मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार

सोमबार, २२ वैशाख २०८२, १७ : ४२
सोमबार, २२ वैशाख २०८२

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले गज्जबको अभ्यास गरिरहेको छ । पालिकाका योजना समयमा कार्यान्वयन हुन नसकिरहेको आलोचनाबीच शहिद लखनले समयमा काम सक्ने वडालाई नगद पुरस्कार दिन थालेको छ । 

गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर छ । ‘राम्रो काम होस् र समयमा सकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘काम गर्ने क्रममा यसले प्रतिश्पर्धा बढाएको छ । कामको रफ्तार बढेको छ ।’ 

यही कार्यविधि कार्यान्वयनमा आएपछि शहिद लखनका सबै वडाले आर्थिक वर्ष नसकिँदै काम सिध्याउन थालेका उनले बताए । ‘राजस्वको क्षमता सुधार भएको छ । प्रायः वडाले बैशाखमै योजनाका काम सिध्याउन थालेका छन्,’ उनले भने । पालिकाले घोषणा गरेको ५ लाख पुरस्कार दोस्रो पटक पनि वडा नम्बर ७ ले पाएको छ । 

सोमबार बसेको कार्यपालिका बैठकले उक्त वडालाई नै दोस्रो पटक पुरस्कृत गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।

पालिकाले उत्कृष्ट वडा छनोट गर्न छुट्टै कार्यविधि बनाएको छ । कार्यविधि अनुसार ७ नम्बर वडाले ८५ अंक पाएर पहिलो भएको हो । ‘दोस्रो पटक पनि उत्कृष्ट हुँदा खुसी लागेको छ,’ वडाध्यक्ष शरण श्रेष्ठ भन्छन्, ‘यो श्रेय सम्पूर्ण जनतामा जान्छ । उहाँहरुले समयमा काम नगर्दिनुभएको भए हामी उत्कृष्ट हुने थिएनौं ।’ 

यस्तै, वडा नम्बर ८ दोस्रो भएको छ । उसले ८० अंक पाएको हो । योजना छनोट, कार्यान्वयन, उपभोक्ता समिति गठनदेखि योजनाको सम्झौता, भुक्तानी सम्म अंक दिइएको छ । 

यस्तै, राजस्व संकलन, जनश्रमदान, बेरुजु फस्र्योट लगायत सूचकलाई आधार मानेर रिपोर्ट निकालिएको थियो । ७ नम्बर वडाले कार्यविधि अनुसारका योजना माघ महिनामै सम्पन्न गरिसकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप