शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद

बिहीबार, १३ मङ्सिर २०८१, १६ : २४
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जिसन मक्सुद नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायतले स्वागत गरे ।

उनले ओमानको लागि ४८ एकदिवसीयमा कुल एक हजार दुई सय ७३ रन बनाएका छन् । उनले ७३ टी–२० खेलमा कुल एक हजार तीन सय ६९ रन बनाएका छन् । यसका अतिरिक्त उनले बलिङतर्फ टी–२० अन्तर्राष्ट्रियमा ५१ विकेट पनि लिएका छन् ।

उनी नेपाली क्रिकेटसँग नजिकबाटै परिचित पनि छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गतसाता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।

कर्णाली याक्सले टोलीमा वेस्ट इन्डिजबाट टेस्ट क्रिकेट खेलिसकेका चाडविक वाल्टन, हङ्कङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रम सिंह ठकुरी, दीपक डुम्रे र विपिनप्रसाद शर्मा रहेका छन् ।

कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप