शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको व्यवहार ‘ध्रुवे हात्तीजस्तो’, हालत चाहिँ ‘भिजेको बिरालो’ जस्तो छ : प्रभु साह

शुक्रबार, २३ कात्तिक २०८१, १३ : ३२
शुक्रबार, २३ कात्तिक २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन् । साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको बिरालो’ जस्तै देखिएको टिप्पणी गरे ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रवार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा सांसद साहले प्रधानमन्त्री ओलीको व्यवहार अराजकता र पाइला अधिनायकवादतर्फ लम्किएको टिप्पणी गरेका छन् । जनताले शान्तिपूर्ण आन्दोलन विरोध गर्दा प्रहरी प्रशासन लगाएर दमन गर्ने र युवाहरूले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतङ्कित पार्ने कार्य नै अलोकतान्त्रिक भएको साहको भनाई छ ।

उनले दशरथ रङ्गशालामा हालै सम्पन्न महिला साफ च्याम्पियनको फाइनल खेलमा युवाहरूले केपी ओलीको नाम लिएर नाराबाजी गर्नेहरूलाई प्रहरीले निगरानी गरेको विषयमा यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा बोलेको विषयलाई लिएर जापानमा अध्ययनरत एक जना नेपाली युवालाई इन्टरपोल लगाएर नेपाल भित्र्याउनेसम्मको तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहको भनाई छ । उनले भने, ‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओज बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ ।’

प्रधानमन्त्री ओलीले जनस्तरबाट भएको आलोचनासमेत पचाउन नसकेको साहको आरोप छ । उनले भने, ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएको केपी ओलीले नागरिकस्तरबाट सरकारको आलोचना हुँदा सहन नसक्नु गम्भीर गल्ती हो । जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु अराजकता हो । उहाँको व्यवहार त एक ताका चितवनको सडकमा वितण्डा मच्चाउँदै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो । यो व्यवहार उहाँले सच्याउनुपर्छ । नत्र जनताले उहाँलाई ठेगान लगाउनेछन् ।’ 

साहले कांग्रेसको वैशाखीमा सत्ता–यात्राको रोमान्समा भुलिँदै ‘जनता केही पनि होइन’ भन्ने नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिए । पूर्वमन्त्री साहले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरे । ‘यो सरकार बन्दै गर्दा के के नै गर्छौं भनेर कांग्रेस र एमालेका नेताहरूले ठुलो कुरा गर्नुभयो, तर अहिले व्यवहारमा हेर्नुहोस् त देशको हालत झनै खस्कियो, जनतामा निराशा पैदा भएको छ । भ्रष्टाचार मौलाएको छ । बेथितिको चाङ लागेको छ’ उनले भने ।

सरकार आन्तरिक रूपमा मात्रै नभएर बाह्य सम्बन्ध सन्तुलित राख्नसमेत असफल भएको उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री ओलीभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा परराष्ट्रमन्त्री आरजु राणा नै बढी हाबी देखिएको कुरा प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा संयन्त्र बनाएर मन्त्री राणालाई दिइनुले पनि स्पष्ट पारेको बताए । साहले प्रधानमन्त्री ओलीलाई भारत, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रले कुनै महत्त्व नै नदिएको आरोप लगाए ।

भारतले भाउ नदिएपछि प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा चीन भ्रमणको गृहकार्यमा रहेको भए पनि अहिलेसम्म आफ्नो चीन भ्रमणबारे मुख नखोल्नुले भ्रमण नै हुने वा नहुनेमा शङ्का रहेको पनि उनको टिप्पणी छ । उनले भने, ‘उहाँले परराष्ट्र मामिलालाई पनि खेलाँचीको रूपमा लिनुभयो । यतिवेला उहाँको नजर बेइजिङतिर छ, तर कान चाहिँ नयाँ दिल्लीतिर थाप्नुभएको छ ।’ 

उनले सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसको कारण प्रधानमन्त्री ओली खुम्चिएर र बाँधिएर चल्नुपरेको भन्दै हालत भिजेको बिरालोजस्तो देखिएको टिप्पणी गरे ।

उनले भने, ‘प्रधानमन्त्री ओली दुई तिहाइको धाक पनि लगाउनुहुन्छ, अनि गर्न चाहिँ केही पनि सक्नुहुन्न । कांग्रेसको खटनपटनमा हिँड्नुपरेको छ । यस्तो उकुसमुकुसमा नबस्नुहोस्, बरु राजीनामा दिएर देशलाई निकास दिनुहोस् । त्यसमा नै देश र जनताको अनि तपाईंकै पार्टी एमालेको पनि भलो हुन्छ । जति ढिलाइ गर्नुहुन्छ, त्यति नै देशले क्षति व्यहोर्ने हो । यसबारे गम्भीर भएर सोच्न आग्रह गर्न चाहन्छु ।’

साहले प्रधानमन्त्रीको रूपमा ओलीको निरन्तरताले कांग्रेसलाई पनि गम्भीर क्षति हुने विश्लेषण सुनाए । सरकार सबै मोर्चामा असफल भइसक्दा र जनतामा निराशा चुलिएको बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको एक सय दिनलाई सफल मान्नु ‘एमालेसँगै कांग्रेस पनि सती जानु’ भएको टिप्पणी गरे । उनले भने,‘कांग्रेसजस्तो लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने पार्टी केपी ओलीको पिछलग्गु बनेको देख्दा मलाई आश्चर्य लागेको छ । कांग्रेसले आफ्नो ओरालो यात्रा रोक्नको लागि पनि एमालेसँगको सहकार्यबारे अब समीक्षा गर्न आवश्यक छ ।’

राष्ट्रको आर्थिक अवस्था दिनप्रतिदिन खस्किँदै जाँदा पनि सरकारको नेतृत्वकर्तालाई कुनै चिन्ता नहुनु भनेको देशलाई असफल राष्ट्र बनाउन खोज्नु भएको उनको टिप्पणी छ । कांग्रेस–एमालेको सरकार रहेसम्म देशमा काण्ड थपिने र देशलाई पछि धकेल्नेबाहेक अरू काम हुनै नसक्ने उनको ठोकुवा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप