सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले निकट प्रेस चौतारीमा विवाद

अध्यक्षबाट ब्याक हट्न राईलाई नेताको निर्देशन

सहमतिमा नेतृत्व चयन गर्न महासचिव शङ्कर पोखरेलको निर्देशन
आइतबार, १० चैत २०८१, १८ : १७
आइतबार, १० चैत २०८१

विराटनगर । सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।

एक पक्षले पार्टीको निर्देशन अनुसार सहमतिमा नेतृत्व चयन हुनुपर्ने बताएको छ भने अर्को पक्षले निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर क्याम्पेन नै चलाएको छ । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् । 

महाधिवेशन उद्घाटनका क्रममा महासचिव शङ्कर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । ‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदैछ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला ।’ उनले विगतको विभाजनको पीडा सम्झिएर सहमति गर्नुपर्नेमा जोड दिए । 

यसअघि चौतारीको महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा आफू नआएर ओलीले महासचिव पोखरेललाई पठाएर उनै मार्फत सहमतिमा नेतृत्व चयन गर्न दबाब पनि दिएको बताइएको छ । ओलीले यसअघि नै उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएको सार्वजनिक भएको थियो । तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् ।

पाण्डेले चौतारीको अधिवेशनस्थलमा निर्वाचन गराउने भनेर गरिएको हस्ताक्षर अभियान केही व्यक्तिहरूले रमाइलो गरेको हुनसक्ने बताए । निर्वाचन गर्ने नगर्ने भन्ने विषय सङ्गठन र पार्टीको विषय भएको र सहमतिमै नेतृत्व चयन हुनुपर्छ भनेर पार्टीले भनेको उनले बताए । आफू अध्यक्षको उम्मेदवार रहेको र सहमतिमा हुनुपर्छ भन्नेमा आफू रहेको पनि उनले बताए ।

‘अहिलेसम्म कसैलाई पार्टीले अध्यक्ष भनेर भनेको पनि छैन । सहमतिकै लागि म तयार छु । सहमति भन्दा आफू हुँदा ठिक, अरू हुँदा बेठिक भन्ने हुँदैन । केही साथीहरू आँतिएर हिँडेको जस्तो देखिन्छ,’ पाण्डेले भने, ‘दुई कार्यकाल यता प्रेस चौतारीमा निर्वाचन भएको छैन । अहिले पार्टीले कुनै पनि जनसङ्गठनको निर्वाचन नगर्ने भनेको छ । त्यसकारणले गर्दा सहमति मै गर्ने पार्टीको निर्णय हो ।’

उनले गत पुसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार एउटा जिल्ला बाहेक सबै जिल्लामा सहमतिमै नेतृत्व चयन गरेको पनि बताए । ‘जिल्लामा चाहिँ सहमति गरेर आउने, केन्द्रको सचिवालय बैठकमा पनि सहमतिका लागि तयार छौँ भन्ने अनि अहिले निर्वाचन गर्ने भन्ने कसरी हुन्छ ?,’ उनले भने, ‘आफू हुँदा सहमति । आफू नहुँदा असहमति भनेर हिँड्नु चाहिँ राम्रो होला जस्तो लाग्दैन ।’ कस्तो जनसङ्गठन बनाउने भन्ने पार्टीको सोच रहेको भन्दै उनले सोही अनुसार पार्टीले निर्णय गर्न सक्ने बताए । 

हस्ताक्षर अभियान चलाइरहेकाहरू भने नेतृत्व चयनमा टिके प्रथा हुन नहुने बताउँछन् । अध्यक्षका प्रत्याशी राजेश राईले भने प्रतिस्पर्धालाई रोक्न नहुने बताए । ‘प्रेस चौतारी नेपालको नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरूको मत मार्फत हुनेछ,’ राईले भने, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको अभिमत नै निर्णायक तत्त्व हो । यस कुरालाई हामीले हेक्का राखेका छौँ । सार्वजनिक चर्चा र चिन्ता गरिएजस्तो अलोकतान्त्रिक प्रक्रियामा हाम्रो अधिवेशन जाने छैन । र जान दिइने छैन ।’

यसैबिच एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सँगै राखेर अध्यक्षका आकाङ्क्षी राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नुपर्‍यो । पार्टीको निर्णय मान्नु पर्‍यो,’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ भनेको स्रोतले दाबी गरेको छ । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नुपर्ने बताएका थिए । 

नेतृत्व चयनलाई लिएर कहिले के भएको थियो ? 

२०८१ साल फागुन १६ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले संयन्त्रका प्रमुख ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतलाई बोलाएर चौतारीको १० औँ राष्ट्रिय सम्मेलनको विषयमा ब्रिफिङ लिएका थिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले प्रेस चौतारीका अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन नै दिएका थिए । यस्तै प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेलाई बनाउन उनको निर्देशन थियो । 

त्यसको दुई दिनपछि अध्यक्ष ओलीकै अध्यक्षतामा बसेको पार्टीको पदाधिकारी बैठकले चौतारीका उपाध्यक्ष गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गरिएको थियो । अध्यक्ष ओलीले पाण्डेलाई प्रचार सचिव बनाउने निर्णय सुनाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने आपत्ति जनाएका थिए । तर अध्यक्ष ओलीले अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारीको नेतृत्वमा राजेश राईलाई नै ल्याउने बताएका थिए । सोही अनुसार पार्टी महासचिव शङ्कर पोखरेलले निर्णयसमेत सार्वजनिक गरिएको राई पक्षको दाबी छ । 

यस्तै गत फागुन १६ गतेको निर्णय चैत ६ गते भने ओली आफैँले उल्ट्याएका थिए । सो दिन बालुवाटार पुगेका जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख ढकाल, प्रचार विभाग प्रमुख गौतम र प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई ओलीले गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिए । यद्यपि उपाध्यक्ष राईले चैत ८ गते नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । सोही दिन गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै पार्टीको निर्णय भन्दै अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे । एमाले सचिवालयको निर्णय दुई सातामै उल्टिएपछि अहिले चौतारीमा भाँडभैलो सुरु भएको छ । 

सोही विषयलाई इङ्गित गर्दै राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्कै पनि सर्वसम्मति जुट्नेछ । देशभरबाट आउनु भएका प्रतिनिधि साथीहरूलाई साक्षी राखेर उम्मेदवारहरूबिच सर्वसम्मतिको प्रयत्न हुनेछ । यदि सर्वसम्मति नजुटे मत विभाजनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनेछ ।’ उनले आफ्नो उम्मेदवारीको निरूपण लोकतान्त्रिक विधि मार्फत नै हुने जिकिर गरेका छन् । ‘कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता नहुनेमा ढुक्क रहन आग्रह गर्दछु । र, चुन्ने र चुनिने अधिकारप्रति प्रतिबद्ध रहन सबैमा आग्रह समेत गर्दछु ।’ 

उनले लोकतान्त्रिक विधि अपनाउन नदिने हो भने जबजको मूल्य मान्यता, देशको शासन प्रणाली र देशभरबाट भेला भएका प्रतिनिधिहरूको विवेकमाथि पनि प्रश्न हुने र त्यस्तो गर्न नदिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप