शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

समस्यामा साउदी अरबमा कार्यरत ३० नेपाली, कम्पनीले खानेपानी समेत दिँदैन

नेपाल फर्काइदिन हारगुहार,  एक जना सुतेकै अवस्थामा मृत फेला
सोमबार, १४ साउन २०८१, १४ : १४
सोमबार, १४ साउन २०८१

काठमाडौँ । धन कमाउन भनेर साउदी अरब पुगेका ३० जना नेपाली अहिले कमाएको पैसाको ठुलो हिस्सा पानी खानकै लागि खर्च गर्न बाध्य छन् ।

 कम्पनीले आवश्यक व्यवस्था नगरिदिँदा रातदिन काम गर्न आउने तलबको आधा त त्यही पानी किन्नमै खर्च हुन्छ । खाना समेत पेट अघाउन्जेलसम्म खान नसकिने अवस्था रहेको पीडितहरू बताउँछन् । 

आफूले भरपेट खान थाल्यो भने नेपालमा आश्रित परिवार भोकै सुत्नुपर्छ । त्यो भन्दा ठुलो समस्या ऋण दिने साहूको बढी टेन्सन हुन्छ । लामो समयदेखि पर्याप्त मात्रामा पानी समेत खान नपाएर बिरामी पर्न थालेपछि उनीहरूले उद्धार गरेर नेपाल फकाईदिन हारगुहार गरेका छन् ।

 त्यसका लागि साउदीस्थित नेपाली महावाणिज्य दूतावास, वैदेशिक रोजगार विभाग तथा मेनपावर कम्पनीलाई पटक पटक अनुरोध गर्दै आएका छन् । तर, हालसम्म न उनीहरूको समस्या समाधान हुन सकेको छैन । 

रातोपाटीको सम्पर्कमा आएका रामेछापका राजु मगरातीले पानी समेत खान नपाएर मर्ने अवस्थामा पुगेको भन्दै जति सक्दो चाँडो उद्धार गरिदिन अनुरोध गरे । 

‘हामी यता आएदेखि नै खानेपानीबारे भोगिरहेको समस्याबारे कम्पनीमा भनेका थियौँ । कुनै सुनुवाइ गरेन । त्यसपछि मेनपावरलाई खबर गर्‍यौँ । मेनपावरले झन् मतलबै गरेको छैन । राम्रोसँग पानी समेत खान नपाएर मर्नुपर्ने अवस्था आयो,’ मगरातीले भने । 

पर्याप्त पानी खान नपाएर एक नेपालीको सुतेकै अवस्थामा ज्यान समेत गइसकेको उनीहरूको भनाइ छ । त्यही कम्पनीमा काम गर्ने दोलखाका ४३ वर्षीय टहल बहादुर थामी सुतेकै अवस्थामा ओछ्यानमा मृत फेला परेका थिए । निधन भएको एक महिना ३ दिन बितिसक्दा पनि उसको शव नेपाल पठाइएको छैन । 

आफूसँगै एउटै कम्पनीमा काम गर्ने साथीको मृत्यु भएपछि अन्य नेपाली थप आत्तिएका छन् । साउदी पुगेदेखि नै उनी गाह्रो काम गर्थे । तलब समेत थोरै थियो । जसले गर्दा उनी विदेश गएदेखि नै चिन्तित देखिन्थे । उनीसँग पैसा नभएर धेरै दिनदेखि पानी किनेर खान पाएका थिएनन् । 

‘हामीले किनेको पानीले नै मुख भिजाउँने गर्थे । तर, एकरात परिवारको धेरै चिन्ता लागेको बेथा हामीमाझ पोखिरहेका थिए । भोलिपल्ट त उहाँको सुतेकै अवस्थामा मृत भेटिनुभयो । तर, उहाँको शव अहिलेसम्म नेपाल पठाइएको छैन,’ सर्लाहीका अजमत अन्सारीले भने । 

पीडित नेपाली नेपाली काठमाडौँको सिनामंगलमा रहेको न्यू एसभी इन्टरनेशनल प्रालि र सामाखुसीमा रहेको अल अमल ओभर्सिज प्रा.लिबाट सात महिना अघि वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । 

समस्यामा परेका नेपालीहरुः
भुवनश्वर बैठा धोबी, किशुन सहनी, कृष्णबहादुर राना, नहिम मिया, राम विश्वास महरा, रामेश्वर महतो, रामलोचन महतो कोइरी, शिवराम साह तेली, अजय साह कलवार, अन्बर अन्सारी, हरि किशोर माझी, जिबछ ठाकुर बराही, जितेन्द्र अधिकारी, सुशील कुमार मण्डल, मैते तामाङ, अजमत अन्सारी, मो बसिर उदिन मिया, नवीन कुमार राय, पेम्बा तामाङ, राजु मगरातीाती, राम नरेश राय, राम मण्डल, राम कुमार साह तेली, रामप्रित सहनी, शंकर मण्डल, सुजन तिमल्सिना, उमेश महतो, उदिश कुमार यादव, निरञ्जन राय यादव । 

उनीहरू एक लाख ८० हजार देखि दुई लाख ५० हजार रुपैयाँसम्म तिरेर साउदी पुगेका थिए । तर, नेपालबाट जुन कम्पनी र तलब भनेर पठाइएको थियो । साउदी पुगेपछि तलब पनि कम दियो, कम्पनी पनि अर्को थियो । त्यहाँ गएर उनीहरूले कम तलबसँगै फरक कम्पनीमा काम गर्न बाध्य भए । 

नेपालमा गरेको श्रम सम्झौतामा साउदीको अल मदिना कन्स्ट्रक्सन कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्ने भनिएको थियो । पारिश्रमिक मासिक एक हजार साउदी रियल र खाना भत्ता ३०० रियलगरी एक हजार ३०० साउदी रियल पाउने भन्ने थियो । जुन नेपाली रुपैयाँ ४६ हजारभन्दा बढी हुन आउँछ । 

तर, पीडित श्रमिकहरुलाई भने सम्झौता भन्दा फरक सिटी क्लिनिङ कम्पनीमा काम लगाइयो ।  त्यो पनि सुख्खा मासिक ९०० साउदी रियलमा ।   

त्यो तलब पनि नियमित पाउँदैनन् । तीन महिनासम्म पनि तलब नपाएपछि उनीहरूले हड्ताल गरेका थिए । त्यसपछि कम्पनीले उल्टै उनीहरूको तलब काटिदियो । 

अहिले तलब दिँदा तीन महिनामा एक पटक दिन्छ । त्यो पनि एक महिनाको । एक महिनाको तलबमा आधा भन्दा बढी त खाना र पानी किन्नमै सकिन्छ । त्यसपछि बचेको १५ देखि १७ हजार रुपैयाँ घर पठाउनुपर्छ ।

त्यसैले उनीहरू जति सक्दो चाँडो नेपाल फर्किन चाहन्छन् । ‘खाना, बस्नदेखि पिउने पानी मात्रै नभई शौचालय जानको लागि समेत पानी आफैँले किन्नुपर्छ । धेरै पीडा सहेर बसिरहेका छौँ,’ अन्सारीले भने, ‘तलब नआएको तीन महिना हुन लाग्यो । खानलाई पानी त दिएको छैन, अरू सुविधा झन् के दिन्छ । खाना खान र पेटभरी पानी पिउन पनि पाएका छैनौँ ।’

Capture

मेनपावरले साउदीको सरकारी नगरपालिकामा हो, रोड सफा गर्नुपर्ने काम भनेर प्रति व्यक्ति साढे दुई लाख रुपैयाँसम्म लिएको थियो । जबकि मेनपावर कम्पनीले उनीहरूलाई एक पैसा पनि नलिएर फ्रि भिसा, फ्रि टिकटमा पठाएको दाबी गर्दै आएको छ । 

अहिले उनीहरूलाई जेलभित्र रहेका कैदीहरूले खाना खाएका भाडा धुनुपर्ने, सरसफाई गर्नुपर्ने जस्तो काममा लगाएको छ । अत्यधिक गर्मीमा काम गर्नुपर्दा पानी समेत राम्रोसँग खान पाउँदैनन् । काम गर्ने ठाउँमा समेत आफैले पानी किनेर लैजानुपर्ने बाध्यता रहेको अन्सारीको भनाइ छ । 

महिनामा खाना र पानी किनेर १५ हजार जति रुपैयाँ तलब बच्ने गरेको बताए । 

रामेछापका मगरातीको घरबाट छोराछोरीको स्कुल फी तिर्नुपर्‍यो भनेर फोन आउँछ । आमा, श्रीमती र छोराछोरीको बिजोक सम्झँदा मन भक्कानिन्छ । विदेश पुग्नेबित्तिकै महिनैपिच्छे ऋण तिर्छु भनी आएका थिए । तर, अहिलेको अवस्थामा आफ्नै ज्यान जोगाउन मुस्किल छ । 

‘काम अनुसारको पैसा छैन । जसले गर्दा घर पठाउन सकेको छैन । गर्मीमा ६०/७० केजीको भारी बोक्नुपर्छ । तिर्खाले मरिएला जस्तै हुन्छ । किनेर भएपनि पानी खानैपर्‍यो । पानी खाएन भने साथीले जस्तै कतिबेला मरिन्छ भन्ने चिन्ता हुन्छ,’ मगरातीले भने । 

Embassy letter

जसरी भएपनि आफूहरूलाई नेपाल फर्काइदिन अनुरोध गरेका छन् । पानी नै नपाएर मर्ने अवस्था आएपछि उनीहरूले २१ अप्रिल २०२४ मा जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलमा उजुरी दिएका थिए । त्यसपछि २४ अप्रिलमा महावाणिज्य दूतावासले मेनपावर कम्पनीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो । 

लामो समयदेखि उनीहरूको समस्या समाधान हुन नसकेपछि सत्य तथ्य बुझ्न दूतावासको टोली अनुगमनमा गएको थियो । सुपरभाइजर र मालिक तथा कामदारहरूसँग प्रत्यक्ष भेटेर छलफल समेत गरेको थियो । तर, अझै पनि समस्याको समाधान हुन नसकेको हो । त्यसपछि असार १३ गते महावाणिज्य दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरेको थियो । 

साउदी पुगेको केही समयमा नै फरक कम्पनीमा काम गर्न पठाएपछि श्रमिकहरूले मेनपावर कम्पनीलाई सम्पर्क गरेका थिए । 

सम्झौताभन्दा बाहिरको कम्पनीका काम नगर्ने बताएपछि न्यू एस.भी मेनपावरका सञ्चालक गङ्गा श्रेष्ठले अहिले त्यही कम्पनीमा काम गर्न र आफूले तत्काल अर्को कम्पनीमा सारिदिने पीडितहरूलाई बताएका थिए । सञ्चालक गङ्गा श्रेष्ठले उनीहरूको समस्या समाधान गर्नका लागि आफ्नो कम्पनीबाट मान्छे पठाएको पनि बताएका थिए ।  तर, अहिलेसम्म उनले केही गरेका छैनन् । 

श्रेष्ठले नेपालबाट जाँदा नै दैनिक ८ घण्टा काम गर्नुपर्ने र मासिक ९०० साउदी रियल तलब हुने भनेरै पठाएको दाबी गरे । 

‘हामीले यताबाट सुरुमा नै भनेका थियौँ । त्यसपछि सम्झौता गरेर पठाउँदा पनि भनेका थियौँ । तर, अहिले आएर उनीहरूले ओभरटाइम गर्न पाएनौँ भनेर समस्यामा पर्‍यौं भनिरहेका हुन्,’ श्रेष्ठले भने । 

उनले कसैबाट पनि पैसा नदिएको समेत दाबी गरे । ‘उनीहरूसँग एक पैसा लिएका पनि छैनौँ । कोही एजेन्टले लियो होला, त्यो हामीलाई थाहा छैन । लिएको कुनै प्रमाण भए कानुनी दायरामा आउन राजी छौँ,’ श्रेष्ठले भने । 

आफ्नो कम्पनीको तर्फबाट छलफल गर्न र समस्याको समाधान गर्न गएको बताउँदै उनले त्यहीँ काम गर्न चाहनेलाई मिलाउने र घर फर्किन चाहनेलाई घर फर्काउने बताए । 

यसैबिच वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले पीडितहरूको समस्याबारे विभाग जानकार रहेको भन्दै अनुगमन भइरहेको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप