जो वैदेशिक रोजगारीबाट पैसा होइन, मिर्गौला रोग लिएर फर्किए
सङ्खुवासभाका सुरेन्द्र लामा यतिबेला काठमाडौँको वनस्थलीस्थित ‘नेसनल किड्नी सेन्टर’मा डायलाइसिस गराइरहेका छन् । सातामा तीनपटक डायलाइसिस गर्नुपरेकाले २०७९ सालदेखि उनी सेन्टरको नजिकै कोठा भाडामा लिएर बस्दै आएका छन् ।
आठ वर्ष मलेसिया कतार लगायत देशमा काम गरेका ३२ वर्षीय सुरेन्द्र मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि स्वदेश फर्केका थिए । काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडिसकेको थियो । चिकित्सकले नियमित डायलाइसिस गर्न सुझाएपछि उनी सेन्टरमा पुगे ।
विडम्बना, उनी शिक्षण अस्पतालको बेडमा ढलिरहेकै बेला एक छोरा र एक छोरी लिएर उनकी श्रीमती सम्पर्कविहीन भइन् । ‘कामै गर्न नसक्ने भएपछि तिमीसँग बसेर के गर्नु भनेर छोराछोरी लिएर श्रीमती हिँडिन् । अहिलेसम्म सम्पर्क छैन,’ लामाले भने, ‘अहिले एक्लै छु । विदेशबाट कमाएर ल्याएको पैसा उपचारमै सकियो । गाउँमा अलिकति जग्गा किनेको थिएँ, त्यो पनि बेचिसकेँ ।’
डायलाइसिस निःशुल्क भए पनि औषधि खरिद लगायतमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् । अझै कति खर्च लाग्ने हो, कहिलेसम्म उपचार गर्ने हो ? बेला बेला मनमा आउने यस प्रश्नले उनलाई पीडा दिन्छ ।
चिकित्सकले मिर्गौला प्रत्यारोपण गराउन सुझाव दिइरहेका छन्, तर मिर्गौला दान गर्ने आफन्त भेटिएका छैनन् ।
सङ्खुवासभाकै ३० वर्षीय सागर तामाङले पनि अहिले वनस्थलीस्थित नेसनल किड्नी सेन्टरमा नियमित डायलाइसिस गराइरहेका छन् । आठ वर्ष मलेसियामा काम गरेका उनी पनि मिर्गौला रोग लिएर स्वदेश फर्केका थिए । मलेसियामा सुरुका पाँच वर्ष सेक्युरिटी गार्डको काम गरेपछि उनी फलफूल रोप्ने र टिप्ने काममा लागेका थिए । त्यही बेला गम्भीर बिरामी भएपछि नेपाल फर्किए, स्वास्थ्य परीक्षण गर्दा मिर्गौला खराब भएको पत्ता लाग्यो ।
गत आर्थिक वर्ष (२०८०/०८१) मा एक हजार ३७८ नेपालीले वैदेशिक रोजगारीमै रहँदा ज्यान गुमाए । त्यसमध्ये सात जनाको मिर्गौला रोगका कारण विदेशमै मृत्यु भएको थियो ।
म्याग्दीका ५२ वर्षीय धनबहादुर बुढाले २३ वर्ष कतारमा काम गरे । अन्ततः मिर्गौलाको रोग बोकेर उनी सन् २०२३ मा नेपाल फर्के । कतारमा एसीको लाइन जोड्ने, ठुल्ठुलो मेसिनबाट सामान पठाउनेजस्ता काम गर्ने उनी एक दिन अचानक बेहोस हुन पुगे । त्यसअघि हातखुट्टा गल्ने, खान मन नलाग्ने, सिँढी चढ्न नसक्नेजस्ता लक्षण देखिएका थिए । बेहोस भएर अस्पताल पु¥याएपछि थाहा भयो, दुवै मिर्गौलाले काम गर्न छाडेका रहेछन् ।
कम्पनीले उपचार नगराउने भएपछि उनी आफ्नै देश फर्किए । कम्पनीले बाँकी रहेको तलब–भत्ता मात्रै दिएर पठाएको थियो । साथीभाइले चन्दा उठाएर ५०–६० हजार रुपैयाँ जम्मा गरिदिएका थिए । रानीवनमा भान्जाहरूसँगै बस्दै र साताको तीन दिन डायलाइसिस गराउँदै आएका उनी पीडा सुनाउँछन्, ‘आम्दानी केही छैन । मासिक ३० हजार जति खर्च हुन्छ । घरमा छोराछोरी सानै छन् । उनीहरूको पढाइदेखि घरखर्च चलाउनै गाह्रो छ ।’
३० प्रतिशतमा मिर्गौलाको समस्या !
सुरेन्द्र, सागर र धनबहादुर उदाहरण मात्र हुन्, वैदेशिक रोजगारीमा जाने थुप्रै नेपाली मिर्गौला रोगबाट पीडित हुने गरेका छन् ।
नेपाल विकास समाजले गरेको एक अध्ययन अनुसार, वैदेशिक रोजगारीबाट फर्कने करिब ३० प्रतिशतमा मिर्गौलाको समस्या देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटा मिर्गौला उपचार केन्द्रहरूमा डायलाइसिस तथा उपचार गराइरहेका पाँच सय जनामध्ये एक सय ५० जना (३० प्रतिशत) विदेशबाट फर्किएकाहरू रहेको अध्ययनले देखाएको छ । विदेशबाट फर्किएकामध्ये पनि आधा जति ४० वर्षमुनिका छन् ।
अनुसन्धानमा संलग्न डा. श्वेता कोइरालाका अनुसार, बढी तातो स्थानमा काम गर्नेहरूमा मिर्गौलाको समस्या देखिएको छ । ‘मिर्गौलाको समस्या लिएर विदेशबाट फर्किएका जति छन्, उनीहरूले तातो ल्याबभित्र वा तापक्रम बढी हुने स्थानमा काम गरेको देखिन्छ,’ उनले रातोपाटीसित भनिन् ।
उनका अनुसार, विदेशमा कतिपय नेपाली कामदारले ३० तलामाथि काम गर्छन् । पानी खान र पिसाब फेर्न तल आयो भने फेरि जान समस्या हुन्छ । ‘पानी नपिउने हुँदा डिहाइड्रेसन हुने, लड्ने, फेन्ट हुने गरेको पाइएको छ,’ डा. कोइरालाले भनिन् ।
कामका बिचमा थोरै आराम गर्न पाउने र बेलाबेला पानी पिउन पाउने हो भने मिर्गौलाको समस्या निकै कम हुने अध्ययनले देखाएका छन् । ‘४० वर्षमुनिका कामदारमा प्रेसर लगायत अन्य रोग छैन तर किड्नी बिग्रियो,’ डा. कोइराला भन्छिन्, ‘किड्नी बिग्रिनलाई एक वा दुई दिन मात्रै चाहिन्छ । अत्यधिक गर्मीमा हुनुभयो भने एक दिनमै किड्नी बिग्रिन्छ । टाइम नै लाग्दैन । किड्नी एक पटक बिग्रिसकेपछि औषधि खाएर निको हुँदैन, डायलाइसिस नै हो । किड्नी ट्रान्सप्लान्ट गर्न समेत लामो समय लाग्छ ।’
उनका अनुसार, वैदेशिक रोजगारीका लागि युरोप गएका श्रमिकमा भने मिर्गौलाको समस्या खासै देखिँदैन ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको विभिन्न कारणले मृत्यु हुने गरेको छ । गत आर्थिक वर्ष (२०८०/०८१) मा एक हजार ३७८ नेपालीले वैदेशिक रोजगारीमै रहँदा ज्यान गुमाए । त्यसमध्ये सात जनाको मिर्गौला रोगका कारण विदेशमै मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
‘४० वर्षमुनिका कामदारमा प्रेसर लगायत अन्य रोग छैन तर किड्नी बिग्रियो,’ डा. कोइराला भन्छिन्, ‘किड्नी बिग्रिनलाई एक वा दुई दिन मात्रै चाहिन्छ । अत्यधिक गर्मीमा हुनुभयो भने एक दिनमै किड्नी बिग्रिन्छ । किड्नी एक पटक बिग्रिसकेपछि औषधि खाएर निको हुँदैन, डायलाइसिस वा प्रत्यारोपण नै हो ।
हृदयघात, हत्या, सडक दुर्घटना, क्यान्सर लगायत विभिन्न रोग लागेर र प्राकृतिक मृत्युजस्ता कारणले विदेशमा नेपालीको मृत्यु हुने गरेको बोर्डको तथ्यांक छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार नेपालमा पछिल्लो समय हरेक वर्ष तीन हजार मिर्गौला पीडित थपिने गर्छन् । वैदेशिक रोजगारीमा गएकामा मिर्गौलाको समस्या देखिने क्रम बढ्दो छ ।
सरकारले मिर्गौला डायलाइसिस तथा प्रत्यारोपण निःशुल्क गराएको छ, तर डायलाइसिसका लागि औषधि तथा अन्य औषधिजन्य वस्तु बिरामीले नै किन्नुपर्ने हुन्छ । त्यसका लागि मासिक २० देखि ३० हजार रुपैयाँ आवश्यक हुन्छ । मिर्गौला प्रत्यारोपण भने आफन्त तथा नातेदारभित्रबाट गराउन सकिने कानुनी व्यवस्था रहेको काफ्लेले बताए ।
नेपाल विकास समाजले गरेको अनुसन्धानमा संयोजक रहेका सागर ज्ञवालीका अनुसार व्यक्तिमा देखिने मिर्गौलाको समस्याले घर–परिवारसँगै देशकै अर्थतन्त्रमा असर गरिरहेको छ । ‘विदेशमा गएर काम गर्छन्, उतै बिरामी पर्छन् अनि उपचार गर्न नेपाल आउनुपर्छ । ठुलो लगानी उपचारमै गइरहेको छ,’ उनले भने ।
अध्ययन समिति गठन
स्वास्थ्य परीक्षण गराएर मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने प्रावधान छ । विदेश जानुअघि वैदेशिक रोजगार विभागमा सूचीकृत भएका स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनुपर्छ । केही देशले छुट्टै स्वास्थ्य संस्था तोकेका छन् ।
यद्यपि, स्वस्थ गएकाहरू रोग बोकेर फर्कन्छन्, कम्पनी वा सरकारले उपचारमा पूर्ण सहयोग गर्दैन, यो अवस्थालाई राज्यले छिटै सम्बोधन गर्नुपर्ने देखिन्छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यबारे अध्ययन गर्न हालै समिति गठन गरेको छ । श्रमिकको स्वास्थ्यका लागि राज्यले के गर्न सक्छ यसैमा सुझाव दिन समिति गठन गरिएको श्रममन्त्री शरतसिंह भण्डारीले रातोपाटीलाई बताए ।
श्रमिकको स्वास्थ्य परीक्षणदेखि बिरामी परेको खण्डमा नेपालबाटै कसरी टेलिमेडिसिनमार्फत सेवा दिन सकिन्छ भनेर पनि सुझाउन समितिलाई भनिएको छ ।