निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’

काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रका छाता संस्थाहरूले सरकारलाई नीति तथा कार्यक्रमका लागि दिएका सुझावका आधारमा आएको भन्दै सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।
सरकारले ल्याएका नीति तथा कार्यक्रममा निजी क्षेत्रले उठाएको अधिकांश मागहरूलाई सम्बोधन गरेको भन्दै निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रलाई प्राथमिकतामा राखेर धेरै कार्यक्रमहरू आए अनुरूप बजेटमा समावेश भएर कार्यान्वयन हुन आवश्यक रहेको निजी क्षेत्रको धारणा आएको छ ।
नीति तथा कार्यक्रम विगतमा पनि राम्रो आउने तर कार्यान्वयन नहुने गरेको भन्दै यो वर्षको कार्यक्रम कार्यान्वयन योग्य रहेको बताए । निजी क्षेत्रका तीन ठुला सङ्घसंस्थाका प्रतिनिधिले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रूपमा आएको र बजेट त्यही अनुरूपमा आउनु पर्ने प्रतिक्रिया दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सम्बोधन गरेको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रममा निजी क्षेत्रका सुझावलाई सरकारले प्रमुख प्राथमिकताका साथ समावेश गरेको बताए । उनले निजी क्षेत्रका सुझावलाई समावेश गर्नु सकारात्मक भएको भन्दै सरकारले कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
उनले डिजिटल कारोबार,सरकारका सेवा सुविधालाई डिजिटलाइज गर्ने,शिक्षालाई रोजगारी, सीप र उद्यमसँग जोड्ने विषय निजी क्षेत्रको सुझाव रहेको बताए ।
उनले निजी क्षेत्रका यस्ता सुझावलाई सरकारले प्रतिबद्धता देखाउनु सकारात्मक भएको उल्लेख गरे ।
अध्यक्ष ढकालले सरकारले उद्योग व्यवसायमा सहजीकरणको लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएको बताए । उनले मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको शिथिलतालाई गतिशील बनाउन नीति तथा कार्यक्रम कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष ढकालले भने,‘ सरकारले निजी क्षेत्रका सुझावलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ । यो सकारात्मक विषय हो । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर ल्याएको कार्यक्रमलाई कार्यान्वयनमा जोड दिनु आवश्यक छ । बजेट पनि नीति तथा कार्यक्रम अनुरूप आउन आवश्यक छ ।’
उनले नीति तथा कार्यक्रममा सकारात्मक भए पनि नीति तथा कार्यक्रमलाई बजेटले कसरी सम्बोधन हुन्छ त्यो भन्ने बजेट आएपछि मात्रै भन्न सकिने बताए । रुग्ण उद्योग सञ्चालनमा निजी क्षेत्रलाई दिने र प्रसारण लाइनलगायतका क्षेत्रमा पीपीपी मोडलमा लगानी भित्र्याउने सरकारको तयारी स्वागत योग्य रहेको उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले ल्याउने नीति तथा कार्यक्रम हरेक वर्ष राम्रो आउने बताए । उनले सरकारले ल्याउने कार्यक्रम राम्रो भए अनुरूप कार्यान्वयन फितलो हुने गरेको बताए ।
अध्यक्ष अग्रवालले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे । उनले समग्रमा राम्रो नीति तथा कार्यक्रम आएको भन्दै नीति तथा कार्यक्रम अनुरूप बजेट आउनु पर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले खुल्ला बजार अर्थतन्त्रलाई प्रोत्साहन र शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी नै कार्यक्रम आएको बताए । उनले उच्च स्तरीय आर्थिक क्षेत्र सुझाव आयोगले दिएको सुझाव कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकता दिएको भन्दै त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा विशेष ध्यान दिनु आवश्यक रहेको बताए ।
उनले भने,‘ सरकारले ल्याउने नीति तथा कार्यक्रम हरेक वर्ष राम्रो आउँछन् । यो पटकको पनि राम्रो कार्यक्रम आएको छ । खुल्ला बजार अर्थतन्त्रलाई प्रोत्साहन गरेको छ । निजी क्षेत्रको लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता सकारात्मक छ । उच्च स्तरीय आर्थिक क्षेत्र सुधार आयोगले दिएका सुझाव कार्यान्वयन गर्नु आवश्यक छ । नीति तथा कार्यक्रम अनुसार बजेट आउँदा अर्थतन्त्र थप चलायमान बनाउने देखिन्छ ।’
सरकारले बनाएको उच्चस्तरीय आयोगको सुझावअनुसार अहिलेको नीति तथा कार्यक्रममा आएकोमा खुसी व्यक्त गरे । उनले बजेटमा आएर कार्यान्वयनमा लैजान सके आर्थिक सुधार हुने उल्लेख गरे ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अधिकांश विषय निजी क्षेत्रले उठाएका मागलाई सम्बोधन गर्ने खोजेको बताए । उनले सरकारले बनाएको उच्चस्तरीय आयोगको सुझावअनुसार अहिलेको नीति तथा कार्यक्रममा आएकोमा बताए ।
उनले आयोगले दिएका सुझाव कार्यान्वयनमा सरकारले जोड दिए समग्रमा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रम अनुरूपको बजेटमा आएर कार्यान्वयनमा लैजान सके आर्थिक क्षेत्र सुधार दाबी गरे ।
उनले भने,‘नीति तथा कार्यक्रममा आएका विषयहरू समग्रमा निजी क्षेत्रले दिएका सुझावका आधारमा आएको छ ।
अझ उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्ने भनिएको छ । त्यो सकारात्मक पक्ष हो । त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने छ । निजी क्षेत्रका धेरै विषयहरू समेटेर आएको छ ।’
उनले नीति तथा कार्यक्रममा कर परिमार्जन,निजी क्षेत्रको लगानी वृद्धि गर्न लगानी मैत्री वातावरण बनाउने र व्यवसायीक वातावरणको लागि अध्यादेशको विषयलाई निरन्तरता दिएर कार्यान्वयन गर्ने विषय सकारात्मक रहेको बताए । उनले पूर्वाधारमा समेत अनावश्यक आयोजनाहरूलाई स्थगित र सञ्चालन नहुने आयोजनाहरूलाई खारेज गर्ने विषय राम्रो रहेको बताए ।
उनले नीति तथा कार्यक्रम सकारात्मक भए पनि कार्यक्रम अनुसारको बजेट आउनु पर्नेमा जोड दिए । उनले घाटामा र बन्द भएका सार्वजनिक संस्थानमा निजी क्षेत्रलाई सहभागी गराउने र वैदेशिक ऋण प्रतिफल दिने परियोजनामा मात्र लगानी गर्ने विषय निकै सकारात्मक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिइन् । उनले सरकारले आज ल्याएको नीति तथा कार्यक्रम पुनःनिर्माण,कष्ट अफ डुइङ बिजनेस कसरी घटाउने भन्ने कुरा आउनु निजी क्षेत्रको लागि राम्रो भएको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु राम्रो भएको बताइन् ।
उनले भनिन्,‘ सरकारले ल्याउने हरेक नीति तथा कार्यक्रम राम्रो आउने गरेको छ । तर सरकारले आज ल्याएको नीति तथा कार्यक्रम पुनःनिर्माण,कष्ट अफ डुइङ बिजनेस कसरी घटाउने भन्ने कुरा आएको छ । उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने कुरा आएको । समग्रमा राम्रो छ ।’
उनले नीति तथा कार्यक्रम अनुसार बजेटमा कसरी कार्यान्वयन गर्छ भन्ने हेर्न बाँकी रहेको बताइन् । उनले अहिले बजार साघुरी रहेको अवस्था त्यसमा बजेटले के बोल्छ भन्ने हेर्न बाँकी रहेको उल्लेख गरिन् ।
उनले भनिन्,‘विभिन्न अर्थतन्त्रमा समस्या छ । करका विषयमा पनि कुरा आएको छ । नीति तथा कार्यक्रम अनुरूपको बजेट आउन आवश्यक छ । युवालाई पनि समावेश गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक्सीलेन्सको रूपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप प्रभावकारी र नतिजा उन्मुख बनाउने घोषणा गरेको छ । त्यो राम्रो छ ।’उनले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक्सीलेन्सको रूपमा विकास गर्नु राम्रो विषय भएको उल्लेख गरिन् ।
त्यस्तै,होटल एसोसिएसन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले सरकारले ल्याएका नीति तथा कार्यक्रम पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आएको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रम पर्यटन क्षेत्रको लागि सबै राम्रो रहेको बताए ।
उनले भने, ‘ सरकारले दिगो विकास लक्ष्य र वातावरण मैत्री योजनाहरू ल्याएको छ । त्यसमा पर्यटन क्षेत्र पनि पर्छ । पर्यटन क्षेत्रमा पर्यटन आगमन पहिलो प्राथमिकता हो । सरकारले राम्रो वातावरण बनाउँदा पर्यटन क्षेत्रमा राम्रो हुन्छ । तर अब बजेटमा कस्ता कुरा आउँछ? कार्यान्वयन कसरी हुन्छ? भन्ने हेर्न बाँकी छ, कार्यान्वयनमा सबै जाने हो भने निकै राम्रो छ, हामी साथ दिन तयार छौँ।’
उनले अहिलेसम्म सरकारले प्रतिबद्धता मात्र जनाउने र कार्यान्वयन नहुने गरेको भन्दै यो कार्यक्रम कार्यान्वयन हुने विश्वास रहेको बताए । सरकारले निजी क्षेत्रको विश्वास जित्नका लागि भए पनि कार्यान्वयन गर्नु आवश्यक रहेको उनको भनाइ छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूले दिएको सुझाव समावेश भएर आएको भन्दै खुसी व्यक्त गरे । उनले सुझावहरू कार्यान्वयन हुँदा अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम हुने प्रतिक्रिया दिए । उनले समेट्न र कार्यान्वयनमा कति सम्भव त्यो हेर्न बाँकी रहेको बताए ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा निर्माण व्यवसायीहरूले दिएको सुझाव समेटेको छ । सुझावहरू कार्यान्वयन हुँदा अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम हुन्छ । समेट्न र कार्यान्वयनमा कति सम्भव छ भन्ने कुरा हो,‘ अध्यक्ष सिंहले भने,‘ विना स्रोतका आयोजनाहरू खारेज गर्ने,प्राधिकरणले निर्माण सामग्रीलाई व्यवस्थापन गर्ने,योजनाहरूलाई पुनःप्राथमिकिकरण गरेर योजनाहरू आवश्यक नभएकालाई खारेज गर्ने कुरा राम्रो छ ।’
उनले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न ल्याएको भए एकदमै राम्रो भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित
-
आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
-
दुर्घटनामा परेका पवनदीपको स्वास्थ्य अवस्था कस्तो छ ?
-
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा
-
‘मेरो बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी देखाइयो’ (भिडियोसहित)