बेपत्ता भएको चार दिनपछि सोनार मृत भेटिए
वीरगन्ज । बेपत्ता भएको चार दिन पछि वीरगन्जका एक पुरुष बारामा मृत भेटिएका छन् । वीरगन्ज महानगरपालिका ३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार मृत अवस्थामा भेटिएका हुन् ।
बाराको प्रसौनी गाउँपालिकास्थित गण्डक नहरको किनारमा उनको शव फेला परेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरे ।
उनका अनुसार सोनार असोज २७ गतेदेखि वीरगन्जबाट बेपत्ता भएका थिए । बेपत्ता सोनारको खोजतलासका क्रममा आज बिहान उनको शव फेला परेको प्रहरी भनाइ छ ।
गण्डक नहरको त्रिवेणी पुल नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको बारा प्रहरीले जनाएको छ ।
फेला परेको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको बारा प्रहरीले जानकारी दिएको छ ।
सोनारको हत्या भएको हो वा हैन यसबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण