आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार

सोमबार, २२ वैशाख २०८२, २२ : ००
सोमबार, २२ वैशाख २०८२

आज २०८२ वैशाख २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सिंहदरबारमा दुई घण्टासम्म ओली–देउवा वार्ता, सरकारको नीति तथा कार्यक्रममाथि छलफल, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार, रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ, ओली र प्रचण्ड नजिकिएकै हुन् ?, रविको रिट निवेदनमा अदालतले मगायो कैफियत प्रतिवेदन लगायत छन् ।

१. सिंहदरबारमा दुई घण्टासम्म ओली–देउवा वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सिंहदरबारमा छलफल भएको छ । सोमबार दुई नेताबिच करिब दुई घण्टा छलफल भएको हो । त्यसअघि सोमबार नै अर्थमन्त्री विष्णु पौडेलले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

२. सरकारको नीति तथा कार्यक्रममाथि छलफल
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भएको हो ।

३. एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका महासचिव शंकर पोखरेलको प्रस्तावलाई अस्वीकार गरेका छन् । पार्टीको सचिवालय बैठकमा ओलीले महासचिव पोखरेलको प्रस्ताव अस्वीकार गरेका हुन् ।

४. रेशम चौधरी पक्राउबारे नाउपाले माग्यो प्रधानमन्त्रीको जवाफ
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जवाफ माग गरेको छ । सोमबार प्रतिनिधि सभा बैठकमा नाउपाका सांसद लालवीर चौधरीले प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् । भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए आफ्नो पार्टीले सरकार छाड्ने उनको भनाइ थियो ।

५. ओली र प्रचण्ड नजिकिएकै हुन् ?
संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग गठनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोलाएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डसँग निकटता दर्शाउनका लागि आफू बस्ने कुर्सी छाडेर अतिथिकै लहरको कुर्सीमा बसेका थिए । सोमबार प्रतिनिधि सभा बैठकमा दुई नेताबिच हार्दिकतापूर्वक छलफल भएको तस्बिर सार्वजनिक भएपछि उनीहरूबिच निकटता बढेको चर्चा हुन थालेको छ । 

६. प्रहरी प्रधान कार्यालयमा भएको थियो सांसदहरूको ‘लञ्च मिटिङ’
प्रहरी विधेयकमा आधारभूत विषय नै छुटेको भन्दै प्रहरीले राज्य व्यवस्था तथा सुशासन समितिलाई आफ्नो फरक प्रस्तावबारे जानकारी गराएको छ । फागुन २३ मा समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरू प्रहरी हेडक्वार्टर पुगेका थिए । सोही क्रममा ‘लञ्च बैठक’ राख्दै प्रहरीले आफ्ना कुरा प्रस्ट पारेको थियो । 

७. रविको रिट निवेदनमा अदालतले मगायो कैफियत प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

८. दुर्गा प्रसाईंसँग सीआईबीले लिन थाल्यो बयान
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंसँग बयान लिन थालेको छ । उनीसँग बैंकिङ कसुर सम्बन्धी मुद्दामा बयान लिन थालिएको हो ।

९. विमानस्थलमा रकम असुल्न कोड भाषा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ सम्बन्धी धन्धा फेरि मौलाउन थालेको छ । रकम असुल्नका लागि कोड भाषा प्रयोग गर्ने गरिएको हो । खासगरी भिजिट भिसामा विदेश पठाउनका लागि रकम उठाउन त्यस्तो भाषा प्रयोग हुने गरेको हो ।

१०. सिमरा सेजमा किन जान मान्दैनन् उद्योगी ?
सिमरा विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’मा उद्योगीहरूले खासै चासो देखाएका छैनन् । सरकारले उद्योग स्थापनाका लागि प्लट निर्माण गरी विभिन्न भौतिक संरचना विकास गरे पनि उद्योगीहरू त्यहाँ उद्योग स्थापनाका लागि हिचकिचाउने गरेका छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप