बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
संस्कृति

जानकी जन्मभूमि पुनौराधाम

सोमबार, १४ असोज २०८१, ११ : ००
सोमबार, १४ असोज २०८१

जगद् जननी जानकी मिथिलाकी राजकुमारी थिइन् । राजर्षि जनककी एक मात्र सन्तान जानकीको जन्मभूमि अथवा प्राकटयस्थली सीतामढीको पुनौराधाममा रहेको छ । पुनौराधामको पुरानो नाम पुण्यारण्य थियो । यो ठाउँ पुण्डरिक ऋषिको तपोभूमि र आश्रम पनि थियो । पुराण, संहिता र रामायणहरूमा यसको महत्त्वाकांक्षी वर्णन गरिएको छ ।

बृहत् विष्णु पुराणमा मिथिलाको सिमानाका बारेमा यसरी लेखिएको छ—

कौशीकीन्तु समारभ्य गण्डकी मधिगम्यवै ।
योजनानि चतुर्विशंद व्यायाम: परिकर्तित ।
गंगा प्रवाह भारम्य यावद्धे भवत वनम् ।
विस्तार षोडश: प्रोक्टो देशस्य कुरुनन्दन ।।
मिथिला नाम नगरी तवास्ते लोक विश्रूता ।।

पूर्वमा कोशी नदीदेखि पश्चिममा गण्डकी नदीसम्म र दक्षिणमा गङ्गा नदीदेखि उत्तरमा वन प्रदेशसम्म (चुरेपर्वत शृंखला) ९६ कोश लम्बाइ र ६४ कोश चौडाइ भएको मिथिला देश हो । इक्ष्वाकुतनय महाराजा निमिका आत्मज महाराजा मिथिको नामबाट ‘मिथिला’ देशको नामकरण गरियो । मिथिलाका राजाको राजदरबारको सिमाना पनि निकै फराकिलो र व्यापक थियो ।

समारम्भः महाँभागा, पूर्वे हरिहरालयम् ।
तथा मैत्रेष निर्दिष्ट, पश्चिमे या जलेश्वरम ।।
गिरणालय मारम्य, याबद्धै धनुर्ष स्थिति: ।
इति दुर्गस्य मर्यादा, मिथिला सा महापुरी ।

राजर्षि जनकको प्राचीन दुर्ग जुन थियो, त्यसका चार विशाल फाटक (ढोका) थिए । वर्तमानमा यो जनकपुरधामबाट क्रमशः दश माइल उत्तर दिशामा धनुषा, दश माइल दक्षिणमा गिरिजा स्थान (हाल बिहार भारत) दश माइल पूर्वमा हरिहरालय महादेव र दश माइल पश्चिममा जलेश्वरनाथ रहेको थियो । जलेश्वरनाथ भगवान् शिवजीको जलशयन स्थल हो । बृहत् विष्णु पुराणकै तल लेखिएको श्लोकमा महाराजा शिरध्वजले यसै जलेश्वरनाथभन्दा पश्चिम भागमा शास्त्रवत् ८८ हजार ऋषिहरू एवं महारानी सुनयनासहित तीन योजनको दूरीमा हलेष्ठी यज्ञार्थ पुण्डरिक आश्रम (पुण्यरण्य) पुनौराधामका लागि प्रस्थान गरे । यहाँ हलेष्ठी यज्ञबाट सिद्धि प्राप्ति भएको थियो ।

दुर्गात्पश्चिमतो भागे योजने त्रितयात्पर ।
यज्ञस्थल महाभागा सीता राघव वल्लभा ।
जनकेन ग्रहेनीतन, साक्षात, माया स्वरुपिनी ।।

त्रेतायुगमा लंकाधिपति रावण राक्षसी वृत्तिबाट अनुप्रेरित, मदान्धबाट मण्डित भएर आफ्नो राज्यसीमा अन्तर्गतका तपस्यारत ऋषिमुनिबाट कर असुलीका लागि आदेश जारी गरे । महाराजको आदेश प्राप्त भएपछि तिनका अनुचरहरू ऋषिमुनिहरूलाई कर बुझाउन दबाब दिए । कन्दमूल, फलफूल सेवन गर्ने ऋषिमुनिहरूसित मुद्राको अभाव हुनु स्वाभाविकै थियो तर पनि राजाको आदेशको पालन गर्दै ऋषिमुनिहरूले आ–आफ्नो शरीरबाट शोणित (रगत) निकाली एउटा घैँटो (करण्डिका) मा राखेर रावणका अनुचरहरूलाई सुम्पिने बेलामा श्राप पनि दिए— यस करण्डिकाको मुख उद्घाटित हुनेबित्तिकै तिम्रो स्वामीको सर्वनाश हुनेछ । 

रावणका अनुचरहरूले लंकेशको राजसभामा उपस्थित हुँदै ‘ऋषि श्राप’बारे सुनाए । त्यसपछि रावण आक्रोशित भएर उक्त करण्डिकालाई आफ्नो राज्यसीमाभन्दा निकै टाढा मिथिलाका राजा जनकको सीमा क्षेत्र पुण्यारण्य नामक जंगलमा गोप्य रूपमा गाड्न लगाए ।

भनिन्छ, एकपटक शिवजीको सभामा वेदान्त विचार–विमर्शमा राजा जनकबाट पराजित भएका रावण आफ्नो पराजय त स्वीकार गरे, तर प्रतिशोधको आगोमा प्रज्ज्वलित भइरहेका थिए । ‘श्रापयुक्त’ करण्डिकाको प्रयोग गरेर राजा जनकसित बदला लिने उपाय उनले निकाले । रावणका अनुचरहरूले ज्ञान, तपो र पूण्य भूमि मिथिलाको पुनौराधाममा ‘रक्तपुरित करण्डिका’लाई अवनीको अन्तरालमा शृतिकासित ढाकिदिएका थिए ।

“पश्यन पुण्यनरण्यम च, सीताम मैथिलस्थ,

कृताभूमि गता दुतेस्तदासव: करण्डिका

यस करण्डिकाका कारण मिथिलामा अनिकाल पर्न गयो । अनावृष्टिका कारण मिथिलावासीमा त्राहिमाम् मच्चिन गयो । अन्न र जलको अभावमा मानिसलाई बाँच्न गाह्रो हुन थाल्यो । खेतमा उब्जनी कम हुन थाल्यो, मौसम पनि प्रतिकूल र डरलाग्दो खालको हुन थाल्यो । 

त्यतिबेला मिथिलाका महाराजा निमिका वंशज हस्वरोमाका सुपुत्र मिथिलामा शिरध्वज शासन गरिरहेका थिए । उनलाई जनक र विदेहको उपाधि पनि प्राप्त थियो । प्यारा जनताको आग्रहमा महाराजा जनकले आफ्नी महारानी सुनयना र ८८ हजार ऋषिमुनिसहित आफ्नो राजदरबारको पश्चिमी ढोका जलेश्वरनाथभन्दा तीन योजन (१२ कोस २४ माइल) को दूरीमा ज्योति खडा गरे । जुन ठाउँ अहिले सीतामढीमा छ । वायव्यकोण (पश्चिमोत्तर) मा गएर एउटा शिवलिङ्गको स्थापना गरे । यज्ञभूमिमा हलो जोत्दै उनी पुण्डरिक आश्रम अन्तर्गत पुगेपछि त्यहीँ जमिनमुनि गाडिएको करण्डिका, हलाग्र (लांगल) स्पर्श हुनेबित्तिकै विच्छिन्न हुन पुग्यो र समस्त संसारलाई सुख प्रदान गर्ने, क्लेश हर्ने, श्रेयस्करी, वीरशक्ति महिसुता (सीता) दिव्य रूपमा प्रकट भइन् । यसबारे उपनिषदकारहरूले आफ्नै किसिमले प्रशंसा गरेका छन् ।

केही क्षणमै भूमिजा (सीता) बालिकाको रूपमा रुन थालिन् । यसै कारण यस ठाउँको नाम पुण्यरसा हुन गयो । 

पद्मपुराणमा उल्लेख भए अनुसार ऋषि पौण्डरिकले बालिकालाई जया मानेर जानकी नामबाट विभूषित गर्दै महाराज जनकलाई सुम्पिदिए । जयाबाट जानकी नाम सिद्ध हुन्छ । जसमा मातृत्व र पितृत्वको गुण वर्तमान रहेको हुन्छ तर कुनै मातापिताद्वारा त्यस सन्तानको जन्म भएको हुँदैन, अपितु पृथ्वीबाट उत्पन्न भएको हुन्छ, यस्तो सन्तानलाई जया भन्ने गरिन्छ ।

जानकीको अवतरणपश्चात् महाराजा जनकले बालिकालाई लिएर आफ्नो शिविरमा फर्के तथा त्यहाँ एउटा मडई (कुटी) को निर्माण गरे । त्यहाँ नारद आइपुगे र उनले जानकीको नाम ‘सीता’ राखे । सीताका लागि बनाइएको मडईलाई ‘सीतामढी’ नामकरण गरियो ।

हलोको अग्र भागलाई पनि सीता नै भन्ने गरिन्छ । राजा जनककी सुपुत्री भएका कारण जानकी र सीता (हलो) को अग्र भागबाट प्रकट भएकी कारण उनको पवित्र नाम ‘सीता’ नै सर्वथा उचित हुन्छ । सीता प्रकट भएको ठाउँ पुण्यारण्य (पुनौराधाम) र सीताका लागि बनाइएको कुटी (मढी) दुवै ठाउँमा भव्य मन्दिरहरू छन् । दुवैको बिचको दूरी तीन–चार किलोमिटर हुनुपर्छ । हाल दुवै ठाउँ पुरानो मिथिला र हाल बिहार सीतामढीमा पर्दछ । 

महाराजा जनककी सुपुत्री भएकी कारण उनी मिथिलाकी राजकुमारी थिइन् । मिथिलाको राजधानी हाम्रो जनकपुरधाममा छ । जानकी प्राकटयस्थली पुनौराधाममा अहिले पनि एउटा जानकी कुण्ड रहेको छ । त्यसमा बाह्रमासै पानी रहन्छ, त्यसबाट माटो निकाल्न खोज्दा तीव्र गतिमा पानी बढ्ने गर्छ । मन्दिरको कम्पाउन्डमै एउटा कल्पतरुको सानो वृक्ष पनि रहेको छ । मन्दिरका महन्थ कौशल किशोर दासका अनुसार पहिला यहाँ आँप, पिपल, वर, निम आदिका विशाल वृक्ष थिए, विभिन्न कारण अहिले ती अस्तित्वमा छैनन् । 

१९९० सालमा आएको विनाशकारी भूकम्पका कारण यहाँका धेरै अवशेष विलीन हुन पुगे । जनकपुरधाम र पशुपतिनाथको दर्शन गर्न आउने भारतीय तीर्थालुहरू सुरुमा पुनौराधाम हुँदै जनकपुरधाम आउँछन् अथवा जनकपुरबाट फर्केर आएपछि त्यहाँ जाने गर्छन् । दैनिक रूपमा हजारौँ तीर्थालुहरू आउँछन् । यहाँ एउटा विवाह मण्डप र यज्ञस्थल पनि छ । यहाँ निरन्तर रूपमा यज्ञ, होम, पुजन भइरहेका हुन्छन् । 

मिथिलाको सभ्यता र संस्कृतिलाई जोगाइराख्न पुनौराधामको पनि ठुलो योगदान छ । मन्दिरको परिसर निकै ठुलो र आकर्षक छ । फूलबारी पनि आकर्षक छ । पुनौराधामलाई भारतको प्रसिद्ध तीर्थस्थल बनाउने मनसायले बिहार सरकार र भारतको केन्द्र सरकार पनि लागिपरेको टिप्पणी महन्थ कौशल किशोर दासको रहेको छ । 

कसैसित हतपती मिल्न र संवाद गर्न नरुचाउने महन्थजीले एक घन्टासम्म विचार–विमर्शका लागि समय दिए । नेपाल–भारत घनिष्ठ सम्बन्धका पक्षधर महन्थ कौशल किशोर दास नेपालप्रति धेरै सकारात्मक र सहृदयी देखिए । निरन्तर रूपमा जनकपुर र पशुपतिनाथको दर्शन गर्ने उनी मिथिलाको गौरवशाली संस्कृतिको रक्षामा दुवै देशका सरकारले मिलेर काम गर्नुपर्ने उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीमननारायण
श्रीमननारायण
लेखकबाट थप