हट्यो चितवन हुँदै राक्सिराङ पुग्नुपर्ने बाध्यता
_5pkETTx4dl.jpg)
मकवानपुर । चितवन हुँदै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडा जानु पर्ने बाध्यता हटेको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु सोझै मनहरीबाट हेटौंडा आउन सक्ने गरी सडक पूर्वाधार सञ्चालनमा ल्याइएको हो ।
हेटौंडा र गाउँपालिकाको केन्द्र चनैपुर आउन पनि राक्सिराङ–६, ७ र ८ का स्थानीयलाई चितवनको राप्ती नगरपालिकाको परेवाकोट वा भण्डारी हुँदै जानसपर्ने बाध्यताम रहेको थियो । मनहरी गाउँपालिका र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको लगानीमा दुई पालिका जोड्ने गरी सडक निर्माण गरेसंगै उक्त बाध्यता हटेको हो ।
मकवानपुर क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित सांसद समेत रहेका सभापति बानियाँ र मनहरी गाउँपालिकाले उक्त सडक निर्माणका लागि साझेदारी गरेका थिए । मनहरी–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो ट्रयाक खुलेपछि राक्सिराङका ३ वटा वडाका स्थानीयलाई सहज भएको हो ।
योसँगै लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका नागरिकको यात्रा १७ किलोमिटर छोटिएको हो । २०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा सभापति बानियाँले राक्सिराङका नागरिकले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिव ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराएका थिए । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन सक्ने अवस्था बनेको छ ।
शनिबार सभापति बानियाँसहित गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायतको उपस्थितिमा सो सडकको उद्घाटन गरेका छन् । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिबद्धता जनाए । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताए ।
‘आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउन पनि अन्य जिल्ला हुँदै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गराउन मैले पहल गरेर यो छोटो बाटो निर्माण गरेको हुँ,’ नेता बानियाँले भने –‘यो बाटोको अझ स्तरीकरण साथै एउटा मोटरेबल पुलको आवश्यकता रहेको छ । मेरै कार्यकालमा पुल पनि बनाउने हो ।’
यसअघि राक्सिराङ ६ को सिलिङ्गे, सिलाधुनी, राक्सिराङ–७ को दामराङ, घिराङ, चरिमारा र राक्सिराङ–८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्के लगायतका नागरिकाले भण्डाराबाट २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुईटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको वैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।
मनहरी ६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताए । हिउँदमा सडक सञ्चालन हुने अवस्था भएता पनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी ६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताको लागि सडक निर्माण भएको भन्दै प्रदेशसभा सदस्य बानियाँको प्रशंसा गरे । सबै नेता तथा जनप्रतिनिधिले बानियाँले झैँ काम गरे जनताको मुहारमा खुसी थप्न सकिने बताए ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सभापति बानियाँले व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने बताउँदै अध्यक्ष कालाखेतीले पक्की पुल निर्माणमा पनि बानियाँको पहलबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू
-
सान डिएगोमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
-
नेपाल पुलिस क्लब मकवानपुर महिला गोल्डकपको फाइनलमा