आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’

केन्द्रीय समिति बैठक बोलाइयो
बुधबार, २७ चैत २०८१, २१ : १९
बुधबार, २७ चैत २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत चैत २२ गते सभापति रवि लामिछानेलाई कानुनको उचित प्रक्रियाविपरीत पक्राउ गरिएको ठहर गरेको छ । बुधबार पार्टी मुख्यालय वनस्थलीमा बसेको पार्टीको सचिवालयले बैठकले लामिछानेको दुई दिन, तीन रातको हिरासत बसाइ स्वतः अवैध भएको बताएको हो ।

पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठकबारे जारी दिँदै भने, ‘उच्च अदालत बुटवलको आदेशलाई सम्मान गर्दै आफै गिरफ्तारी दिने घोषणा गरेको अवस्थामा अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै चैत २२ सभापति रवि लामिछानेलाई पक्राउ गरिनु कानुनको उचित प्रक्रिया विपरीत रहेको हाम्रो ठहर छ । चैत २५ गते मात्र जिल्ला अदालतमा उपस्थिति गराएर थुनुवा पुर्जी दिइएको छ । दुई दिन तीन रातको बसाइ स्वतः अवैध छ ।’

जिल्ला अदालत रुपन्देहीले प्रक्रिया सुरु नगर्दै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी आफै सक्रिय भएर उनको निवासमा गरेको क्रियाकलाप झनै आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । बुर्लाकोटीले भने, ‘कानुनले निर्धारण गरेका आधारभूत कागजात र आदेशसमेत नलिइ प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि ढिला गरी दिनु, उच्च अदालतले आदेश गरिसकेको मुद्दामा अनुसन्धान भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले अन्तिम इच्छा भनेर सोध्नुले कानुनकै धज्जी उडाएको छ ।’

याे पनि - वैशाखमा तोकिएको महाधिवेशन गर्न रास्वपाले मरिहत्ते नगर्ने !

रास्वपाले अदालतको आदेशको सम्मान गर्दै कानुको उचित प्रक्रिया पूरा नगरी सभापति लामिछाने प्रति गरिएको अमर्यादित र अमानवीय व्यवहार भत्र्सना गरेको छ । यसबाट लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुनः प्रमाणित भएको बैठकको निष्कर्ष छ ।

उनले आजको बैठकमा लामिछानेलाई आफ्नै निवासबाट पुनः कस्टडीमा लिएको विषयमा छलफल भएको थियो । बैठकले आज मानव अधिकार आयोगमा पार्टीले दिएको निवेदन अनुमोदन गरेको छ ।

बैठकले आगामी वैशाख ४ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा बदलिँदो परिस्थितमा जनयात्राको स्वरुप, महाधिवेशन, पदाधिकारीको जिम्मेवारी लगायत विषयमा छलफल हुनेछ ।

सचिवालय बैठक भने भोलि पनि जारी रहनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप