स्ववियुको ऐतिहासिक भूमिका र वर्तमान अवस्था

स्ववियु निर्वाचन २०८१ काे कार्य तालिका समेत सार्वजनिक भइसकेको छ । त्रिविले जारी गरेको निर्वाचन कार्यविधि २०८१ का सन्दर्भमा विद्यार्थी सङ्गठनहरूबाट त्रिवि सिनेट र त्रिवि विद्यार्थी कल्याणमा प्रतिनिधित्व गर्ने सभापतिहरूका विमतिहरू समेत निरूपण भइसकेको र सङ्गठनहरू दर्ता गर्ने काम पनि सम्पन्न भइसकेको अवस्थामा निर्वाचन निर्बाध रूपमा हुने कुरा अब आशंका रहेन।
स्ववियु दशकौँदेखि नेपालको राजनीतिक र शैक्षिक परिदृश्यको अभिन्न अङ्ग रहेको छ । यसले देशको राजनीतिक चेतनालाई आकार दिन, विद्यार्थी अधिकारको वकालत गर्न र बृहत् शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनहरूमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । वर्तमान सन्दर्भमा, जहाँ नेपाली विद्यार्थी आन्दोलनले असङ्ख्य चुनौतीहरूको सामना गरिरहेको छ । बलियो र स्वतन्त्र, स्ववियुको आवश्यकता पहिलेभन्दा वर्तमान अवस्थामा अझ बढिरहेको छ।
समयमै स्ववियु निर्वाचन सम्पन्न नहुने मात्रै होइन स्ववियु र विद्यार्थी संघ/ सङ्गठनहरू नै जरुरी छैन भन्ने मिसनरीहरू गौरवपूर्ण आन्दोलनको इतिहास र वर्तमान माथि धावा बोल्न कुचेष्टा समेत गरिरहेकाले स्ववियुको इतिहास, यसको महत्त्व र वर्तमान नेपाली विद्यार्थी आन्दोलनमा यसको आवश्यकता , महत्त्वबारेमा गहन अध्ययन र बहससँगै यसको सार्थकता स्ववियु निर्वाचन द्वारा नै उत्तरित गर्न जरुरी छ
- पृष्ठभूमि
स्ववियु जस्तो गरिमामय संस्थाको उदय नेपाली राजनीतिमा पञ्चायती व्यवस्थाको प्रादुर्भावपछि राजनैतिक दलहरूमा प्रतिबन्ध हुँदा समाजको एक सशक्त चेतनशील वर्ग मानिने विद्यार्थी संगठनहरुलाई प्रतिकूल रूपमा प्रभावित गरेको पृष्ठभूमिमा भएको छ। विश्व भरिकै हरेक तानाशाहहरुको चरित्र एवम् प्रवृत्ति एकै हुने हुनाले देशका पञ्चायती शासकहरू पनि विद्यार्थी वर्गलाई कसरी आफ्नो कठपुतली बनाई सरकारी नियन्त्रणमा राख्ने भन्ने दिवा स्वप्निलबाट उनीहरू चैनको निद्रा लिन सकिरहेको अवस्था थिएन । यदि आफ्नो नियन्त्रणमा लिन नसके विद्यार्थी शक्तिलाई विखण्डित बनाई विद्यार्थी शक्तिको प्रभावहरूलाई गलत दिशामा मोड्न अहोरात्र प्रयासरत थिए ।
२०१७ साल पौष १ गतेको फौजी काण्डले सम्पूर्ण राजनीतिक दलहरूमा संवैधानिक प्रतिबन्ध लगाएको घोषणा भए तापनि विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाएको घोषणा गर्ने धृष्टता भने गर्न सकिरहेको थिएन । नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन वामपन्थी विद्यार्थी सङ्गठन र ने. छा. सं. नेपाली कांग्रेस समर्थक विद्यार्थी अधिकांश नेताहरू जेल परेका हुनाले अन्य विद्यार्थी सङ्गठनहरू निष्क्रिय रहेका कारण पञ्चायती शासकले विद्यार्थी संघ संगठनहरुलाई पनि प्रतिबन्धित भएको घोषणा गरे ।
कसरी संघ संस्थाहरूलाई पञ्चायती नियन्त्रणमा लिई व्यवस्था विरोधी गतिविधिहरू गर्नमा रोक लगाउने भन्ने उद्देश्यले 'राष्ट्रिय निर्देशन ऐन' को तर्जुमा भयो । अब राष्ट्रिय निर्देशन ऐन अनुसार सरकारको पूर्ण जानकारी र निगरानीमा जम्मा सात (७) किसिमका मात्र वर्गीय सङ्गठनहरूको गठन गर्न पाइने बनाइयो । ती सङ्गठनहरू मध्य विद्यार्थी सङ्गठन एक थियो।
सङ्गठनहरूको गतिविधिहरूलाई नियन्त्रण गर्न एक छुट्टै राष्ट्रिय निर्देशन मन्त्रालय समेत स्थापना भयो । संघसंगठनहरू स्वतन्त्र रूपले खोल्न वा सञ्चालन गर्न पूर्णत: निषेधित गरियो । त्यसरी कुनै पनि संघसंगठनहरूको आफ्नो वर्गीय हितलाई स्वतन्त्र एवम् निष्पक्ष भई कार्य सञ्चालन गर्न पाउने नैसर्गिक अधिकारलाई पनि कुण्ठित गरी सरकारले निर्देशन ऐनको साङ्गलोले मानव स्वतन्त्रताको पखेटालाई बाँध्न खोजियो। पञ्चायती व्यवस्थाको संरचनाबाट नै राष्ट्रिय निर्देशन ऐन जस्ता काला कानुनहरूको सुनियोजित षडयन्त्रका माखे तानाबानाहरू बुनिँदै गए ।
पञ्चायती काला कानुनहरूको जोडदार विरोधमा अरू सबै वर्गभन्दा सशक्त रूपमा ती जुझारु विद्यार्थीहरू नै अग्रपंक्तिमा आए। यही विन्दुदेखि नेपाली विद्यार्थी आन्दोलनको गौरवमय इतिहासमा नयाँ पृष्ठभूमिबाटै नवीन क्रान्तिकारी अध्यायको थालनी भएको छ । यसपछिको विद्यार्थी आन्दोलन नेपाली युवा विद्यार्थीहरूको गौरवपूर्ण संघर्षले भरिपूर्ण छ । त्यही निर्देशन ऐनको विरुद्ध विद्यार्थीहरुले ऐक्यबद्धता देखाउँदै स्वतस्फूर्तरुपले चलेको विद्यार्थी आन्दोलन नै "स्वतन्त्र विद्यार्थी आन्दोलन" नामले प्रख्यात छ । वामपन्थी विद्यार्थीहरूले 'अनेरास्ववियू' को स्थापना र प्रजा-तन्त्रवादी विद्यार्थी अलग सङ्गठन हुन पूर्व एउटै स्वतन्त्र विद्यार्थी आन्दोलनको परिभाषा भित्र रहेर पञ्चायती व्यवस्थाको विरुद्ध लडेका इतिहास छ। समष्टिमा २०१७ सालदेखि २०२६ सालसम्मको विद्यार्थी आन्दोलनको अवधिलाई 'स्वतन्त्र विद्यार्थी आन्दोलन थियो । जसले स्ववियुकाे स्थापना र कार्यान्वयनका बलियो जग स्थापना गरेको छ। आन्दोलनका घटनाक्रममा विद्यार्थी आन्दोलनले पञ्चायती शासकलाई घुँडा टेकाउँदै सफलतापूर्वक अगाडि बढिरहेको अवस्थामा विद्यार्थीहरुकाे शैक्षिक र वर्गीय हकहित एवं समस्याहरूलाई संगठित रूपमा मुखरित गर्न विद्यार्थी युनियनलाई माध्यम मात्र नबनाई आम नेपाली जनताको प्रजातान्त्रिक अधिकारको लागि पञ्चायती शासक विरुद्ध लड्ने युद्ध मोर्चाको रूपमा रह्यो जसका कारण २०३० सालमा स्ववियु विद्यार्थीहरुकाे हातबाट खोसियो , निरङ्कुशता लादियो । विद्यार्थीहरूले स्ववियु खोल्न पाउने पूर्ण अधिकार २०३५/३६ सालको आन्दोलनबाट मात्रै पूर्णरुपमा सफलता हासिल गरे ।
२०३६ साल ज्येष्ठ १ गते त्रिभुवन विश्वविद्यालयले एउटा सूचना प्रकाशन गरी विद्यार्थीहरुकाे माग अनुसार गठन हुने क्याम्पस विद्यार्थी युनियनको निर्वाचन २०३६ ज्येष्ठ १३ देखि हुने भन्ने निर्धारण गर्यो । ज्येष्ठ १ गतेको त्रिभुवन विश्वविद्यालयका विज्ञप्तिमा क्याम्पस विद्यार्थी युनियन भनिएता पनि विद्यार्थीहरूले त्यसलाई लिखित र घोषित रूपमा स्वतन्त्र विद्यार्थी युनियनको रूपमा उल्लेख र अभ्यास गर्दै गए र स्ववियु स्थापित गरेरै छाडे। स्ववियु निर्वाचन २०३७ मंसिर २४ गते त्रिवि कीर्तिपुरमा सम्पन्न भएको थियो।३०३७ सालको स्ववियुको निर्वाचन विद्यार्थी आन्दोलनको ऐतिहासिक र अर्थपूर्ण उपलब्धि हो ।
२०३७ देखि २०६५ सम्म हरेक दुई /दुई वर्षमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । २०६५ मा अखिल (क्रान्तिकारी ) का तत्कालीन महासचिव हिमाल शर्मा त्रिवि केन्द्रीय क्याम्पसमा सभापति निर्वाचित हुनु भयो र अखिल (क्रान्तिकारी)ले स्ववियुमा वास्तविक विद्यार्थीहरुको प्रतिनिधित्व हुनुपर्ने, स्ववियु पूर्ण समानुपातिक हुन पर्ने एजेन्डा उठायो जसका कारण त्रिविले २८ वर्षे उमेर हद लगाउने र मिश्रित निर्वाचन प्रणाली कायम गर्ने निर्णय गर्यो । अखिल(क्रान्तिकारी ) को नेतृत्वमा स्ववियुका सन्दर्भमा भएको नयाँ निर्णयले एउटा आइस ब्रेक गर्यो , वास्तविक विद्यार्थीहरूले नै स्ववियुकाे नेतृत्व गर्न पाउने र मिश्रित निर्वाचन प्रणालीको कारण कोही कसैको एकलौटी प्रतिनिधित्व नभई सबैको विद्यार्थीहरुको साझा संस्थाको रूपमा स्ववियु स्थापित गर्न थप सफलता प्राप्त भयो । स्ववियुका सन्दर्भमा भएको नयाँ व्यवस्थाका कारण केही परम्परावादी संगठनहरुमा केही अन्यौलता अकर्मण्यता देखा पर्यो । जसका कारण लामो समय स्ववियु निर्वाचन नै अवरुद्ध जस्तै भयो २०७३ मा देशभर आंशिक क्याम्पसहरूमा मात्रै स्ववियु सम्पन्न हुँदा स्ववियुकाे औचित्य माथि नै प्रश्न उठ्ने खतरा बढ्यो तर २०७९/८० को निर्वाचनमा अखिल(क्रान्तिकारी ) लगायत विद्यार्थी सङ्गठनहरूको स्ववियु नियमित रूपमा सम्पन्न गर्ने साझा सङ्कल्पका कारण आज स्ववियु निर्वाचनको फेरि पनि वातावरण बनेको छ। समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न पहिलो विद्यार्थी सङ्गठनहरू र त्रिवि प्रशासन इमानदार हुँदा स्ववियु नियमित हुन्छ भन्ने मानक समेत स्थापित भइसकेको अवस्थामा चैत्र ५ गते तोकिएको स्ववियु निर्वाचन सम्पन्न गर्न थप इमानदार र प्रतिबद्ध रहनुको विकल्प छैन । तर सत्ताको चरम दुरुपयोग र स्ववियु सेवाेटेज गर्ने खतराप्रति भने सचेत रहँदै खबरदारी गर्दै स्वतन्त्र ,निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन सम्पन्नताकाे भूमिका परिवर्तन प्रेमी विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने दायित्व आएको छ ।
- स्ववायु निर्वाचनको आवश्यकता
नेपाली विद्यार्थी आन्दोलनको वर्तमान परिस्थितिमा धेरै चुनौतीहरू छन् जसले बलियो र स्ववियुको आवश्यकतालाई पहिले भन्दा बढी जरुरी बनाएको छ। विश्वविद्यालयमा भएको राजनीतिक हस्तक्षेप, शिक्षाको व्यापारीकरण र विद्यार्थी आवाजको सिमान्तीकरण लगायतका मुद्वाहरु मुख्य छन् ।आज विद्यार्थी आन्दोलनले सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये विश्वविद्यालयको बढ्दो राजनीतिकरण हो। हालका वर्षहरूमा, भएका प्राज्ञिक नियुक्तिहरू राजनीतिक दलहरूबाट धेरै प्रभावित हुने स्वतन्त्र , निष्पक्ष र राजनीतिक पूर्वाग्रह रहित प्राज्ञिक सेवा विद्यार्थीहरुकाे चाहना हो तर विश्वविद्यालयजस्तो गरिमामय संस्थाकाे नेतृत्व एउटा पार्टीको दायरा भन्दा माथि उठ्न सकेको अवस्था छैन । नेपाल जस्तो देशमा, जहाँ शिक्षा प्रणालीले अपर्याप्त पूर्वाधार, स्रोतसाधनको अभाव र विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप लगायत असङ्ख्य चुनौतीहरूको सामना गरिरहेको छ, विश्वविद्यालयहरू ज्ञानको केन्द्र , अनुसन्धानको केन्द्र , रोजगारको केन्द्र हुन पर्ने ठाउँमा राजनीतिक भागबन्डाको केन्द्र भइरहेका छन् जुन थिति बदल्न, स्ववियुले सरकार र शैक्षिक संस्थाहरूलाई जबाफदेही बनाउन आवश्यक छ ।
पछिल्लो समय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) नेतृत्वको सरकारले विश्वविद्यालयमा लिएको मेरिटाेक्रेसीकाे नीति समेत पछिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यान्वयन गरिरहेको छैन यस्ता व्यवहार र कार्यशैलीले विद्यार्थीमा व्यापक वितृष्णा पैदा गरिरहेको छ । यी सीमाहरू अन्त्य गर्न स्ववियुकाे गरिमा कायम राख्दै वर्तमान परिस्थितिमा सही नेतृत्व प्रदान गर्न , विश्वविद्यालयलाई सही दिशा दिन पनि स्ववियुकाे आवश्यकता त्यत्तिकै छ।
शिक्षाको व्यापारीकरण विद्यार्थी आन्दोलनले सामना गरिरहेको अर्को प्रमुख चुनौती हो । नेपालमा, शिक्षा क्षेत्र बढ्दो रूपमा व्यापारिक केन्द्र बनेको छ, निजी संस्थाहरूले अत्यधिक शुल्क लिने र गुणस्तरीय शिक्षा भन्दा नाफालाई प्राथमिकता दिने भएकाले, यसले कम आय भएका पृष्ठभूमिका विद्यार्थीहरूलाई सीमान्तकृत गरेको छ, जो प्रायः शिक्षाको उच्च लागत वहन गर्न असमर्थ छन् । सबैका लागि निःशुल्क,गुणस्तरीय र पहुँचयोग्य शिक्षाको वकालत गर्न र निजी शिक्षाको नियमन र खबरदारी गर्न जरुरी छ।
यसबाहेक, निर्णय प्रक्रियाहरूमा विद्यार्थी आवाजहरूको सीमान्तीकरण अर्को महत्त्वपूर्ण मुद्दा हो। धेरै अवस्थामा, विद्यार्थीहरूलाई उनीहरूको शिक्षा र भविष्यलाई प्रत्यक्ष रूपमा असर गर्ने छलफल र निर्णयहरूबाट वञ्चित गरिन्छ । यी मामिलाहरूमा विद्यार्थीहरूको आफ्नो अधिकार सुनिश्चित गर्न र नीति निर्माताहरू र शैक्षिक संस्थाहरूलाई विद्यार्थीहरू प्रति जबाफदेही र उत्तरदायी बनाउँदै सर्वसुलभ शिक्षामा विद्यार्थीहरुकाे पहुँच सुनिश्चितता गर्नु पर्नेछ।
यी चुनौतीहरूका अतिरिक्त, नेपालको वर्तमान राजनीतिक अस्थिरता र अनिश्चितताले ग्रसित छ। हालैका वर्षहरूमा देशले सङ्घीय शासन प्रणालीको स्थापना र नयाँ संविधान अपनाउने जस्ता महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू सुनिश्चित गरेको छ। जसमा शैक्षिक अधिकारलाई संविधानमै मौलिक अधिकारको रूपमा सुचीबद्ध गरेको छ । जसको कार्यान्वयन पनि विद्यार्थी संघसंगठनहरुकाे प्रमुख दायित्व हो । यी परिवर्तनहरूले विद्यार्थी आन्दोलनको लागि अवसर र चुनौती दुवै सिर्जना गरेका छन् । राजनीतिक प्रक्रियामा विद्यार्थीहरू सीमान्तकृत नहोउन् र नीति निर्माताहरूले उनीहरूको चासोलाई सम्बोधन गरून् भन्ने कुरा सुनिश्चित गर्न स्ववियुले भूमिका निर्वाह गर्नु पर्नेछ। जसले सबै विद्यार्थीहरूको हितलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सकोस् ।
- स्ववायु निर्वाचनको महत्त्व
स्ववियु धेरै कारणहरूले महत्त्वपूर्ण छ । स्ववायु जसले विद्यार्थीहरूको राजनीतिक सामाजिकीकरणमा योगदान पुर्याउँछ। विद्यार्थी संगठनहरूमा संलग्न भएर युवाहरूले लोकतान्त्रिक प्रक्रियाहरू, नेतृत्व र सामूहिक कार्यको महत्त्वको बारेमा अभ्यस्त हुन्छन् । यो राजनीतिक शिक्षा लोकतान्त्रिक समाजको विकासको लागि र राजनीतिमा नयाँ पुस्ताको आगमनको महत्त्व बोकेको छ, किनकि यसले राजनीतिक प्रक्रियामा भाग लिन सक्षम हुने परिपक्व र योग्य नेतृत्व निर्माणमा मद्दत गर्दछ। त्यसैले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनीतिक रूपमा मिनी जनमत सङ्ग्रहको रूपमा परिभाषित गरिएको छ। जहाँ प्रमुख दलहरूको नयाँ पुस्तामा प्रभाव र जनमतको अवस्था कस्तो रहेको भन्ने जस्ता निष्कर्ष समेत निकाल्ने गरिएको छ। साथै स्ववियुलाई भविष्यमा शासन सत्ताको बागडोर सम्हाल्ने नेता उत्पादनको नर्सरीको रूपमा पनि लिइएको छ । नयाँ सन्दर्भ र परिस्थितिमा झन् यसको महत्त्व बढी रहेको छ।
स्ववायु ऐतिहासिक रूपमा नेपालमा व्यापक सामाजिक र राजनीतिक आन्दोलनहरूको पछाडि एक प्रेरक शक्तिको रूपमा रहेको छ। विद्यार्थी संगठनहरूले लोकतन्त्र, सामाजिक न्याय , मानवअधिकार र शैक्षिक परिवर्तनको वकालत गर्न प्रमुख भूमिका खेलेका छन्। परिवर्तनशील विद्यार्थीहरू अधिनायकवादी शासन, भ्रष्टाचार र असमानता विरुद्धको विरोधको अग्रपंक्तिमा रहेका इतिहास छ। यस अर्थमा, स्ववायु केवल एक विद्यार्थीहरुकाे साझा संस्था मात्र होइन; यो नेपालको आमूल परिवर्तनको एक महत्त्वपूर्ण नेतृत्वदायी अङ्ग हो।
वर्तमान अवस्थामा पनि स्ववियुको महत्त्व झनै बढेको छ किनभने यसले विद्यार्थीहरूलाई आलोचनात्मक चेत र बहसमा संलग्न हुने प्लेटफर्म प्रदान गरिरहेको छ । द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा, जहाँ युवाहरू विश्वव्यापी प्रभावहरूको सामना बढ्दै गइरहेको छ ,स्ववियुले विद्यार्थीहरूलाई उनीहरूको जीवन र देशलाई असर गर्ने मुद्दाहरूमा छलफल र विश्लेषण गर्न प्लेटफर्म प्रदान गरिरहेको छ। यो बौद्धिक संलग्नता जीवन्त र गतिशील समाजको विकासको लागि महत्त्वपूर्ण छ।
- निष्कर्ष
नेपालमा स्ववियुको गौरवशाली र ऐतिहासिक इतिहास छ, र यसले देशको राजनीतिक र शैक्षिक परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। शैक्षिक सुधारको लागि प्लेटफर्मको रूपमा प्रारम्भिक दिनहरूदेखि व्यापक सामाजिक र राजनीतिक आन्दोलनहरूमा यसको संलग्नतासम्म, स्ववायु परिवर्तनको लागि एक शक्तिशाली केन्द्रको रूपमा स्थापित भएको छ। वर्तमान सन्दर्भमा, जहाँ नेपाली विद्यार्थी आन्दोलनले असङ्ख्य चुनौतीहरूको सामना गर्न पनि बलियो र स्वतन्त्र स्ववियुको आवश्यकता पहिलेभन्दा बढी महत्त्वपूर्ण छ।स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूलाई आफ्ना चिन्ताहरू व्यक्त गर्न, आफ्ना अधिकारहरूको लागि वकालत गर्न र राजनीतिक सामाजिकीकरणमा संलग्न हुन प्लेटफर्म प्रदान गरिरहेको छ। यो नेपालको राजनीतिक र शैक्षिक परिवर्तनको एक महत्त्वपूर्ण अङ्ग पनि हो, जसले लोकतन्त्र, सामाजिक न्याय , शैक्षिक परिवर्तन र मानव अधिकारको लागि व्यापक सङ्घर्षमा योगदान पुर्याउँछ। राजनीतिक हस्तक्षेप, शिक्षाको व्यापारीकरण र विद्यार्थी आवाजको सीमान्तीकरणको सामना गर्दै, स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको अधिकार र हितको लागि लडिरहनुपर्छ ।
नेपालले आफ्नो जटिल राजनीतिक परिदृश्यमा निरन्तर परिष्कृत गर्दै जाँदा, स्ववायु विद्यार्थीहरूको सशक्तीकरण र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनको लागि एक आवश्यक संस्था रहनेछ। विद्यार्थी सङ्गठनहरूको सामूहिक कार्य मार्फत नै युवाहरूको आवाज सुन्न सकिन्छ, र अर्थपूर्ण परिवर्तन हासिल गर्न सकिन्छ। स्ववायु केवल एक विद्यार्थी सङ्गठन मात्र होइन; यो सबै नेपालीहरूको लागि उज्ज्वल र अधिक समतामूलक भविष्यको लागि आशाको किरण हो। यसका लागि नियमित र समय भित्रै स्ववायु निर्वाचन सम्पन्न गर्न । स्ववियुलाई वास्तविक साझा संस्थाको रूपमा अभ्यास, राजनीतिक हस्तक्षेप मुक्त विश्वविद्यालय निर्माण, शैक्षिक निजीकरण विरुद्ध सशक्त आन्दोलनको नेतृत्व , राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिकाको लागि स्ववियुलाई अझ विकसित र परिमार्जित गर्न स्ववायु सतिसाल झैँ उभिएको छ आज र भोलि पनि उभिइरहनेछ।