ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !

अन्तर्राष्ट्रिय व्यापार प्रणाली बिग्रिएको छ । यसलाई डोनाल्ड ट्रम्पको ‘रेसिप्रोकल ट्यारिफ’ अर्थात् पारस्परिक भन्सार सिद्धान्तले सपार्छ । विश्व अर्थतन्त्रमा यस्तो खालको पुनर्संरचना लामो समयदेखि थाँती थियो । यसले अमेरिका विरुद्ध धाँधली गरिएको प्रणालीलाई निष्पक्ष र सन्तुलित बनाएर विश्वभरका अर्थतन्त्रहरू सबैलाई थप मजबुत र समृद्ध बनाउँछ ।
दशकौँदेखि अन्तर्राष्ट्रिय व्यापार संगठन (डब्ल्युटीओ) का पक्षपातपूर्ण नियमहरूका कारण अमेरिकाले आफ्ना मुख्य व्यापार साझेदारहरूबाट प्रणालीगत रूपमै उच्च दरका भन्सार महसुल तथा गैर–भन्सार अवरोधको सामना गर्नु परेको छ । फलस्वरुप अमेरिकाले आफ्नो आर्थिक समृद्धि र राष्ट्रिय सुरक्षामा खतरा पर्ने गरी राष्ट्रिय आपतकालको सामना गर्नु परेको छ ।
यो सङ्कटको केन्द्रमा वार्षिक रूपमा ११ ट्रिलियन अमेरिकी डलरसम्म पुगेको व्यापार घाटा छ । व्यापार असन्तुलनलाई सधैँ वैदेशिक मुद्रा विनिमय दरमार्फत मूल्य समायोजन गरेर हटाउन सकिन्छ भन्ने खुला बजारको आर्थिक मोडेल पूर्णतः गलत साबित भएको छ ।
अमेरिकामा पीडादायी व्यापार घाटा हुन थालेको सन् १९७६ देखि हो । त्यस यता अहिलेसम्म नै प्रत्येक वर्ष यस्तो व्यापार घाटा थपिँदै आएको छ । यसले करिब २० ट्रिलियन अमेरिकी डलर विदेशीहरूको हातमा पुर्याएको छ । यो अमेरिकी कुल गार्हस्थ्य उत्पादनको करिब ६० प्रतिशत हो । अमेरिकाको ठुलो कृषि भूमि, आवास, प्रविधि कम्पनीहरू तथा यहाँसम्म कि हाम्रो खाद्य आपूर्तिसमेत विदेशी स्वार्थमा जकडिन पुगेको छ ।
डोनाल्ड ट्रम्पले सुरु गरेको रेसिप्रोकल ट्यारिफले विश्व व्यापार संगठनले गर्न नसकेको काम गर्न खोजेको छ । यसले अमेरिकासँग व्यापार गर्ने मुलुकहरूलाई उत्तरदायी बनाउँछ ।
यस्तो खालको एक पक्षीय व्यापारको केन्द्रमा विश्व व्यापार संगठनको ‘मस्ट फेवरड नेसन’ भन्ने नियमले काम गरेको छ । जस अनुसार यसका सदस्य राष्ट्रहरूले उनीहरूले कुनै एउटा देशलाई लगाउने न्यूनतम भन्सार दर बराबर नै सबै सदस्य राष्ट्रहरूसँग लगाउनुपर्ने हुन्छ ।
अमेरिकाका व्यापार साझेदार मुलुकहरूले आफ्नो उच्च र एकरूपतामा रहेको भन्सार दर कायमै राख्न सक्छन् । उनीहरूले अमेरिकासँग निष्पक्ष सर्तका लागि कुनै छलफल वा सम्झौता गर्नु पर्दैन । सन् १९७९ मा अमेरिकामा उत्पादन क्षेत्रमा रोजगारी सबैभन्दा उच्च अवस्थामा पुगेको थियो । त्यसै वर्ष ‘जेनेरल एग्रिमेन्ट अन ट्रेड एन्ड ट्यारिफ’ अर्थात् ‘ग्याट’ को टोकियो सम्मेलन भयो ।
त्यसले ‘मस्ट फेवरड नेसन’ केन्द्रित भन्सार कटौतीको सुरुवात गर्यो । त्यसले अमेरिकामा उत्पादन क्षेत्रको ६८ लाख रोजगारी गुम्यो । चीन सन् २००१ मा विश्व व्यापार संगठनमा प्रवेश गर्यो । त्यसयता अमेरिकाको औसत साप्ताहिक आम्दानी बढ्न रोकिएको छ । त्यसपछिको पूरा अवधिमा त्यस्तो आय करिब १० प्रतिशतमात्रै बढेको छ ।
आजका दिनमा अमेरिकाले ‘मस्ट फेवरड नेसन’ मा लगाउने भन्सार दर केवल ३ दशमलव ३ प्रतिशत छ । यही भन्सार चीनले ठ्याक्कै दोब्बरभन्दा धेरै अर्थात् साढे ७ प्रतिशत लगाउँछ । थाइल्यान्ड र भियतनामले करिब १० प्रतिशत लगाउँछन् भने भारत त झन्डै १७ प्रतिशतसम्म लगाउँछ ।
यस्तो असन्तुलन सवारी साधनको हकमा पनि लागु हुन्छ । युरोपेली संघले अमेरिकी कारहरूमा चार गुणा अर्थात् १० प्रतिशत भन्सार लगाउँछ । चीनको त यात्रुवाहक सवारी साधनमा लाग्ने आधारभूत आयात भन्सार दर नै २५ प्रतिशत छ ।
यो कुनै सम्झौता वा लेनदेनका लागि गरिएको होइन । यो त अमेरिकाका लागि राष्ट्रिय आपतकाल हो । जुन आपतकाल धोकाधडीपूर्ण प्रणालीले सिर्जना गरेको व्यापार घाटाको कारण आइलागेको छ ।
अझ नमिठो कुरा त अन्य राष्ट्रहरू अमेरिकी निर्यातको घाँटी निचोर्नका लागि व्यापक मात्रामा विविध खालका गैर–भन्सार तरिकाहरू प्रयोग गरिरहेका हुन्छन् । उनीहरू अनुचित रूपमा अमेरिकामा आफ्नो सामान धेरै पठाउँछन् तर आफ्नो बजारमा भने प्रवेश रोक्न अनेक अवरोध सिर्जना गर्छन् ।
यसरी अवरोध गर्नका लागि मुद्राको विनिमय दरमा हेराफेरी गर्ने, मूल्य अभिवृद्धि करलाई विकृत बनाउने, कमसल सामान अमेरिकाको बजारमा व्यापक रूपमा पठाउने, आफ्नो निर्यातमा अनुदान दिने, राज्यले लगानी गरेर उद्योग चलाउने, बौद्धिक सम्पत्ति चोरी गर्ने, उत्पादनको मापदन्ड तोक्दा विभेदकारी तरिका अपनाउने, निश्चित कोटा तोक्ने, अपारदर्शी इजाजत प्रणाली लगाउने, भन्सार प्रक्रिया झन्झटिलो बनाइदिने, तथ्याङ्कहरूको स्थानीयकरण गर्नुपर्ने जस्ता यावत् झमेला सिर्जना गर्छन् ।
अझै युरोपेली संघले त अमेरिकाका ठुला प्रविधि कम्पनीलाई लक्षित गर्दै एक प्रकारको ‘कानुनी युद्ध’ नै चलाउँछ । अझै यो भन्दा ठुलो कुरा हाम्रा धेरै वैदेशिक प्रतिस्पर्धीहरू त श्रम शोषण हुने उत्पादन केन्द्र तथा प्रदूषणका अड्डाबाट चलेका छन् । जसले एसिया, अफ्रिकादेखि ल्याटिन अमेरिकासम्म विश्वव्यापी रूपमा नैतिक र पर्यावरणीय दुवै रूपमा कलङ्कित बनाउने काम गरेका छन् ।
विश्व व्यापार संगठनकै मापदन्डमा बसेर केही चुनौती सिर्जना गर्न त मिल्छ तर, यसको आपसी विवाद समाधानको प्रणाली काम नदिने भइसकेको छ । यसको परिणाम अझ विनाशकारी भएको छ । अमेरिकाले उच्चस्तरका धेरै व्यापारिक विवाद समाधनार्थ विश्व व्यापार संगठनमा प्रस्तुत गर्यो ।
अन्य मुलुकले कुखुराको मासु, हर्मोन प्रयोग भएको गाईको मासु तथा आनुवांशिक रूपमा परिमार्जित (जेनेटिकली मोडिफाइड) उत्पादनमाथि लगाएको प्रतिबन्धबारे अमेरिकाले कुरा उठाएको थियो । प्रत्येक मुद्दामा अमेरिकाको जित भयो तर, त्यस्तो जितले केही फरक पारेन ।
हाम्रो कुरा प्रस्ट छ– राष्ट्रपति ट्रम्पले त्यतिमात्रै भन्सार दर तपाईंहरूलाई लगाएका छन्, जति तपाईंले हामीलाई लगाउनु भएको छ । योभन्दा निष्पक्ष अरु केही हुन सक्छ ?
युरोपेली संघले हर्मोन प्रयोग भएको गाईको मासुको अमेरिकी उत्पादनलाई लगाएको प्रतिबन्धमाथि अमेरिकाले सन् १९९६ मा कुरा उठायो । विश्व व्यापार संगठनले सन् १९९८ मा त्यस्तो प्रतिबन्धलाई गैरकानुनी भनिदियो तर, आजसम्म पनि युरोपेली संघले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको छैन ।
यसरी हाम्रा उत्पादनमा उच्च भन्सार महसुल र गैर–भन्सार अवरोध लगाउने तथा कुनै समाधान नहुने प्रणाली भनेको हाम्रालागि चोरलाई चौतारो, साधुलाई सुलीजस्तो हुने अवस्थाभन्दा फरक भएन । यसै कारण अमेरिकाले आफ्नो अर्थतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्यो र, अहिले रक्षा गर्दैछ ।
डोनाल्ड ट्रम्पले सुरु गरेको पारस्परिक भन्सार (रेसिप्रोकल ट्यारिफ) ले विश्व व्यापार संगठनले गर्न नसकेको काम गर्न खोजेको छ । यसले अमेरिकासँग व्यापार गर्ने मुलुकहरूलाई उत्तरदायी बनाउँछ । अमेरिकाले अब आफ्ना उत्पादनहरूमा अन्य व्यापार साझेदारहरूले लगाएको उच्च भन्सार र गैर–भन्सार अवरोधलाई ध्वस्त पारेर समानता कायम गर्नेछ । यो काम निष्पक्षता कायम गर्नका लागि गरिएको हो । यसमा कसैले विवाद गर्नु पर्दैन ।
यो कुनै सम्झौता वा लेनदेनका लागि गरिएको होइन । यो त अमेरिकाका लागि राष्ट्रिय आपतकाल हो । जुन आपतकाल धोकाधडीपूर्ण प्रणालीले सिर्जना गरेको व्यापार घाटाको कारण आइलागेको हो ।
राष्ट्रपति ट्रम्प सधैँ जायज कुरा सुन्न तयार छन् तर, दशकौँसम्म अमेरिकालाई ठगेर पनि अहिले आएर अमेरिकालाई भन्सार घटाउन भनिरहेका विश्व नेताहरूलाई चाहिँ पटक्कै होइन । उनीहरूले बुझिराखुन्– यो त केवल सुरुवात मात्र हो ।
हामी कम्बोडिया, मेक्सिको र भियतनामलगायतका देशहरूबाट अमेरिकी भन्सार छल्नका लागि गरिएका चलाखी अन्त्य भएको सुन्न चाहन्छौँ । अझ ठुलो खतरा गैर–भन्सार अवरोधहरूको जालोमा छ, जसले अमेरिकी उद्योगहरूलाई निरन्तर अप्ठ्यारोमा पारिरहेको छ र, अब त्यो पनि अन्त्य हुनैपर्छ ।
यी सबै कुरामा अमेरिकाले खोजेको निष्पक्षता मात्र हो । हाम्रो कुरा प्रस्ट छ । राष्ट्रपति ट्रम्पले त्यतिमात्रै भन्सार दर तपाईंलाई लगाएका छन्, जति तपाईंहरूले हामीलाई लगाउनु भएको छ । यो भन्दा निष्पक्ष अरु केही हुन सक्छ ?
(लेखक ट्रम्पका मुख्य व्यापार सल्लाहकार हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?
-
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?