केशव सिलवालका तीन कविता
१) तुइनमा उल्टो झुन्डिएर
विद्यालय गइरहेकी छे
एउटी सानी केटी
तुइनमा उल्टो झुन्डिएर ।
उल्टो झुन्ड्याएको छ
यस देशले
ती निरीह केटीलाई
र, घोकाइरहेछ इतिहास
नेपालीहरू वीर छन् ।
जब डाँडाले नै छेकिदिन्छ
थाहा हुँदैन खोँचमा
कहाँ छ देश ?
मध्याह्नमै अस्त हुन्छ जहाँ
पक्षपाती एक पाखे घाम
थाहा हुँदैन त्यहाँ
देश भनेको के हो ?
देश खोज्दै ती केटीहरू
दिनदिनै गरिरहन्छन् तुइनबाट
वारि र पारि
र, पल्टाउँछन् वर्षको अन्तिम महिना
बल्लतल्ल आइपुगेको
सरकारी पुस्तकको अनुहार ।
देशमा क्रियाशील छन् डलरका संस्थाहरू
चलायमान छन् एक से एक घरानियाँ अनुहारहरू
तर, कुपोषण लागेको छ पहाडलाई
बाहिर टुसुक्क निस्किएका छन् आँखाहरू
खडेरीले खाएको छ तराईजस्तो मनलाई
तर, गणना गर्छन् घरानियाँहरू केवल लास
कति पुग्यो ?
सय, हजार वा एक लाख... ?
उडनतस्तरीमा आउँछन् यहाँ शासकहरू
ती कुन ग्रहका जीव हुन् ?
चिन्दैनन् ती केटीहरू
यति थाहा छ
देश भनेको यही तुइन रहेछ
जुन चुँडिन सक्छ जतिबेला पनि ।
जब चुँडिन्छ खिया लागेको तुइन
विलीन हुन्छन् तिनीहरू पानीमा
विलीन हुन्छ
देशको एउटा अपाहिज सपना
तर, गहिरो कुम्भकर्णे निद्राबाट
बिउँझिने प्रयास गर्दैन देश ।
विद्यालय गइरहेकी छे
एउटी सानी केटी
तुइनमा उल्टो झुन्डिएर ।
००
२) ऐतिहासिक कन्तुर
के छ त्यस्तो–
बाको कन्तुरमा ?
हेर्न दिँदैनन् छुन दिँदैनन्
लुकाउँछन् अँध्यारो कुनामा
घरी खोल्छन् र घरी बन्द गर्छन्
के छ त्यस्तो–
बाको कन्तुरमा ?
अवश्य छैन त्यो
अमेरिकाको राष्ट्रपतिले बोक्ने ब्रिफकेस जस्तो
जसमा विश्व ध्वस्त गर्ने रिमोट कन्ट्रोल छ
के त्यो मृत्युको बाकस हो
जुन खोल्न मिल्दैन ?
यदि दुःख बन्द गरिएको छ भने त्यहाँ
वरिपरि यहाँ—
किन दुःखको साम्राज्य छ ?
त्यहाँ कैद हुनुपर्छ मुस्कान
नत्र यसरी किन छाएको छ उदासी ?
छोप्न सकेनन् बाले
आफ्नो मुजा परेको अनुहार
लुकाउन सकेनन्
आफ्नो दुःखको सुस्केरा
जस्तो केही सामाजिक व्यक्तिले लुकाएका छन्
एक जोर भित्री दाँतहरू
र पहिरिएका छन् अर्कै मकुन्डो
तर, के छ त्यस्तो
बाको कन्तुरमा ?
किन बा—
आमालाई भन्दा बढी
यही कन्तुरलाई माया गर्छन् ?
सायद खोज्दा हुन्
साहुकहाँ राखेको
आफ्नो घरजग्गाको तमसुक
सायद राख्दा हुन्—
आफूलाई बेचेर ल्याएको आफ्नो सन्तानको भविष्य
सायद मार्न खोज्दा हुन्
कन्तुरभित्र बसेर
आफ्नो जीवन डसिरहेको कालो सर्पलाई
यहाँ छन्—
आफ्नो सेफमा
सुनको हात्ती राख्नेहरू—
अरूको भविष्य चोरेर
आफ्नो भण्डार भर्नेहरू
यहाँ छन्—
केही रहस्यमय पदचापहरू
केही रहस्यमय खासखुस
तर, के छ त्यस्तो
बाको कन्तुरमा ?
कहिले खोल्ने हुन् बाले ?
र भन्ने हुन्—
केही छैन यहाँ
जस्तो उनका सन्तानहरू सोच्ने गर्छन् ।
००
३) धार
कसैले दुत्कार्दैमा
रोक्दिनँ म आफ्नो काम ।
धार लगाउने हो मेरो काम
जबसम्म सुस्ताउँदैनन् यहाँ
दिउँसै डुक्रिँदै हिँड्ने दैत्यहरू
म खुकुरी, खुँडा र तरबार बनाइरहन्छु
जबसम्म फाँडिन्नन् अव्यवस्थाका झाडीहरू
म हँसिया, खुर्पा र बन्चरो बनाइरहन्छु ।
पस्नै नदिइयोस् घरभित्र
कालो कानुन बनाएर
या परियोस् भोकभोकै
रोक्दिनँ म आफ्नो काम ।
आरनमा तताएर काँचो फलाम
म धनले पिटिरहेछु, पिटिरहेछु
मानौँ सँगसँगै
हिर्काइरहेछु तिनीहरूको टाउकोमा
जबसम्म धारिला बन्दैनन् मानिसका विवेकहरू
जबसम्म धारिला बन्दैनन् मानिसका पाइलाहरू
जबसम्म धार चिन्दैनन् केटाकेटीहरू
म धार भर्ने काम गरिरहन्छु ।
मलाई खुसी लाग्नेछ
जब सडकमा चम्कनेछन् धारिला मानिसहरू
जब धारसँग नुहिनेछन् अग्ला पहाडहरू
म अझ जोसिनेछु
जब प्रत्येक माटोका कणहरूमा
हुनेछ धारको चोट ।
हेलिकप्टरबाट बम खसालेर
नष्ट गरिए होलान् केही आरनहरू
केही धार भर्नेहरू काटिए होलान्
आफैँले भरेको धारले
तर नष्ट भएका छैनन् सबै आरनहरू
काटिएका छैनन् सबै धार भर्नेहरू ।
एक्लै भए पनि
रोक्दिनँ म आफ्नो काम
गरिरहन्छु म धार भर्ने काम
गरिरहनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण