि घर निर्माण गरिएको भए पनि दलित बस्तीका लागि अहिलेसम्म घर पुनस्र्थापना गरिएको छैन । बस्ती पुनर्निर्माण र पुनस्र्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा उनको जोड छ ।
महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलित बस्ती नजिकसम्म आइपुगेको स्थानीय देवराम कामीले बताए ।
“बस्तीभन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो बर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा छ”, उनले भने । उनका अनुसार खेतीयोग्य जमिनको आधाभन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमिन पनि जोखिममा छ । वर्षातको समयमा स्थानीयवासी पहिरोका डरले रातभर सुत्न सक्दैनन् ।
व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिँह कुँवरले बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । हाल बस्तीभन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलो खोलामा तटबन्धको काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे