‘ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रहितका प्रश्नमा कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौँमा गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतले नाकाबन्दी गरेका बेला आफूले चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गरे ।
साथै उनले त्यस कदमले राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न भएको र त्यो राष्ट्रिय सुरक्षाको किल्ला भएको दाबी समेत गरे ।
‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरूको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ अघि बढेका छौँ’, प्रधानमन्त्रीले भने, ‘सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी सामना गर्दा आफू सरकारबाहिर पुगेपनि निर्वाचनको माध्यमबाट मूल ढोकाबाटै सरकारमा पुन आएको बताए ।
‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि’, उनले भने, ‘एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’
हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।
साथै उनले आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै भने, ‘भाडामा खटाइएकाहरूले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको भन्दै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ, चुट्छौँ, मार्छाै, काट्छौँ भन्ने छाडातन्त्र सह्य नहुने चेतावनी दिए ।
उनले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने पनि बताए ।
सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरूलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको भन्दै उनले सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए ।
आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण