शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

पालिकामा आउने अतिथिलाई चिया र कोल्ड ड्रिंक्सको साटो मोही

मिल्क होलिडेलाई निरुत्साहित गर्ने आशा
बुधबार, १६ जेठ २०८१, ०६ : ५३
बुधबार, १६ जेठ २०८१

बारा । निजगढ नगरपालिका र जीतपुर सिमरा उपमहानगरले सेवाग्राही तथा अतिथिहरूका लागि चिया तथा कोल्ड ड्रिंक्सको साटो मोही खुवाउन सुरु गरेको छ । चर्को घाम र गर्मीमा काम विशेषले आएका सेवाग्राही तथा अतिथिहरूलाई पालिकाले मोही खुवाउन सुरु गरेको हो । 

निजगढ नगरपालिकामा दैनिक ५० देखि ७० लिटर मोही खपत हुने गर्दछ । साथै कुनै तालिम, सभा सम्मेलन, र्‍याली लगायतका कार्यक्रम हुँदा ३ देखि ४ सय लिटरसम्म मोही खपत हुने गरेको निजगढ नगरपालिकाले जनाएको छ ।

चिया, कफी तथा अन्य पेय पदार्थको तुलनामा मोहीको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुने र दूध उत्पादन गर्ने किसानहरूलाई  पनि प्रोत्साहन मिल्ने पालिकाले जनाएको छ । बारामा १६ वटा पालिकामध्ये निजगढ र जीतपुर सिमरा उपमहानगरले मोही खुवाउन सुरुवात गरेका छन् । जीतपुर सिमरा उपमहानगरले पनि दैनिक ५० लिटरभन्दा धेरै मोही खपत गर्दछ । 

m2

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले  यस कदमले स्थानीय दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन मिल्ने बताए । जिल्लामा रहेका ९ वटा दुध उत्पादन सहकारी मध्ये हाल डुमरवाना दुग्ध उत्पादक र बागदेव दुग्ध उत्पादन सहकारी संस्थाले मात्रै मोहीको उत्पादन सुरु गरेका छन्  । 

बाघदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटाले मोहीको उत्पादनले मिल्क होलिडेलाई निरुत्साहित गर्ने र किसानलाई पशुपालन तर्फ प्रोत्साहन गर्ने बताएका छन् । ‘पहिलो चरणमा हामीले दैनिक ५ देखि ७ सय लिटर मोही बजारमा पुर्‍याएका छौँ । अब यसले राम्रो बजार लियो भने ठुलो परिणाममा उत्पादन गर्ने उद्देश्य छ,’ अध्यक्ष सापकोटाले भने, ‘मोहीले राम्रो बजार लियो भने यसले मिल्क होलिडेलाई निरुत्साहित गर्दछ ।’

पछिल्लो समय बिहे, व्रतबन्ध, पूजापाठ, लगायत धार्मिक तथा राजनीतिक दलको कार्यक्रममा पनि अन्य पेय पदार्थको तुलनामा मोहीको सेवन गर्नेहरू बढेको सापकोटाले जनाएका छन् । बाघदेव दुग्ध सहकारीले मोही प्रतिलिटर ५० र डुमरवाना सहकारीले प्रतिलिटर ६० रुपैयाँमा मोही बिक्री गर्दै आएका छन् ।

m7

सहकारीहरूले १ लिटर दही बराबर २ दशमलव ५ लिटर मोही उत्पादन गर्दछन् । मोहीमा चिल्लो पदार्थको मात्रा भने १ प्रतिशत मात्रै रहन्छ । 

जिल्लाकै सबैभन्दा ठुलो डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष  होमनाथ पण्डितले मोहीको लागत बराबर डिब्बाको मूल्य पर्ने भएकोले मोही बजारमा पुर्‍याउँदा महँगो पर्न गएको बताएका छन् । 

‘मूल्य हाम्रो नियन्त्रणमा छैन, दुधको रेट सरकारले तोकेको हुन्छ, डिब्बाको मूल्य प्लास्टिक व्यापारीहरूले तोकेको हुन्छ, अलिकति गुणस्तरमा हेर्नुपर्दा महँगो पर्न गएको हो,’ डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पण्डितले भने, ‘नगरप्रमुखकै पहलमा उहाँले नै चिया र चिसोलाई हटाएर दही र मोही चलाउनुपर्छ भन्नुभएकोले नगरपालिका आउने पाहुनाहरूलाई मोही खुवाउन सुरुवात गरिएको हो ।’

m10

डुमरवाना डेरीले जेठको पहिलो सातादेखि मोहीको उत्पादन सुरु गरेको हो । सो संस्थाले उत्पादन गरेको मोही सिमरा, डुमरवाना, जीतपुर, अम्लेखगञ्ज, हेटौडा र वीरगन्जसम्म पुर्‍याउने गरेको छ । 

नगरपालिका, केही वडा कार्यालय, बिहे व्रतबन्ध, लगायत अन्य धार्मिक तथा औपचारिक कार्यक्रमहरूमा मोहीको सेवन गर्ने प्रचलनको सुरुवात भएको पण्डितले जनाएका छन् । डुमरवाना दुग्ध उत्पादक सहकारीका अध्यक्ष पण्डितले खाद्य संस्थानसँग अनुमति लिएर औपचारिक रूपमा अगाडि बढ्ने जनाएका छन् । 

सो दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक २ हजार किसानसँग १३ देखि १६ हजार लिटर दुध सङ्कलन गर्ने र मासिक ३ करोड ५० लाखको आर्थिक कारोबार गर्दछ । 

m3

धेरै सहकारीहरूमा मिल्क होलिडे भइरहँदा डुमरवाना डेरीले भने मोही, पनिर, घिउ, दही, नौनी, पाउडर दुधको उत्पादन गरेर काठमाडौँ, हेटौडा, वीरगन्ज, जनकपुर लगायतका सहरमा पुर्‍याउँदै आएको छ ।  

संस्थाका अध्यक्ष पण्डितले अहिले सबैभन्दा धेरै ठुलो समस्या नौनी घिउको भएको बताएका छन् । ‘अहिले हामीसँग १ वर्ष पुरानो १८ टन भन्दा धेरै नौनी घिउ थुप्रिएर बसेको अवस्था छ, नौनीलाई माइनस २५ डिग्रीको चिसोमा भण्डारण गर्नु पर्ने भएकाले हामीलाई गाह्र्रो छ,’ अध्यक्ष पण्डितले भने, ‘अहिले दुध ब्रिकी नभएपछि बाध्यताले पाउडर दुध र घिउ उत्पादन गर्नुपरेको छ ।’

m9

बारा जिल्लामा  दैनिक ४० देखि ५० हजार लिटर दुध उत्पादन हुन्छ ।  पछिल्लो समय मिल्क होलिडेका कारण किसानहरूले ६ देखि ८ महिनासम्मको दुध बिक्री गरेको पैसा समेत पाएका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप