मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

धर्तीको कुनै पनि प्रोपोगाण्डाले प्यालेस्टाइनको घाउ छोप्न सक्दैन

आइतबार, २७ असोज २०८१, २० : ००
आइतबार, २७ असोज २०८१

(सन् २०२४ को ‘पेन पिन्टर पुरस्कार’ लेखक तथा अभियन्ता अरुन्धती रोयलाई प्रदान गरिएको छ । नाटककार ह्यारोल्ड पिन्टरको सम्झनामा ‘इङ्गलिस पेन’ ले स्थापना गरेको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ ।

यो वर्षको पुरस्कार रोयले पाउने घोषणा भएसँगै पुरस्कारको रकम ‘प्यालेस्टाइन चिल्ड्रेन्स् रिलिफ फण्ड’ नामक संस्थालाई दिने घोषणा गरिन उनले । साथै उनले आफूले पाउने पुरस्कार साझा गर्नका लागि बेलायती–इजिप्टेली लेखक तथा अभियन्ता अला अब्द एल–फत्ताहको नाम पनि उल्लेख गरिन । प्रस्तुत आलेख उनले १० अक्टोबरमा ब्रिटिस लाइब्रेरीमा पुरस्कार ग्रहण गर्दा दिएको मन्तव्यको पूर्णपाठ हो ।)

Arundhati-Roy-–-PEN-Pinter-Prize-2024

मलाई पेन पिन्टर पुरस्कार प्रदान गरेकोमा अङ्ग्रेजी संस्करणको पेन र यसको निर्णायक मण्डललाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । मैले आफ्नो साथमा यो वर्षको पुरस्कार लिन चाहेको ‘साहसी लेखक’ को नाम घोषणा गर्दै, म आफ्नो मन्तव्य आरम्भ गर्न चाहन्छु ।

आज मसँगै पुरस्कृत हुने साहसी लेखक अला अब्द एल–फत्ताह हुन । म उनलाई हार्दिक अभिवादन गर्छु । उनलाई इजिप्टको जेलमा थुनिएको छ । उनी सेप्टेम्बरमा रिहा हुने छन् भन्ने हामीले आशा गरेका थियौँ । प्रार्थना गरेका थियौँ । अला ! तिमी यति राम्रो लेखक एवं खतरनाक चिन्तक भइदियौँ कि उनीहरूले तिमीलाई आजका दिन पनि स्वतन्त्र भएको देख्नै चाहन्नन् ।

प्रिय अला ! तिमी यो कोठामा हामीसँगै छौ । तिमी यहाँको सबैभन्दा महत्त्वपूर्ण मान्छे हौ । तिमीले जेलबाटै लेख्यौ, ‘मेरा शब्दहरू अब बलिया रहेनन्, तर जे–जसरी भए पनि म बोलिरहेँ । थोरै मानिसले मात्रै सुन्न सक्ने भए पनि अझै मसँग आवाज त छ ।’ हामी सुनिरहेका छौँ अला ! नजिकबाटै सुनिरहेका छौँ ।

अला र मेरो दुबैजनाको साथी, मेरी प्रिय नाओमी क्लेनलाई पनि अभिवादन ! आज यहाँ उपस्थित भएकोमा आभारी छु । मेरा लागि यसको धेरै ठुलो महत्त्व छ ।

इतिहासमा जातीय सफाया र नरसंहार गरेका प्रत्येक राज्यहरू जस्तै इजरायलका ‘जायोनिष्टहरु’, जो आफूलाई भगवान्द्वारा ‘रोजिएका मान्छे ठान्छन्’ प्यालेस्टिनीलाई उनीहरूको जमिनबाट बेदखल गर्न तथा मार्न, पहिले उनीहरूलाई अमानवियकरण गर्छन् ।

उपस्थित सबैमा अभिवादन ! यहाँ दर्शकदीर्घामा नदेखिएका साथीहरूलाई पनि अभिवादन, जो यहाँ नदेखिए पनि मेरा लागि उनीहरू प्रस्ट देखिई रहेका छन् । मैले भारतको जेलमा थुनिएका उमर खालिद, गुल्फिशा फातिमा, खालिद सैफि, सरजिल इमाम, रोना विल्सन, सुरेन्द्र गडिलिङ, महेश राउत जस्ता वकिल, प्राज्ञ, विद्यार्थी, पत्रकारलगायत साथीहरूको सम्झनामा उनीहरूको कुरा गरेकी हुँ ।

मेरा साथीहरू ! म तिमिहरूसँगै बोलिरहेको छु । मैले चिनेका मध्ये एकजना विशेष मान्छे छन्– खुर्राम पर्वेज । उनलाई तीन वर्षदेखि जेलमा थुनिएको छ । इरफान मेहराजलगायत कश्मीर तथा सिङ्गो भारतभर बन्दी बनाइएका, थुनिएका हजारौँ व्यक्ति, जसको जीवन तहसनहस बनाइएको छ, यतिबेला म तपाईँहरू सबैलाई सम्बोधन गरिरहेको छु ।

132985649_gettyimages-1979924934gazafeb24-860x484

मलाई यो पुरस्कार दिन लागिएको बारे सुरुमा पिन्टर प्यानेल तथा इङ्गलिस पेनकी प्रमुख रुथ बर्थविकले खबर गरेकी थिइन् । उनले पिन्टर पुरस्कार ‘अटल, अडिग र खरो बौद्धिक अडान’ मार्फत ‘हाम्रो जीवन र समाजको यथार्थ’ परिभाषित गर्ने लेखकलाई प्रदान गरिने भनी लेखेकी थिइन । यी पदावली ह्यारोल्ड पिन्टरले साहित्यतर्फको नोबेल पुरस्कार ग्रहण गर्दा बोलेका थिए ।

‘अटल’ शब्द सुन्ना साथ यसले मलाई एक छिन अड्यायो । म स्वयं आफूलाई अटल ठान्दिन । बरु म त आफूलाई सदैव लचिलो मान्छे ठान्छु ।

म यहाँ ‘अटल’ र ‘अडिग’ बारे केही सन्दर्भ कोट्याउन चाहन्छु, जुन झनै राम्रो गरी स्वयं ह्यारोल्ड पिन्टरले चर्चा गरेका छन् :

“म सन् १९८० को दशकको अन्त्यतिर लण्डनमा रहेको अमेरिकी दूतावासमा भएको बैठकमा उपस्थित थिएँ । बैठक  निकारागुवामा के गर्ने भन्ने सन्दर्भमा डाँकिएको थियो । अमेरिकी कांग्रेसले निकारागुवाको राज्य विरुद्ध अभियान चलाइरहेको कोन्ट्रा समूहलाई थप पैसा दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न लागिएको थियो । यसबारे थप निचोड निकाल्न सहयोग पुगोस् भनेर बैठक आयोजना गरिएको थियो । म निकारागुवाको तर्फबाट बोल्ने प्रतिनिधिमण्डलको सदस्यको रूपमा उपस्थित थिएँ ।

e7d36fc0-888b-11ef-81f8-1f28bcc5be15.jpg

त्यो प्रतिनिधिमण्डलको मुख्य मान्छे चाहिँ पादरी जोन मेटकाफ थिए । अमेरिकी पक्षको नेतृत्व रेमण्ड सेइजले गरेका थिए (तत्कालीन समयमा दूतावासको दोस्रो वरियतामा रहेका उनी पछि आफैँ राजदूत भए) । पादरी मेटकाफले भने, ‘सर ! म उत्तरी निकारागुवाको एउटा इलाकामा चर्चको प्रमुख छु । मेरो इलाकाका मानिसहरूले विद्यालय, स्वास्थ्य केन्द्र, सांस्कृतिक केन्द्र इत्यादि बनाए । हामी शान्तिपूर्वक बसिरहेका थियौँ । केही महिना अघि एउटा समूहमा आएर कोन्ट्राहरुले हाम्रो इलाकामा आक्रमण गरे । उनीहरूले विद्यालय, स्वास्थ्य केन्द्र, सांस्कृतिक केन्द्रलगायत सबै ध्वस्त बनाई दिए । नर्स र शिक्षिकाहरूको बलात्कार गरे । डाक्टरहरूको क्रूरतापूर्वक हत्या गरे र सम्पूर्ण बर्बरता देखाए । तपाईँसँग मेरो विनति छ त्यस्ता आततायीहरूलाई अमेरिकी सरकारले गरेको समर्थन फिर्ता लिन भनी दिनुपर्‍यो ।’

रेमण्ड सेइज आफ्नो क्षेत्रमा प्रतिष्ठित व्यक्ति थिए । तर्कसङ्गत, जिम्मेवार र उच्चस्तरको परिष्कृत व्यक्तिको रूपमा उनलाई मानिसले सम्मान गर्थे । कूटनीतिक वृत्तमा पनि उनलाई सम्मान साथ हेरिन्थ्यो । पादरीको कुरा उनले ध्यानपूर्वक सुने । केही बेर गमेर उनले गम्भीरता साथ भने, ‘पादरी ! युद्धमा निर्दोष मानिस सधैँ पीडित हुन्छन् ।’ त्यहाँ सन्नाटा छायो । हामीले उसलाई नियालेर हेर्‍यौँ । उनी अटल थिए ।”

स्मरण रहोस्, अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले कोन्ट्रालाई ‘नैतिक रूपमा अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक मानिने ‘फाउण्डिङ फादर समान’ भएको बताएका थिए । यो उनलाई असाध्यै मन पर्ने र प्रयोग गरिरहने वाक्यांश पनि थियो । उनले यसको प्रयोग सीआईए समर्थित अफगानी मुजाहिद्दिनको वर्णन गर्ने क्रममा पनि गरेका थिए । यी मुजाहिद्दिनहरु पछि गएर तालिबान बने ।

पछिल्लो वर्ष मात्रै अमेरिकाले इजरायललाई १७.९ अर्ब डलरको सैन्य सहयोग पठायो । त्यसैले फेरी एक पटक र सँधैका लागि अमेरिका शान्तिको पहलकर्ता, मध्यस्थकर्ता हो भन्ने झुटलाई त्यागौँ । नरसंहारकर्ता मध्यस्थकर्ता हुन सक्दैनन् ।

यी तीनै तालिबान हुन, जसले अमेरिकी आक्रमण र कब्जा विरुद्ध २० वर्ष लामो संघर्ष गरेर अहिले अफगानिस्तानमा शासन चलाइरहेका छन् । कोन्ट्रा र मुजाहिद्दिन भन्दा अघि अमेरिका भियतनाम युद्धमा थियो । त्यहाँ पनि अमेरिका ‘अटल’ सैन्य सिद्धान्तसहित उपस्थित थियो । जस अनुसार यसले आफ्ना सैनिकहरूलाई ‘प्रत्येक चलायमान बस्तुलाई मारिदेऊ’ भन्ने आदेश दिन्थ्यो । तपाईँले भियतनाम युद्ध र त्यसको लक्ष्य बारे ‘पेन्टागन पेपर’ वा अन्य सम्बन्धित दस्ताबेज पढ्नु भयो भने कसरी नरसंहार गर्ने भन्ने खालका ‘अटल र जीवन्त’ बहसहरू त्यहाँ पाउनु हुनेछ ।

मानिसलाई कसरी मार्दा ठिक हुन्छ ? सोझै मार्ने कि बिस्तारै–बिस्तारै भोकले तड्पाएर ? यी दुई मध्ये कुन प्रभावकारी होला ? तपाईँले यस्ता खालका छलफल त्यहाँ भेट्नु हुनेछ । पेन्टागनमा रहेका नीति निर्माताका आफ्नै दुःख छन् । उनीहरूको बुझाइमा एसियाका मानिस अमेरिकी जस्तो ‘जीवन, खुसी, धन र शक्ति’ का पछि लाग्नुको सट्टा ‘धन र जीवनको बर्बादीलाई चुपचाप सहिदिन्छन् ।’ उनीहरूका अनुसार, यस्तो सहनशीलताले अमेरिकीलाई ‘नरसंहार’ गर्न प्रेरित गर्छ । र, यो भयानक बोझ अटल रूपमा बहन गर्न बाध्य बनाउँछ ।

image1170x530cropped

र, हामी आज यहाँ छौँ । यतिका वर्षपछि पनि आज फेरी एक वर्ष भन्दा अघिदेखि गाजामा नरसंहार जारी छ । अमेरिका र इजरायल टेलिभिजनमा देखाएरै गाजा र लेबनानमा जारी अटल नरसंहारमा व्यस्त छन् । यो नरसंहार औपनिवेशिक कब्जा र नश्लभेदी राज्यको पक्षमा चलाइएको छ । हालसम्म मारिनेको आधिकारिक सङ्ख्या ४२ हजार छ । यसमा अधिकांश महिला र बालबालिका छन् । यो सङ्ख्याले भग्नावशेष भित्र चिच्याउँदै मरेकाहरू, सिङ्गो सहर ध्वस्त बनाउँदा मरेकाहरूलाई समेट्दैन । लास फेला नपरेकाको गणना यसमा हुँदैन । अक्सफामको हालैको प्रतिवेदन अनुसार इजरायले यो अवधिमा गाजामा जति बालबालिकाको हत्या गर्‍यो, त्यति सङ्ख्यामा पछिल्ला २० वर्षमा भएका कुनै पनि युद्धमा बालबालिका मारिएका छैनन् ।

नाजीले युरोपका दसौँ लाख यहुदीको सफाया गर्दा सुरुवातिकालमा आफूले बेवास्ता गरेको सामूहिक दोष मेटाउने नाममा अमेरिका र युरोपले अर्को नरसंहारको आधार भूमि तयार पारेका छन् । इतिहासमा जातीय सफाया र नरसंहार गरेका प्रत्येक राज्यहरू जस्तै इजरायलका ‘जायोनिष्टहरु’, जो आफूलाई भगवान्द्वारा ‘रोजिएका मान्छे ठान्छन्’ प्यालेस्टिनीलाई उनीहरूको जमिनबाट बेदखल गर्न तथा उनीहरूलाई मार्न सुरु गर्नुअघि अमानवीयकरण गरेर यो सबै सुरु गर्छन् ।

प्रधानमन्त्री मेनाचेम बेगिनले प्यालेस्टिनीलाई ‘दुई–खुट्टे राक्षस’ भनेका थिए । यित्जाक रविनले ‘नष्ट पार्न सकिने फट्याङ्ग्रा’ भनेका थिए । गोल्डा मेअरले ‘प्यालेस्टाइन भन्ने कुनै कुराको अस्तित्व नै छैन’ भनेकी थिइन । फासिवाद विरुद्धका चर्चित योद्धा विन्स्टन चर्चिलले ‘कुकुर कोक्रामा सुत्यो भन्दैमा कोक्रो कुकुरको हुन्छ भन्ने म मान्दिन । चाहे त्यो जतिसुकै लामो समयदेखि त्यहाँ बसेको किन नहोस्’ भनेका थिए ।

ILLUSTRATION_ChildrenFacesGaza-2

यति भनेर उनले कोक्रामा ‘उच्च जाति’ को नैसर्गिक अधिकारको घोषणा गरे । एक पटक यी दुई खुट्टे राक्षस, फट्याङ्ग्रा, कुकुर र अस्तित्वहीन मानिस मारिएपछि, जाति सफाया गरिएपछि र घेट्टोमा पुर्‍याइएपछि, नयाँ देश जन्मियो । यसलाई ‘देश नभएका मान्छेका लागि मान्छे नभएको देश’ भनेर ढोल पिटियो । आणविक हतियार सम्पन्न इजरायलले अमेरिका तथा युरोपका लागि मध्यपूर्वको प्राकृतिक सम्पत्ति र स्रोतसाधनको ढोकामा सैन्य सुरक्षा चौकीको काम गर्नु थियो । हेर्नुस् त लक्ष र उद्देश्यको कस्तो मधुर मिलन !

दुनियाँको सम्पूर्ण शक्ति, सम्पत्ति, हातहतियार र प्रोपोगाण्डाले पनि प्यालेस्टाइनको घाउ छोप्न वा लुकाउन सक्दैन, यो घाउमा सारा संसार दुखेको छ ।

नयाँ राज्यलाई बिना हिचकिचाहट र अटल रूपमा समर्थन गरियो । हतियार र पैसा खन्याइयो । जस्तो सुकै जघन्य अपराध गर्दा पनि ताली बजाइयो । यसले जस्तो सुकै अत्याचार गर्दा पनि मुसुक्क हाँस्दै, धनाढ्य परिवारमा पुलपुल्याएर पालेको बच्चा जस्तै गरी यसलाई हुर्काइयो । अहिले यसले खुलेआम नरसंहारको घमन्ड देखाउँदै हिँड्नु कुनै नौलो कुरा नै भएन ।

इजरायली सिपाहीहरूले शालीनता गुमाउनु कुनै अचम्मको विषय होइन । उनीहरूले मारेका वा विस्थापित गरेका महिलाहरूको संवेदनशील वस्त्र लगाएको देखिनु, मरिरहेका प्यालेस्टिनीहरू र घाइते बालबालिकाहरू वा बलात्कार र यातना भोगेका कैदीको नक्कल गरेको भिडियोहरूमा देखाउनु पनि अचम्मको विषय रहेन । अझ उनीहरूले चुरोट पिउँदै वा हेडफोनमा कोलाहलपूर्ण सङ्गीत बजाएर भवनहरू उडाइरहेको भिडियो सामाजिक सञ्जालमा बाढी आउनु पनि अनौठो होइन । यी को हुन ?

इजरायलले गर्दै गरेको कामको औचित्य केले सिद्ध गर्न सक्छ ?

इजरायल, यसका सहयोगी र पश्चिमा मिडियाका अनुसार गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणको जबाफ हो यो । इजरायली नागरिकको हत्या र इजरायलीको अपहरण गरेर बन्धक बनाइनुको जबाफ हो यो । उनीहरूका अनुसार इतिहास बल्ल एक वर्ष अघिदेखि मात्रै सुरु भएको हो ।

यसरी मेरो यो मन्तव्यको खण्डमा मबाट तटस्थता र आफ्नो बौद्धिकताको रक्षाका लागि सन्तुलित विचार पस्कनु पर्ने अपेक्षा गरिएको छ । यो खण्डमा मबाट नैतिक समभावमा फसेर हमासको आलोचना गर्नु पर्ने, गाजाका अन्य सैन्य समूह तथा उनीहरूको सहयोगी लेबनानका हिज्बुल्लाहलाई सर्वसाधारणको हत्या तथा नागरिकलाई बन्धक बनाएकोमा आलोचना गर्नुपर्ने ठानिएको छ । साथै हमासको यो हमलाबाट उत्साहित गाजाका मानिसको आलोचना गर्नुपर्ने ठानिएको छ । एक पटक त्यति गर्दा सबै मिल्छ हैन त ? ठिक छ किनभने सबै डराएका छन् । यस्तो अवस्थामा के गर्न सकिन्छ ? बरु सपिङ गर्न जाऔँ होला...

म निन्दाको यो खेल खेल्न अस्वीकार गर्छु । पहिला मलाई प्रस्ट पार्न दिनुहोस् । म उत्पीडित मानिसलाई कसरी उनीहरूले दमनको प्रतिरोध गर्ने वा को–को उसको सहयोगी हुने/नहुने भन्न सक्छु ?

कसले सोचेको थियो होला– अमेरिकी सरकारले इजरायली राज्यको सेवा गर्न वाक स्वतन्त्रताका आधारभूत सिद्धान्तमै प्रहार गर्दै प्यालेस्टाइन समर्थित नारामा प्रतिबन्ध लगाउँछ भनेर ? केही अपवाद छाडेर आजका दिन पश्चिमा प्रजातन्त्र बाँकी दुनियाँमा हाँसोको विषय बनेको छ ।

अक्टोबर २०२३ मा, जब अमेरिकी राष्ट्रपति जो वाइडेनले इजरायल भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा इजरायली युद्ध मन्त्रिपरिषद्लाई भेटे । उनले त्यसै बेला भनेका थिए, ‘म हर कोही जायोनिष्ट हुन यहुदी नै हुनुपर्छ भन्ने मान्दिन किनभने म जायोनिष्ट हुँ ।’

राष्ट्रपति वाइडेन बाहेक कसले आफूलाई गैह्र–यहुदी जायोनिष्ट भन्न सक्छ र अटल रूपमा इजरायललाई युद्ध अपराधका लागि हतियार तथा पैसा खन्याई रहन सक्छ ? म मेरो लेखाई भन्दा सङ्कीर्ण रूपमा आफूलाई घोषणा गर्न वा परिभाषित गर्न सक्दिन । म जे लेख्छु, म त्यही हुँ ।

म के विषयमा असाध्यै सचेत छु भने म जस्तो मान्छे एउटा लेखक भएर, गैह्र–मुस्लिम भएर तथा महिला भएर हमास, हिज्बुल्लाह वा इरानको शासनमा लामो समय टिक्न अप्ठेरो मात्रै होइन असम्भव पनि हुन्छ होला । तर, यहाँ मुख्य कुरा त्यो होइन । मुख्य कुरा त तिनिहरु अस्तित्वमा आएको परिस्थिति र इतिहासबारे आफूलाई शिक्षित पार्नु हो । मुख्य कुरा आजका दिन उनीहरू जारी नरसंहार विरुद्ध लडिरहेका छन् भन्ने हो । मुख्य कुरा हामी आफूलाई उदार र धर्म निरपेक्ष भन्नेहरू नरसंहारकारी युद्धतन्त्र विरुद्ध लड्दै छौ कि छैनौँ भनी आफैलाई सोध्नु हो ।

किनभने संसारका सबै शक्ति उनीहरू विरुद्ध छन् भने उनीहरू कहाँ जाने ? देउताकोमा ? म के कुरामा पनि सचेत छु भने, हिज्बुल्लाह र इरानी सत्ताका धेरै विरोधीहरू उनीहरूकै देशमा छन् । कोही जेलमा पीडा भोगिरहेका छन् भने कोही त्यो भन्दा पनि कठोर परिणाम भोगिरहेका छन् । म के कुरामा पनि सचेत छु भने, हमासले ७ अक्टोबरमा गरेको सर्वसाधारणको हत्या तथा बन्धक बनाउने कार्य युद्ध अपराध हो । तर, पनि यी घटना इजरायल र अमेरिकाले गाजा, वेस्ट ब्यांक र लेबनानमा गरेका कुकृत्यसँग समान हुनै सक्दैनन् ।

७ अक्टोबरको हिंसाको मूलमा इजरायलले प्यालेस्टाइनमा गरेको अवैध कब्जा र प्यालेस्टिनी जनतालाई अधीनस्थ बनाउने गतिविधिमा छ । इतिहास ७ अक्टोबर २०२३ मा सुरु भएको होइन ।

म सोध्न चाहन्छु, यो हलमा भएका हामी मध्यै कसले–कसले प्यालेस्टिनीहरुमाथि गाजा र वेस्ट ब्यांकमा थोपरिए जस्तो अपमान स्वीकार गर्न सक्छौँ ? प्यालेस्टिनीहरुले शान्तिपूर्ण जीवनयापनका लागि कुन विकल्प प्रयोग गरेनन् ? उनीहरूका अघिल्तिर खुट्टामा झुकेर थुकेको चाट्नु पर्ने बाहेक कुन सम्झौता उनीहरूले मानेनन् ?

साथीहरू इजरायलले आत्मरक्षाको युद्ध लड्दै छैन । यसले आक्रामक युद्ध लडिरहेको छ । यो युद्धको लक्ष्य प्यालेस्टिनी जनताबाट थप भूभाग हडप्नु र नश्लभेदी संयन्त्रलाई थप मजबुत बनाउनु बाहेक केही छैन ।

७ अक्टोबरदेखि इजरायलले दशौँ हजारको हत्या मात्रै गरेको छैन, थप कयौँ गुणा मानिस विस्थापित भएका छन् । अस्पतालमा बम खसालिएको छ । डाक्टर, सहायताकर्मी र पत्रकारलाई खोजी–खोजी मारिएको छ । गाजाको सम्पूर्ण जनसङ्ख्यालाई भोकै पारिएको छ । उनीहरूको इतिहास मेटाउन खोजिएको छ । यी सबै कर्तुत संसारका धनी र सर्वशक्तिमान् मुलुकको नैतिक र भौतिक समर्थनमा गरिएको छ । तिनका मिडिया पनि यसमा उत्तिकै सहयोगी छन् ।

यहाँ म मेरो देश भारतलाई पनि समेट्न चाहन्छु, उसले पनि इजरायललाई हतियार र हजारौँ कामदार पठाएको छ । इजरायल र यी मुलुकबिच केही तात्त्विक भिन्नता छैन । पछिल्लो वर्ष मात्रै अमेरिकाले इजरायललाई १७.९ अर्ब डलरको सैन्य सहयोग दियो । त्यसैले फेरी एक पटक र सधैँका लागि अमेरिका शान्तिको पहलकर्ता, मध्यस्थकर्ता वा आफ्नो प्रभावको सदुपयोग गर्दैछ भन्ने झुटलाई त्यागौँ । वा अमेरिकी मूलधारको राजनीतिमा वामपन्थी मानिएकी अलेक्जेण्ड्रा ओकासियो–कोर्टेजहरुले भने जस्तै– ‘युद्धविरामका लागि अविराम लागि रहेको’ जस्ता फोस्रा गफलाई खारेज गरौँ । नरसंहारकर्ता मध्यस्थकर्ता हुन सक्दैनन् ।

अहिले सुरु भएको युद्ध झनै भयानक हुनेछ र यसले इजरायलको नश्लभेदी शासनलाई अन्ततः तहसनहस बनाई दिनेछ । संसार सबैका लागि सुरक्षित हुनेछ । यहुदीहरूका लागि पनि । अझै धेरै न्यायपूर्ण हुनेछ । यो हाम्रो घाइते मुटुबाट तीर झिके जस्तै हुनेछ ।

दुनियाँको सम्पूर्ण शक्ति, सम्पत्ति, हातहतियार र प्रोपोगाण्डाले पनि प्यालेस्टाइनको घाउ छोप्न वा लुकाउन सक्दैन । यो घाउमा सारा संसार दुखेको छ । इजरायल आफै पनि दुखेको छ ।

इजरायली नरसंहारलाई समर्थन गर्ने मुलुकका जनतामा गरिएको सर्वेक्षणले उनीहरूको बहुमत सङ्ख्याले यसलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ । हामीले लाखौँ मानिस संलग्न विरोध प्रदर्शन र र्‍याली देखेका छौँ । यस्ता र्‍यालीमा ती युवा यहुदी पनि छन्, जो उनीहरूको अनवरत दुरुपयोगदेखि आक्रान्त छन् । कसले सोचेको थियो होला– जर्मन प्रहरीले ‘एण्टी–सेमेटिक’ भन्दै यहुदी नागरिकलाई ‘जायोनिज्म’ र इजरायलको विरोध गरेको आरोपमा गिरफ्तार गरेको पनि देख्नुपर्छ ? कसले सोचेको थियो होला– अमेरिकी सरकारले इजरायली राज्यको सेवा गर्न वाक स्वतन्त्रताका आधारभूत सिद्धान्तमै प्रहार गर्दै प्यालेस्टाइन समर्थित नारामा प्रतिबन्ध लगाउँछ भनेर ? केही अपवाद छाडेर आजका दिन पश्चिमा प्रजातन्त्रको कथित नैतिक धरातल बाँकी दुनियाँमा हाँसोको विषय बनेको छ ।

जब बेन्जामिन नेतान्याहु प्यालेस्टाइन मेटिएको तथा जोर्डन नदिदेखि भू–मध्यसागरसम्म फैलिएको इजरायलको नक्सा देखाउँछन, उनलाई यहुदी भूमीको सपना साकार गर्न लागेका दूरदर्शी नेताका रूपमा प्रशंसा गरिन्छ । तर, जब प्यालेस्टाइन र उनका समर्थकहरू ‘नदीदेखि सागरसम्म, प्यालेस्टाइन आजाद हुनेछ’ भनेर गाउँछन् उनीहरूलाई यहुदी नरसंहारको आह्वान गरेको आरोप लगाइन्छ ।

के उनीहरू साँच्चै यस्तै छन् ? वा यो रोगी सोच हो, जसले आफ्नै अँध्यारोपना अरूमा थोपरिरहेको छ ? होइन । एउटा कल्पना जसले विविधतालाई स्विकार्न सकेको छैन, त्यो कुनै पनि देशमा अन्य मानिससँग, समान रूपले, समान अधिकारसहित बस्ने कुरालाई स्विकार्नै सक्दैन । एउटा त्यस्तो सोच, जसले प्यालेस्टिनी पनि स्वतन्त्र हुन्छन् भनी स्विकार्ने जोखिमसमेत उठाउन सकेको छैन ।

दक्षिण अफ्रिका, भारत जस्ता कयौँ देशहरू, जो उपनिवेशवादबाट मुक्त भए, जो विविधताले भरिएका छन्, त्रुटिपूर्ण नै सही तर ती स्वतन्त्र छन् । जति बेला दक्षिण अफ्रिकीले आफ्नो स्वतन्त्रताको नारा लगाउँदै ‘अमान्डाला’ भन्थे के त्यति बेला उनीहरू गोराहरूको नरसंहारको आह्वान गरिरहेका हुन्थे । होइन । उनीहरू आफ्नो देशमा रहेको रङ्गभेदी, नस्लवादी राज्यको अन्त्यको आह्वान गरिरहेका हुन्थे । ठ्याक्कै त्यसै गरी प्यालेस्टिनीहरुले आफ्नो स्वतन्त्रताको नारा लगाई रहेका छन् ।

अहिले सुरु भएको युद्ध झनै भयानक हुनेछ र यसले इजरायको नश्लभेदी शासनलाई अन्ततः तहसनहस बनाई दिनेछ । संसार सबैका लागि सुरक्षित हुनेछ । यहुदीहरूका लागि पनि । अझै धेरै न्यायपूर्ण हुनेछ । यो हाम्रो घाइते मुटुबाट तीर झिके जस्तै हुनेछ ।

अमेरिकी सरकारले इजरायलको समर्थन फिर्ता लिएको खण्डमा युद्ध आजै रोकिन सक्छ । शत्रुता यसै पलदेखि समाप्त हुन सक्छ । इजरायली बन्धकलाई मुक्त गर्न सकिन्छ, प्यालेस्टिनी कैदीलाई रिहा गर्न सकिन्छ । हमास र अन्य प्यालेस्टिनी सरोकारवालासँगको युद्धपछि हुने अनिवार्य वार्ता तत्कालै सुरु हुन सक्छ र लाखौँ मानिसको पीडालाई अहिले नै रोक्न सकिन्छ । तर, निकै दुःखद कुरा हो– धेरै मानिस यसलाई मूर्ख र हास्यास्पद प्रस्ताव ठान्छन् ।

उनीहरूले हामीलाई किनारामा पुर्‍याइयो भन्ने सोचेका छन् । उनीहरूलाई थाहै छैन हामीले मैदान छाडेकै छैनौँ । यो त क्षणिक हार मात्र हो । न मतपत्रले, न  दरबार र मन्त्रालयले, न जेलनेलले, न त चिहानले नै हाम्रो सपनालाई छोप्न वा रोक्न सक्छ ।

अला अब्द एल–फत्ताह ! मेरो मन्तव्य टुङ्ग्याउनु अघि मलाई तिमीले जेलमा लेखेको पुस्तक ‘यु ह्याव नट येट बिन डिफिटेड’ का केही हरफहरूमा आउन देऊ । चरम निराश समयबाट गुज्रँदा पनि इमानदार राजनीतिक आवश्यकता खोज्ने तथा विजय र पराजयको अर्थबोध गराउने गरिएका यस्ता शब्दहरू मैले बिरलै पढेकी छु । यस्तो प्रष्टता साथ आफूलाई राज्य, सेनाका जर्नेल तथा चोकका नारा भन्दा पृथक् लेखिएको मैले असाध्यै कम पढेकी छु ।

Family-evacuating-Gaza-Ali-Jadallah

‘सत्ताको केन्द्रमा धोका छ, जर्नेलहरू जस्ता धोकेबाजका लागि त्यहाँ ठाउँ छ । म धोकेबाज होइन, त्यसैले सत्तामा छैन । उनीहरूले हामीलाई किनारामा पुर्‍याइयो भन्ने सोचेका छन् । उनीहरूलाई थाहै छैन हामीले मैदान छाडेकै छैनौँ । यो त क्षणिक हार मात्र हो । न मतपत्रले, न  दरबार र मन्त्रालयले, न जेलनेलले, न त चिहानले नै हाम्रो सपनालाई छोप्न वा रोक्न सक्छ । सपना छाडेर जाने बाहेक कसैका लागि ठाउँ नभएकाले हामीले सत्तालाई परित्याग गरेका हौँ । हाम्रा लागि त सडक पनि काफी थिएन, त्यसैले धेरै जसो लडाई हामीले त्यो भन्दा बाहिर लड्यौँ । र, ती वास्तविक योद्धा पनि परिदृश्य भन्दा बाहिर नै छन् ।’

आज हामीले गाजा र लेबनानमा विनाश हेरिरहेका छौँ, चाडै यो युद्ध क्षेत्रीय युद्धमा विस्तार हुन्छ । यसका वास्तविक नायकहरू अझै दृश्यमा ल्याइएका छैनन् । तर, पनि उनीहरू लडिरहन्छन् किनभने उनीहरूलाई राम्रोसँग थाहा छ–

एक दिन,

नदीदेखि सागरसम्म

प्यालेस्टाइन स्वतन्त्र हुनेछ ।

पक्का स्वतन्त्र हुनेछ

आफ्नो नजर पात्रोमा अड्याएर राख्नुस् । घडीमा होइन ।

आफ्नो स्वतन्त्रताका लागि लड्नेहरू समय यसै गरी हेर्छन्, जर्नेलहरू होइन !

अनुवाद: रोहित बास्तोला

(द वायरबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुन्धती रोय
अरुन्धती रोय
लेखकबाट थप