स्रष्टा, साहित्य र समाज

ई. एच. कार व्यक्ति र समाज अविभाज्य छ भन्छन् । व्यक्तिको आफ्नो विशिष्टता भए पनि उसको व्यक्तित्वले समाजमै आकार ग्रहण गर्छ । समाजभन्दा बाहिर व्यक्तिको अस्तित्वको कल्पना गर्न सकिदैन । स्रष्टा पनि व्यक्ति हो । ऊ समाजमै बस्छ । समाजबाटै उसको साहित्यिक व्यक्तित्वले आकार ग्रहण गर्छ । उसले सिर्जना गर्ने साहित्य समाजको बिचबाटै जन्मन्छ । स्रष्टा र साहित्य दुवैलाई समाजबाट अलग गर्न सकिदैन । व्यक्ति र समाजजस्तै साहित्य र समाज पनि अविभाज्य छन् । साहित्यमा समाजका आन्तरिक र बाह्य पक्षहरू प्रतिविम्बित हुन्छन् । साहित्य र समाजबिचको गतिशील सम्बन्ध मानवीय अनुभव र कल्पनाको धागोबाट उनिएको हुन्छ । साहित्यले समाजमै आफूलाई बुन्छ, उसका मूल्य, आकाङ्क्षा, स्वप्न, सङ्घर्ष र विरोधाभासलाई अभिव्यक्ति दिन्छ । हड्सन साहित्यले युगौँदेखि समाजको मन र चरित्रको क्रमिक विकासलाई चित्रण गर्दै आएको छ भन्छन् । कडवेल साहित्यलाई समाजरूपी सिपीबाट निस्किएको मोतीका रूपमा लिन्छन् ।
साहित्यलाई सामाजिक चेतनाको विशिष्ट रूप मानिन्छ । सामाजिक यथार्थबाट साहित्यको निर्माण हुन्छ । साहित्यमा प्रतिविम्बित यथार्थमा मानवीय सक्रियतालाई विशेष महत्त्व प्रदान गरिन्छ, मनुष्यको सिर्जनात्मक चरित्र र उसको ऊध्र्वगामी यात्राप्रति गम्भीर ध्यान दिइन्छ । स्टेनढालले उपन्यासलाई राजमार्गभन्दा तलतिर यात्रा गर्ने दर्पणका रूपमा उल्लेख गरेका छन् । लुई द बोनाल कुनै पनि राष्ट्रको साहित्यलाई ध्यान दिएर पढेपछि त्यहाँका जनता कस्ता थिए भनेर थाहा पाउन सकिन्छ भन्छन् । जनता कस्ता थिए भनेर थाहा पाउने कुरा र राजमार्गदेखि तलतिरको यात्रा समाजको बाह्य र आन्तरिक यथार्थको कलात्मक अभिव्यञ्जनासँग जोडिएका छन् । साहित्य समाजको दर्पण मात्र नभएर त्योभन्दा बढी पनि हो । बढीको सम्बन्ध साहित्यमा समाजको विशिष्ट प्रतिविम्बनसँग छ । समाजको विशिष्ट प्रतिविम्बन उसको ऊध्र्वगामी चरित्रसँग सम्बन्धित छ । परिवर्तनको स्वप्न र सङ्घर्ष यसैभित्र पर्छन् ।
साहित्यले मनुष्यको वैयक्तिकतालाई महत्त्व दिएको छ; उसको विशिष्टता, उसको संसारलाई छामेको छ तर यी सबैको साइनो समाजसँग छ । मनुष्यका सुख–दुःख, आँसु–हाँसो, उकाली–ओराली सबै समाजसँग जोडिएका छन् । साहित्यलाई समाजसँग विच्छेद गर्न सम्भव छैन । साहित्य सामाजिक यथार्थको विशिष्ट अभिव्यञ्जना हो । समाजको संवेदना, अनुभव, स्वप्न, सङ्घर्ष, सङ्कल्प, साहस, उद्देश्य, आदर्श आदिलाई साहित्यमा अभिव्यक्ति दिइन्छ । समाजका कुरूप र सुन्दर दुवै पक्ष यसमा आउँछन् । रामचन्द्र शुक्ल कुनै पनि देशको साहित्य त्यहाँका जनताको चित्तवृत्तिको सञ्चित फल हो भन्छन् । समाजका बाहिरी र भित्री संसारका विभिन्न परत र आयाम साहित्यमा बोल्छन् । युगीन सीमासहित साहित्यको ठुलो अंशमा सुधार, परिवर्तन, आशा, आदर्श, सत्य एवं सुन्दरको आग्रह पाइन्छ ।
साहित्य र समाजको सम्बन्ध एवं साहित्यमा त्यसको प्रतिविम्बनका विषयमा समान धारणा छैनन् । साहित्यलाई समाजको दर्पण मात्र ठान्ने र साहित्यलाई समाजको दर्पण मात्र नभएर समाजको पुनः निर्माणको कलात्मक उपकरण पनि हो भन्ने दृष्टिकोणका बिचमा ठुलो अन्तर छ । साहित्यमा समाजको प्रतिविम्बन र यसको समाजपरक भूमिकाका बारेमा सबैभन्दा बढी वस्तुनिष्ठ रूपमा मार्क्सवादी साहित्य चिन्तकहरूले व्याख्या–विश्लेषण गरेका छन् । उनीहरू साहित्यलाई दर्पणका रूपमा मात्र हेर्दैनन् र साहित्यमा सामाजिक यथार्थको सक्रिय प्रतिविम्बनलाई महत्त्व दिन्छन् । दर्पणको धारणा यथास्थितिवादी छ, यसले समाजको गतिशील चरित्रलाई देख्दैन भन्ने धारणा मार्क्सवादीहरूको छ । साहित्यमा समाजको चित्रण समाजलाई अझ पछिल्तिर फर्काउने गरी, जस्तो छ त्यस्तै रहन दिने गरी, त्यसलाई सुधार एवं परिवर्तन गर्ने गरी भएको पाइन्छ । जुनसुकै वैचारिक धरातलमा उभिएर लेखे पनि समाज स्रष्टाहरूको रचनाको उपजीव्य हो । आफू उभिएकै ठाउँबाट उसले समाजलाई बोध गर्छ र रचनामा अभिव्यक्ति दिन्छ । स्रष्टा रचनाकारका रूपमा मात्र रहँदैन, भौतिक रूपमा पनि सक्रिय रहन्छ । उसको सक्रियता अतीतमुखी, यथास्थितिवादी, प्रतिक्रियावादी, सुधारवादी र परिवर्तकारीमध्ये कुनै एकको हुन सक्छ । साहित्यमा सामाजिक यथार्थको प्रतिविम्बन र स्रष्टाको भौतिक सक्रियताको सौन्दर्य समाज र जीवनको अग्रगामी रूपान्तरणसँग जोडिएको छ ।
साहित्य र समाजबिचको गतिशील सम्बन्ध मानवीय अनुभव र कल्पनाको धागोबाट उनिएको हुन्छ । साहित्यले समाजमै आफूलाई बुन्छ, उसका मूल्य, आकाङ्क्षा, स्वप्न, सङ्घर्ष र विरोधाभासलाई अभिव्यक्ति दिन्छ ।
साहित्यलाई समाजसँग जोड्दा र अघिल्तिर प्रस्थानको स्वप्न देख्दा इतिहासदेखि वर्तमानसम्म सयौँ स्रष्टा मारिएका छन्, हजारौँ शारीरिक एवं मानसिक यन्त्रणाको सिकार भएका छन् । लाखौँ किताब जलाइएका छन् । फ्रान्सेली क्रान्ति होस् वा बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम होस् वा पेरिस कम्युनको स्थापना, अक्टुबर क्रान्ति होस् वा चिनियाँ जनवादी क्रान्ति, नेपालमा चलेका ऐतिहासिक जनसङ्घर्षहरू होउन् वा अन्य मुलुकमा भएका क्रान्तिहरू स्रष्टाले तिनमा ऐतिहासिक भूमिका सम्पादन गरेका छन् । साहित्यिक कृतिहरूको भूमिका अझ महत्त्वपूर्ण रहेको छ । साहित्य पढ्दा हुने संज्ञान र सौन्दर्यानुभूतिबाट मनुष्यमा आन्तरिक रूपान्तरणको प्रक्रिया आरम्भ हुन्छ । यसले उसलाई आफ्नो मूल्याङ्कन गर्ने, अघिल्तिर प्रस्थान गर्ने, त्यसका निम्ति सङ्घर्ष गर्ने, स्वप्न देख्ने, कल्पनाशील बन्ने र सङ्घर्ष गर्ने सामथ्र्य प्रदान गर्छ । साहित्य समाजको प्रेरणाको, आत्मिक समृद्धि र रूपान्तरणको महत्त्वपूर्ण उपकरण हो । जीवन–जगत् एवं मूल्यबोधमा साहित्यको ठुलो भूमिका रहन्छ । साहित्यमा हुने समाजको विशिष्ट प्रतिविम्बन साहित्यको शक्तिको स्रोत हो । प्रतिविम्बित जीवनको पठनले हामीलाई रुवाउँछ, हसाउँछ, गम्भीर एवं आक्रोशित बनाउँछ र दिशाबोध गराउँछ । निराशालाई आशामा बदल्ने; सुतेकालाई ब्युँझाउने; साहस, सङ्कल्प, कल्पना र स्वप्नको निर्माण गर्ने कार्य साहित्यले गर्छ । प्रेमचन्द साहित्यले हाम्रो जीवनलाई स्वाभाविक र सुन्दर बनाउँछ भन्छन् । आचार्य हजारीप्रसाद द्विवेदी मानिसलाई उत्तम र विशाल बनाउने भएकैले साहित्य ठुलो भएको हो भन्छन् । साहित्य आफ्नो समाजपरक र सौन्दर्यपरक भूमिकाकै कारण जीवित रहँदै आएको छ ।
स्रष्टाले साहित्यमा आफ्नो समयको सत्तासँग जुध्दै सामाजिक यथार्थलाई कलात्मक अभिव्यञ्जना दिन्छन् । गतिशील यथार्थको कलात्मक पुनः सिर्र्जनाका कारण स्रष्टाहरू सत्ताको यन्त्रणाको सिकार हुन्छन् । यन्त्रणा मृत्युवरणसम्म विस्तारित हुन्छ । साहित्यमा पाइने आलोचनात्मक चेतना र परिवर्तनको स्वप्न सत्ताको टाउको दुखाइ र आक्रोशको मूल कारण रहेको छ । साहित्यको उत्प्रेरक भूमिका र यसले प्रदान गर्ने सामथ्र्यले पनि सत्ताको टाउको दुख्छ । यस्तो नहुँदो हो त कृष्णलाल अधिकारी, कृष्णसेन इच्छुक लगायत स्रष्टाले सत्ताको यन्त्रणाका कारण जीवन गुमाउनुपर्ने थिएन । सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायत स्रष्टा सत्ताबाट प्रताडित हुनुपर्ने थिएन । समाजपरक लेखन र परिवर्तनमुखी भूमिकाका कारण सयौँ नेपाली स्रष्टा सत्ताको दमनको सिकार भएका छन् । साहित्यमा समाजको प्रतिविम्बन गर्दा खप्नुपर्ने यो चुनौती आज पनि जीवित छ । समाजमा विद्यमान उत्पीडनका विविध रूपहरूको चित्रण गर्दा र त्यसको प्रतिवादसहित परिवर्तनको स्वप्न देख्दा वर्तमानमा पनि स्रष्टाहरू सत्ताबाट प्रताडित छन् ।
साहित्यमा समाजको प्रतिविम्बन कलात्मक मूल्यका दृष्टिले कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने चुनौती स्रष्टाले सामना गर्नुपर्ने अर्को गम्भीर चुनौती हो । साहित्यमा समाजको कलात्मक अभिव्यञ्जना अमूर्त कुरा होइन । अन्तर्वस्तुको प्रगतिशीलताविना कलात्मक अभिव्यञ्जना सम्भव हुँदैन । समाज बोध, जीवनबोध, जगत्बोध, इतिहास बोध, मूल्यबोध र कलाबोध स्रष्टामा कति छ, ऊ समाज, जीवन–जगत् र कलालाई कसरी हेर्छ, उसको विश्वदृष्टिकोण कस्तो छ, उसको उद्देश्य के छ जस्ता प्रश्न यस सन्दर्भमा महत्त्वपूर्ण हुन्छन् । सबै स्रष्टा यसमा खरो उत्रिँदैनन् । उनीहरू उभिएको वैचारिक जमिन उपयुक्त हुँदैन । उनीहरूका रचनामा समाजको गत्यात्मक चरित्र बोल्दैन । साहित्यमा समाज उसको परिवर्तनको स्वप्न र सङ्घर्ष, सुन्दरको आकाङ्क्षा र कुरूपको निषेधको चाहनासहित आउनुपर्छ ।
हामीलाई प्यालेस्टाइन दुख्दैन, संसारमा भइरहेका अन्यायपूर्ण युद्धहरू दुख्दैनन्, नवऔपनिवेशिक हस्तक्षेप र उत्पीडन दुख्दैन, पुँजीवाद र यसबाट निःसृत पीडाहरू दुख्दैनन्, हाम्रो आलोचनात्मक चेत भुत्ते हुँदै छ । हाम्रो संवेदना छिपछिपे हुँदै छ ।
रामविलास शर्मा साहित्य र समाजको सम्बन्धलाई सही तरिकाले प्रस्तुत नगर्ने, गलत सामाजिक उद्देश्यलाई अभिव्यक्ति दिने, साहित्यको इतिहासलाई समाजको इतिहाससँग अलग गर्ने, अवैज्ञानिक विश्वदृष्टिको जगमा उभिएर समाजलाई हेर्ने आदि कमजोरी साहित्य र समाजको सम्बन्धको व्याख्यामा पाइन्छ भन्छन् । उनी सामाजिक यथार्थको सम्बन्ध मूलतः दर्शनसँग हुन्छ भन्दै उपयुक्त दर्शनको जगमा उभिएर मात्र सामाजिक यथार्थलाई उपयुक्त ढंगले बुझ्न सकिने उल्लेख गर्छन् । सामाजिक यथार्थको बोधमा दर्शनको महत्त्वलाई रामविलास शर्माले दिएको जोड महत्त्वपूर्ण छ । प्रत्ययवादी दर्शनमा उभिएर सामाजिक यथार्थको ठिक बोध र अभिव्यञ्जना सम्भव छैन । साहित्यमा सामाजिक यथार्थको गलत, अपूर्ण र निष्क्रिय प्रतिविम्बन यसैसँग सम्बन्धित छ । साहित्यमा विश्वदृष्टिकोणलाई प्रदान गरिने महत्त्व दर्शनसँग सम्बन्धित छ । इतिहासदृष्टि, समाजदृष्टि, जीवनदृष्टि दर्शनसँग जोडिन्छन् । साहित्यमा समाजको गतिशील चरित्रको कलात्मक अङ्कनले साहित्यको समाजपरक भूमिकालाई बलियो बनाउँछ ।
नेपाली साहित्यमा प्राथमिक कालदेखि नै समाजले युगीन सीमासहित अभिव्यक्ति पाउँदै आएको छ । आधुनिक चेतनासहित साहित्यमा समाज बोल्न थालेको भने आधुनिक कालको आरम्भपछि नै हो । आधुनिक युगको आरम्भपछि साहित्यमा समाजको प्रतिविम्बन आदर्शोन्मुख यथार्थवादी, आलोचनात्मक यथार्थवादी, समाजवादी यथार्थवादी दृष्टिसहित हुन आरम्भ गर्यो । नेपाली साहित्यमा नेपाली समाजको विविध तस्बिरले अभिव्यक्ति पाएको छ । आलोचनात्मक यथार्थवादी दृष्टिसहित लेखिएका रचनामा समाजको प्रतिविम्बन आलोचनात्मक चेतनासहित गरिएको छ र त्यसमा समाजलाई अझ सुन्दर बनाउने चेतना पाइन्छ । यसको मूलमा सुधारवादी आग्रह छ । समाजको गत्यात्मक चरित्रको कलात्मक अङ्कनका सीमाहरू यस्ता रचनामा प्रस्ट अनुभव हुन्छन् । समाजवादी यथार्थवादी रचनामा आमूल परिवर्तनको स्वप्न पाइन्छ । नेपाली साहित्यमा समाजको जीवन्त प्रतिविम्बन भएका उच्च यथार्थवादी रचना कम छन् ।
समकालीन नेपाली साहित्यमा समाजको बदलिँदो तस्बिर र यसका उज्याला–अँध्यारा पक्षको जीवन्त प्रतिविम्बन भएका रचना त्यति धेरै छैनन् । एकातिर स्रष्टाका वैचारिक सीमा छन्, अर्कातिर यथार्थबोधमा समस्या छन् । आदर्शवादी, सुधारवादी एवं आलोचनात्मक यथार्थवादी दृष्टिका आधारमा समकालीन समाजका जटिलता, विरोधाभास, उज्याला–अँध्यारा पक्ष, स्वप्न सङ्घर्षको सजीव प्रतिविम्बन गर्न गाह्रो छ । स्रष्टा यसभन्दा अगाडि जानुपर्छ । उसले समाजको गतिशील चरित्र र विविध पक्षको कलात्मक पुनः सिर्जना गर्न सक्नुपर्छ । नेपाली स्रष्टासँग नेपाली समाजको परिवर्तनको स्वप्न हुनुपर्छ ।
नेपाली समाजमा वर्गीय, जातीय, लैङ्गिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि उत्पीडन जीवितै छन् । समाजको मूल्यबोध र नैतिक प्रतिमान बदलिँदै छन् । आत्मिक जगत् जीवनविरोधी मूल्यहरूबाट आक्रान्त हुँदै छ । अराजकता, घृणा, विद्वेष, पाखण्ड, व्यभिचार झाँगिएका छन् । व्यक्तिवाद र उपभोक्तावादको डरलाग्दो तस्बिर अगाडि छ । सञ्चार प्रविधि निर्मित मायावी संसार, कामुकताको प्रवर्द्धन र आभासी यथार्थका कारण मानिसका दृष्टिहरू गम्भीर रूपमा प्रभावित छन् । मानिस प्रियतावाद र आत्ममुग्धताको पिँजडामा कैद हुँदै छ । आउँदा दिनमा यी अझ बढ्नेछन् । यी सबैको प्रतिवाद पनि हुनेछ तर मानिस यिनका अगाडि असहायजस्तै देखिन्छ । समकालीन नेपाली साहित्यमा यस यथार्थको अङ्कन आवश्यक छ । तर स्रष्टाहरू स्वयं पनि कुरूप यथार्थको प्रतिवादमा उत्रन सक्नुपर्छ ।
साहित्यका क्षेत्रमा पछिल्लो समय प्रियतावाद र सतहीपना बढेको छ । न समाजका बारेमा अपेक्षित गम्भीरता छ न त वैश्विक यथार्थप्रति नै । हामीलाई प्यालेस्टाइन दुख्दैन, संसारमा भइरहेका अन्यायपूर्ण युद्धहरू दुख्दैनन्, नवऔपनिवेशिक हस्तक्षेप र उत्पीडन दुख्दैन, पुँजीवाद र यसबाट निःसृत पीडाहरू दुख्दैनन्, हाम्रो आलोचनात्मक चेत भुत्ते हुँदै छ । हाम्रो संवेदना छिपछिपे हुँदै छ । साहित्यमा समाजको सजीव प्रतिविम्बनका दृष्टिले यी सबै बाधक छन् । साहित्यमा समाजको प्रतिविम्बन र यसको समाजपरक भूमिकाको जीवन्तताका निम्ति उपयुक्त दृष्टिसहित स्रष्टा समाजसँग गहिरो गरी जोडिन आवश्यक छ । परिवर्तनकारी जीवनदृष्टिविना साहित्यमा न समाजको जीवन्त प्रतिविम्बन सम्भव छ, न त भौतिक रूपमा स्रष्टाले उपयुक्त भूमिका नै सम्पादन गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान