बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भिजिट भिसामा सेटिङ

विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम

प्रतिमहिला कम्तीमा ४० हजार, पुरुषसँग भने २० हजार
सोमबार, २२ वैशाख २०८२, २० : २०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । भिजिट भिसामा विदेश पठाउँदा फर्जी कागजातलाई आधार मानेर ‘सेटिङ’ गरेको घटनाबारे प्रहरीले अनुसन्धान गरेको डेढ वर्षमा फेरि सेटिङ मौलाउन थालेको भेटिएको छ । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ का आधारमा रकम उठाइरहेका पाइएको हो । 

यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएका छन् ।  

कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो । 

बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले त्यसरी खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेका हुन् । 

पछिल्लो समय भिजिट भिसा खाडीमा गएका ४७ महिला फर्केका छैनन् । यसरी जानेहरूको रेकर्ड राख्ने गरिएको तर, फर्किनेहरूको यकिन विवरण नराखिएको अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बताए । 

‘फर्किनेहरूको विवरणचाहिँ संख्यामा मात्र हुन्छ, जो मान्छे गएको थियो, उसैलाई ट्रयाक गरेर विवरण राख्ने प्रणालीचाहिँ हामीसँग छैन ।’

अध्यागमन विभागसँग सन् २०२४ मा विमानस्थलबाट विदेश गएकाहरूको एकीकृत तथ्यांक मात्र छ । २०२४ मा भ्रमण र तीर्थयात्रामा नेपालबाट पुरुष १ लाख ५९ हजार ४३ जना र महिला १ लाख १५ हजार ३५६ जना विदेश गएका थिए । 

भ्रमण र तीर्थयात्रा गर्न निस्किएकामध्ये कति फर्किए भन्ने विवरण विभागले अझै संकलन गर्दै छ । निर्देशक ढकाल भन्छन्, ‘२०२४ मा जानेहरूको एकीकृत डाटा तयार भएको छ, फर्किनेहरूको संकलन हुँदै छ ।’
२०८१ चैत ३१ मा अध्यागमनका केही कर्मचारीको ह्वाट्स एपमा एउटा सूचना ‘सर्कुलर’ गरियो । लेखिएको थियो, ‘आइतबारदेखि भिजिट भिसामा जाने एलहरूको हकमा प्रस्थान अनुमति नदिइने भएकोले सोहीबमोजिम गर्न/गराउन जानकारी गराइन्छ ।’ 

Airport Sanket Visit 1.22 (2082)

त्यस्ता सूचना वेला वेलामा परिवर्तन भएर सर्कुलर हुने गरेको विमानस्थलका एक अधिकृतले रातोपाटीलाई बताए ।

२०८० मंसिरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन अधिकृत नरबिर खड्कासहित ९ जना अध्यागमन अधिकृतलाई मुद्दा चलाएको थियो । उनीहरूले सफाइ पाएपछि विमानस्थलमा फेरि ‘सेटिङ’ सुरु भएको हो । 

सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा १२८ जना अधिकृत कार्यरत छन् ।

६ बुँदे निर्देशन ‘बेकामे’

गृहमन्त्रीस्तरीय निर्णय गरेर विभागले २०८० माघ १० बाट भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरूका लागि ६ बुँदे निर्देशन लागु गरेको थियो । तर बिचौलियासँग मिलेर अध्यागमनका कर्मचारीहरूले सो निर्देशनलाई ‘बेकामे’ बनाएको आरोप छ । 

भिजिट भिसामा जानेहरूका लागी दुईतर्फी हवाई टिकट र ५ सय डलर बराबरको नगद सटही गरेको छाप लगाउनुपर्ने नियम छ । तर कर्मचारीहरूले बिचौलियाहरूसँग मिलेर एकतर्फ टिकट र डलर साटेको ‘फर्जी छाप’ लगाएर यात्रा अनुमति दिने गरेका विमानस्थमै कार्यरत कर्मचारीहरू बताउँछन् ।

यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो । तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा ब्युरोका प्रहरी फिर्ता भएका छन् । 

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका कर्मचारीले पनि भिजिट भिसामा हुने चलखेल निगरानी गर्न नपाएपछि ‘सेटिङ’ मौलाउन थालेको त्यहीँका कर्मचारीहरू बताउँछन् ।  

Airport Visit 2 (2082)Airport Visit 1 (2082)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप