‘गर या मर’ को स्थितिमा रहेका पञ्जाब र लखनउ आपसमा भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबारको दोस्रो खेल पञ्जाब किङ्स र लखनउ सुपर जायन्ट्सबिच खेलिँदैछ । खेल धर्मशालास्थित हिमाञ्जल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५४औँ खेल हो । यो सिजनको आईपीएलमा यी दुवै टोली दोस्रोपटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा पञ्जाबले लखनउलाई उसैको घरेलु मैदानमा आठ विकेटले हराएको थियो ।
यी दुवै टोलीले जारी सिजनको आईपीएलमा आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । लखनउ र पञ्जाब दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै रहेकाले दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

लखनउ सुपर जायन्ट्सले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो । लखनउ दुईपटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।
पञ्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
- पञ्जाबको आँखा प्ले–अफ चरणमा
पञ्जाब किङ्सले जारी सिजनको आईपीएलमा गतिलो प्रदर्शन गर्दै आएको छ । पञ्जाबको प्ले–अफ चरणमा पुग्ने बलियो सम्भावना छ । तर, यसका लागि पञ्जाबले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नु पर्ने हुन्छ ।
पञ्जाबले हालसम्म १० खेल खेलेको छ । त्यसमध्ये पञ्जाबले ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको छ । पञ्जाब हाल १३ अंकसहित तालिकाको चौथो स्थानमा आसीन छ ।
पञ्जाबले अब चार खेल खेल्न बाँकी छ । पञ्जाबले अब लखनउका अतिरिक्त दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्ससँग खेल्न बाँकी छ । त्यसमध्ये राजस्थानवाहेक अन्य सबै टोली बलिया छन् । त्यसैले पञ्जाबको प्ले–अफ चरणयात्रा सोचेजस्तो सजिलो भने छैन ।

- लखनउको पनि आश बाँकी नै
यो सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्सले पनि सन्तोषजनक प्रदर्शन गर्दै आएको छ । लखनउको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । तर, हालसम्मको प्रदर्शनलाई हेर्दा पञ्जाबभन्दा लखनउ केही कमजोर देखिन्छ ।
लखनउले हालसम्म १० खेल खेलिसकेको छ । त्यसमध्ये लखनउले पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । लखनउ हाल १९ अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । लखनउले पनि चार खेल खेल्न बाँकी छ ।
त्यसैले प्ले–अफ चरणमा पुग्न लखनउसँग अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । लखनउले अब पञ्जाबका अतिरिक्त रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदराबादसँग खेल्न बाँकी छ ।
सनराइजर्स हैदराबादबाहेक लखनउका अरू सबै प्रतिद्वन्द्वी निकै बलिया छन् । त्यसैले लखनउको अबको यात्रा झनै कठिन देखिन्छ । आइतबार हुने पञ्जाबविरुद्धको खेलमा पराजित भए लखनउको अगाडि बढ्ने सम्भावनामा ठुलो धक्का लाग्ने निश्चित छ ।

- हेड टु हेडमा लखनउ अगाडि
आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमा लखनउ केही बलियो देखिन्छ । लखनउले तीन खेलमा पञ्जाबलाई हराएको छ ।
पञ्जाबले भने दुई खेलमा लखनउलाई पराजित गरेको छ । पञ्जाबले दुवै खेल लखनउको घरेलु मैदानमा जितेको हो । धर्मशालामा भने यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
- लयमा छन् पञ्जाबका श्रेयष र युजवेन्द्र
आईपीएलको जारी सिजनमा पञ्जाब किङ्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरु लयमा देखिएका छन् । प्रियांश आर्या, प्रभसिमरन सिंह, कप्तान श्रेयस ऐयरको प्रदर्शन पनि अब्बल देखिन्छ । टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान श्रेयष ऐयर हुन् ।

श्रेयषले हालसम्म १० खेलमा कुल तीन सय ६० रन बनाइसकेका छन् । पञ्जाब किङ्का लागि सर्वाधिक विकेट लिने बलर भने युजवेन्द्र चहल हुन् । उनले हालसम्म १३ विकेट लिइसकेका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्धको पछिल्लो खेलमा ह्याट्रिक विकेट पनि लिएका थिए ।
- लखनउको सर्वाधिक रन पुरनको नाममा
यो सिजनको आईपीएलमा लखनउ सुपर जायन्ट्सका ब्याट्सम्यान निकोलस पुरन लयमा छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । पुरनले हालसम्म १० खेल खेल्दै चार सयभन्दा बढी रन बनाइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा मिचेल मार्श छन् ।

मिचेल मार्शले लखनउका लागि हालसम्म नौ खेल खेल्दै कुल तीन सय ७८ रन बनाइसकेका छन् । लखनउका लागि सर्वाधिक विकेट लिने बलर भने शार्दुल ठाकुर हुन् । उनले हालसम्म नौ खेल खेल्दै कुल १२ विकेट लिएका छन् ।
- धर्मशालामा पहिलो भिडन्त
जारी सिजनको आईपीएलमा धर्मशालास्थित हिमाञ्जल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा पहिलो खेल खेल्न लागिएको हो । यो स्टेडियमको पिच हालैमात्र पुनर्निमार्ण गरिएको हो । यो पिचमा बल निकै बाउन्स हुने अनुमान गरिएको छ ।

यो स्टेडियम पञ्जाब किङ्सको दोस्रो घरेलु मैदान हो । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १३ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । पाँच खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
पिचको पुनर्निमार्ण गरिनुअघि यो स्टेडियममा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ४१ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सविरुद्ध बनाएको थियो ।
- वर्षाले खेल बिथोल्ने सम्भावना
लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबिच खेल हुने दिन आइतबार धर्मशालामा वर्षाको निकै सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार धर्मशालामा वर्षाको सम्भावना ७५ प्रतिशत छ ।
दिनभर धर्मशालाको आकाश बादलले ढाकिएको हुनेछ । दिउँसोदेखि नै वर्षा सुरु हुने अनुमान गरिएको छ । धर्मशालामा आइतबारको तापक्रम १६ देखि २३ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, नेहल बाधेरा, शशांक सिंह, जस इङ्लिस (विकेटकिपर), मार्को यानसन, सूर्यांश शेडगे, अजमतुल्लाह ओमरजाई, युजवेन्द्र चहल, अर्शदीप सिंह, हरिप्रित बरार र प्रभसिमरन सिंह ।
लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), मिचेल मार्श, ऐडन मारक्रम, निकोलस पुरन, डेभिड मिल्लर, अब्दुल समाद, शार्दुल ठाकुर, दिग्वेश राठी, आवेश खान, पिन्स यादव, रवि बिश्नोई र आयुष बडोनी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण