बुधबार, २६ मङ्सिर २०८१
ताजा लोकप्रिय
दसैँ

असोज–कात्तिकमै किन मनाइन्छ दसैँ ?

शुक्रबार, २५ असोज २०८१, ०७ : २१
शुक्रबार, २५ असोज २०८१

विराटनगर । ‘दसैँ हर्ष एवं उल्लास तथा विजयको प्रतीक हो । हिन्दु संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो । दसैँ पर्वले दश प्रकारका पाप– काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा दिन्छ ।’

उल्लेखित उद्धरण दसैँबारे गुगलले उल्लेख गरेको छ । दसैँ नेपालीहरूको घर–घरमा भित्रिसकेको छ । दसैँ नेपाली हिन्दु धर्मावलम्बीको मुख्य चाड पनि हो । नौ दिनसम्म चल्ने दसैँमा शक्तिकी देवी दुर्गाको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म चल्ने दसैँमा प्रतिपदादेखि नवमीसम्म प्रत्येक दिन देवीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा,  कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदाताको पूजा गरिन्छ ।

संस्कृतिविद् डा. सोम खतिवडाका अनुसार ६ वटा ऋतुमा सबैभन्दा आनन्दको ऋतु भनेको शरद र वसन्त ऋतु हो ।

दशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिइन्छ । दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले पनि बुझिन्छ । दसैँको विषयमा विभिन्न किम्बदन्ती र आयाम पनि छन् ।

तर, दसैँ कसले सुरु गर्‍यो ? दसैँ यही समयमा किन मनाइन्छ ? असोज–कार्तिकको यही सिजनमा दसैँ मान्नुपर्ने कारण के हो ? यही समयमा दसैँ मान्ने परम्परा कहिलेदेखि सुरु भयो ? यी प्रश्नको जवाफ पनि फरकफरक हुन सक्छ । तर, दसैँ यही मौसममा मान्नुपर्ने केही सर्वमान्य कारण रहेको संस्कृतिविद् बताउँछन् ।

संस्कृतिविद् डा. सोम खतिवडाका अनुसार ६ वटा ऋतुमा सबैभन्दा आनन्दको ऋतु भनेको शरद र वसन्त ऋतु हो । शरद भनेको अहिलेको बेला हो । वसन्त ऋतु भनेको चैत–वैशाख हो । ‘चाडबाडहरू आनन्दका लागि, फुर्सद मनाउने एउटा माध्यम पनि हो । चाडबाड भनेको परदेशमा काम गर्न गएका आफन्तहरू आउने, भेटघाट हुने उल्लासमय दिन पनि हो । चाडबाड हाम्रा पुर्खाले सुरु गरेका हुन् । तर, यस्ता चाडबाड कहिले सुरु भयो भन्ने कुनै आधार छैन,’ उनले भने ।

उनका अनुसार चाडबाडहरू परम्परामा मानिँदै आएको हो । ‘हामीले मनाउने चाडपर्वहरू अनिश्चित कालमा सुरु भयो,’ उनले भने, ‘आजभन्दा १५ सय वर्षभन्दा अगाडिको लिखतहरूमा हामीले दसैँ मान्ने गरेको प्रमाण पाउँछौँ । त्यसबेलै दसैँ मनाउँदै गरेको प्रमाण भेट्छौँ ।’

डा. खतिवडाले पहिलेपहिले चैतमा दसैँ मान्ने गरेको बताए । ‘पहिलेचाहिँ दसैँ चैतमा मनाइन्थ्यो भन्ने गरिन्छ । पछि गएर असोज–कार्तिकमा मनाउन थालियो । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि,’ उनले भने ।

‘दसैँको दुई वटा परम्परा छ । एउटा रामायणसँग सम्बन्धित छ । अर्को, देवीको परम्परा छ,’ उनले भने, ‘यी कुरा आश्विन शुक्ल पक्षमा आधारित छन् ।’

चाडपर्वहरू खुसीयालीका अवसरहरू हुन् । दुःख परेको बेलामा उत्सव मनाइँदैन । आश्विन शुक्ल प्रतिपदादेखि नै किन त भन्ने प्रश्नको जवाफ दिँदै खतिवडाले भने, ‘बर्खा भनेको खेतीपाती गर्नुपर्‍यो । मान्छे एकदमै मरिमेटेर असार–साउनमा काम गर्छ । त्यो बाली मङ्सिरमा भित्रिन्छ । त्यो वर्षभरि खान पाइन्छ । असोज कार्तिक भनेको खेतीपातीको काम पनि सकिएको । अन्नबाली पाक्दै गरेको उत्सव, हावापानी पनि राम्रो भएकाले अर्को उत्सव भयो, बाहिर जाने मानिसहरू पनि फर्किएर आउने उत्सवको सङ्गम हो दसैँ ।’

नवदुर्गाको त्यही बेला पूजापाठ गरिनुको विषयमा आफ्नो तर्क सुनाउँदै डा. खतिवडाले भने, ‘किन नवदुर्गाको पूजा गर्नुपर्‍यो त भन्ने सन्दर्भमा फेरि योचाहिँ शक्ति आर्जन गर्ने कुरा हो । बर्खामा मानिसहरूले काम गर्छन्, गलेका हुन्छन्, शक्ति क्षीण हुने भयो । त्यो बेला हिलोमैलो हुन्छ । खान राम्रो पाइराखेको हुँदैन । त्यसैले देवीको पूजा गर्ने, देवीलाई बलि दिने र बलि दिएको चिज आफूले पनि खाने र शक्ति आर्जन गर्ने । बाहिरको मान्छे पनि आउने भएको हुनाले असोज–कार्तिक नै दसैँलाई रोजिएको हो ।’

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका मठाधीश अच्युत प्रपन्नाचार्यले पनि दसैँ यही समयमा मनाउनु पर्ने कारण खुलाए । ‘दसैँको दुई वटा परम्परा छ । एउटा रामायणसँग सम्बन्धित छ । अर्को, देवीको परम्परा छ,’ उनले भने, ‘यी कुरा आश्विन शुक्ल पक्षमा आधारित छन् ।’

गोपी र भगवान श्रीकृष्णको लीलासँग सम्बन्धित अर्को परम्परा एकादशीदेखि पूर्णिमासम्म रहेको उनले खुलाए । ‘खासगरी शरद ऋतु आफैँमा पवित्र ऋतु हो । शरद ऋतु मध्यम ऋतु पनि हो,’ उनले भने, ‘अर्को कारण भनेको वर्षायाम सकिएको हुन्छ । अनि हिउँदको ठिक सुरुवातको बेला पनि हो । प्रायः गरेर पहिले पहिले ८ महिना कर्म गर्ने र ४ महिना बसेर खाने चलन थियो । साउन, भदौ, असोज र कार्तिकमा बसेर खाने चलन हो ।’

यो समयमा बाढी, पहिरो, वर्षाका कारणले घरबाट बाहिर नजाने, तीर्थ नजाने, परदेश नजाने भन्ने चलन रहेको प्रपन्नाचार्यको भनाइ छ । ‘ऋषि, महर्षिहरू पनि चतुर्मास गरेर एकै ठाउँ बस्ने गर्दथे । वर्षायाम पछि हिउँदयाम लाग्न आँट्यो । यतिबेला सबैजना भेला हुने,’ उनले भने, ‘वर्षभरिका सुख–दुःखलाई एकापसमा साटासाट गर्ने, केही यज्ञ अनुष्ठान गर्ने समय पनि हो । वर्षका अरू दिन काममै ध्यान हुन्छ । सबै भेला भएर अनुष्ठान गर्दा सन्तुष्टि पनि मिल्छ । त्यसकारण नै यही समय छनौट गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप