घरजग्गा कर, टहरा र सम्पत्तिलाई लिएर पूर्वसचिव खनाल विवादमा
सारांश
- नागार्जुन नगरपालिका र नेपाल कानून आयोगका पूर्वसचिव चिरञ्जीवी खनाल घरजग्गा कर तिरेको विषयमा विवादमा परेका छन् ।
- नगरपालिकाले कित्ता नं. ५८ र ५९ मा बनेका घर तथा टहराहरूको कर तिरेको अभिलेख नभएको बताए पनि खनालले आफूले नियमअनुसार कर बुझाउँदै आएको दाबी गरेका छन् ।
- खनालमाथि अस्वाभाविक सम्पत्ति आर्जन, कर छली र सरकारी बजेटको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति छानबिन आयोगमा उजुरी परेको छ ।
काठमाडौँ । नागार्जुन नगरपालिका र नेपाल कानून आयोगका पूर्व सचिव चिरञ्जीवी खनालबिच घरजग्गाको कर तिरेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
नागार्जुन नगरपालिका वडा नं. ४ का एक स्थानीयले मागेको सूचनाको जवाफ दिँदै नगरपालिकाले सीतापाइलास्थित कित्ता नं. ५८ र ५९ मा बनेका घर तथा टहराहरूको कर तथा राजस्व तिरेको कुनै अभिलेख नभएको बताएको छ । नगरपालिकाका सूचना अधिकारी सुनील आचार्यले हस्ताक्षर गरेको पत्रमा कित्ता नं. ६१ को मात्र कर तिरेको देखिएको उल्लेख छ ।
नगरपालिकाको उक्त दावीपछि पूर्व सचिव खनालले आफूले नियमअनुसार घर बहाल कर सम्बन्धित निकायमा बुझाउँदै आएको दावी गरेका छन् । उनले रातोपाटीसँग आफूले कर तिरेका प्रमाणहरू सम्बन्धित विभाग र अन्य निकायहरूमा समेत बुझाइसकेको बताएका छन् । 'मैले नियमित रूपमा कर तिरिरहेको छु । कसैलाई प्रमाण चाहिए मलाई भेट्न आउनुस्, म देखाउन तयार छु', उनले रातोपाटीसँग भने 'यदि नगरपालिकाले कर तिरेको छैन भन्छ भने, मैले तिरेको पैसा कहाँ गयो ? त्यसको खोजी हुनुपर्छ ।' उनले आफूले तिरेको राजस्व नगरपालिकाको ढुकुटीमा जम्मा नभएको भए त्यो गम्भीर छानबिनको विषय हुनुपर्ने समेत माग गरेका छन् ।
साथै खनालले ५८ र ५९ कित्तामा बनेको घर २०७२ सालमा भुकम्पका कारण ढलेको र पछि सोही कित्तामा टहरा निर्माण गरेको दाबी गरेका छन् । भूकम्पमा घर भत्किएपछि मेरो परिवार १५ दिन बाहिर सुत्यौँ । त्यसपछि बाँकी रहेको संरचनामा टेको दिएर मैले टहरा निर्माण गरेको हुँ । 'टहरा निर्माणको विषयमा नगरपालिकासँग अनुमति लिएको छु,' उनले भने, 'मैले गलत गरेको र एक रुपैयाँ पनि भ्रष्टाचार गरेको कसैले प्रमाणित गरेर देखाओस् कारबाही भोग्न तयार छु । तर, मेरो परिवार, मेरो छोराछोरी, मेरो भाइ र मेरो आफन्तको नाम जोडेर चरित्र हत्या गर्नु कति उचित हो ?'

स्थानीय र पूर्वसचिवको विवादपछि उनको सम्पत्ति र उनले बनाएको घर टहरा र संरचनाको विषयमा प्रश्न उठेको हो । पूर्वसचिव खनालले राजस्व छलि गरेको आशंकामा एक स्थानीय सूचना्को हक प्रयोग गर्दै नागर्जुन नगरपालिकासँग ६ वटा प्रश्न गरेका थिए । पहिलो प्रश्न खनालको जग्गा कित्ता नम्बर ५८, ५९ र ६१ मा बनेका घर तथा टहराहरूको नक्सा पास गरे/नगरेको विषयमा थियो । उक्त प्रश्नको जवाफमा नगरपालिकाले खनालले नागार्जुन नगरपालिका सीतापाइला वडा नं ५ कि.नं ५८ र ५९ नक्सा सिट नं १०२१०६१०२ मा बनेको घरको मिति २०७२/१०/२० गते अस्थायी टहरा निर्माण नियमित भएको अभिलेख देखिएको उल्लेख गरेको छ । साथै कि.नं ६१ सम्बन्धमा उल्लेखित जग्गामा देवकी खनालको नाममा मिति २०७५/०१/२० गते भवन निर्माण सम्पन्न भएको अभिलेख देखिएको जवाफ दिएको छ ।
ती निवेदकले दोस्रो प्रश्नमा घर तथा अगाडि बनेका टहराहरूको कर तथा राजस्व तिरेको वा नतिरेको विषयमा प्रश्न गरेका थिए । नगरपालिकाले सीतापाइला वडा नं ५ कि.नं ५८, ५९ र ६१ नक्सा सिट नं १०२१०६१०२ मा रहेको जग्गामा बनेको घर तथा घर अगाडि बनेको टहराहरूको कर तथा राजस्व तिरेको वा नतिरेको विषयमा कार्यालयको अभिलेख अनुसार कित्ता नं ६१ को मात्र कर तथा राजस्व तिरेको देखिएको पत्रमा उल्लेख छ ।

तेस्रो प्रश्न सडक मापदण्ड विपरित (सीतापाइला-धार्के सडक खण्ड) नक्सा पास नगरी निर्माण गरिएको विषयमा थियो ।
नगरपालिकाको जवाफमा नागार्जुन नगरपालिका सीतापाइला वडा नं ५ कि.नं ५८ र ५९ नक्सा सिट नं १०२१०६१०२ मा रहेको जग्गामा बनेको घर तथा घर अगाडि बनेको टहराहरू सीतापाइला धार्के सडक खण्डको सडक मापदण्ड भित्र नक्सा पास गरे नगरेको सम्बन्धमा यस कार्यालयको अभिलेख अनुसार नगरपालिकाबाट ११ मिटर मापदण्ड भित्र नक्सा पास भएको उल्लेख छ ।
त्यस्तै चौथो प्रश्नमा आफ्नै भाइ पुरुषोत्तम केसीको नाममा जग्गा किन्न लगाई फेरि आफ्नै नाममा खरिद गरेको समयको चार किल्ला सिफारिस र कर के कति तिरेको छ भनी नगरपालिकासँग जवाफ माग भएको थियो । नगरपालिकाले उक्त अभिलेख वडा कार्यालयमा नै हुने भएको हुँदा वडा नं ५ बाटै उक्त अभिलेख लिनुपर्ने देखिन्छ भनी जवाफ लेखेको छ ।
साथै सूचनाको हक प्रयोग गर्दै नगरपालिकालाई पाँचौ प्रश्नमा २०६० साल देखि आफ्नो वा परिवारको नाममा घर जग्गा खरिद विक्री गर्दा तिरेको राजस्व सम्बन्धमा सोधिएको थियो । नगरपालिकाले भने उक्त अभिलेख कार्यालयसँग नभएको जवाफ दिएको छ । छैटौँ प्रश्नमा २०६० साल देखि बजार मूल्य भन्दा कममा खरिद विक्री गरी राजस्व छली गरेको सम्बन्धमा थियो । उक्त प्रश्नको जवाफमा नगरपालिकाले अभिलेख नभएको जवाफ दिएको छ ।
अख्तियारदेखि सम्पत्ति छानबिन आयोगसम्म उजुरी
खनालविरुद्ध अस्वाभाविक सम्पत्ति आर्जन, कर छली र सरकारी बजेटको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि सम्पत्ति छानबिन आयोगमा उजुरी दर्ता भएको छ । २०८३ असार १२ गते दर्ता गरिएको उक्त उजुरीमा खनाल र उनको परिवारका नाममा रहेको चल-अचल सम्पत्तिको स्रोतमाथि गम्भीर प्रश्न उठाइएको छ ।

नागार्जुन नगरपालिका वडा नं. ५ मा रहेको एक घर अगाडिको टहरालाई घरायसी प्रयोजनमा दर्ता गरी व्यावसायिक रूपमा भाडामा लगाएको उजुरीमा उल्लेख छ । मासिक २ लाख रुपैयाँ भाडा बुझ्ने गरे पनि १० प्रतिशत बहाल कर नतिरी वि.सं. २०७२ देखि हालसम्म करिब २५ लाख रुपैयाँ कर छली गरेको दाबी गरिएको छ ।
त्यस्तै खनालले नागार्जुन-५ कै जग्गाहरू बिक्री गर्दा वास्तविक बजार मूल्यभन्दा निकै कम मूल्य देखाएर लिखत पारित गरी राज्यलाई बुझाउनुपर्ने रजिस्ट्रेसन शुल्क र पूँजीगत लाभकर छली गरेको आरोप लगाइएको छ । पूर्व सचिव खनालका छोराछोरीलाई विदेशका महँगा शैक्षिक संस्थामा पढाउँदा भएको खर्च र उनको घोषित आयस्रोतबीच मेल नखाएको उजुरीकर्ताको जिकिर छ । विशेष गरी अष्ट्रेलियामा रहेका उनका आफन्त, छोरी र ज्वाइँमार्फत अवैध आर्थिक कारोबार र रकम स्थानान्तरण गरिएको हुनसक्ने आशंका गर्दै बैंक खाता र लगानी छानबिन गर्न माग गरिएको छ ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ को शहरी विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रमअन्तर्गत 'विश्वमित्र ऋषि सामुदायिक भवन निर्माण' का लागि विनियोजित बजेट खनालको प्रभावमा परी उनको निजी जग्गामा 'कुलानन्द गुठी' को नाममा भवन बनाउन प्रयोग गरिएको आरोप छ ।
सीतापाइला-धार्के सडक खण्डमा सडकको ३१ मिटर मापदण्ड मिचेर स्थायी संरचना निर्माण गरिएको र यसले सार्वजनिक सम्पत्तिको अतिक्रमण गरेको उजुरीमा उल्लेख छ ।
निवेदकले खनाल सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्ति, बैंक मौज्दात, शेयर लगानी र व्यावसायिक संलग्नताको कानूनी स्रोत छानबिन गर्न माग गरेका छन् । भ्रष्टाचार निवारण र सुशासनका सिद्धान्त अनुसार खनाल र उनको परिवारका सदस्यहरूको आय र खर्चको विस्तृत अध्ययन गरी दोषी देखिएमा प्रचलित कानून बमोजिम कारबाही र बिगो असुल उपर गर्न आयोगसमक्ष अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
-
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस
-
अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण