सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण

सोमबार, १५ असार २०८३, ०६ : १०
सोमबार, १५ असार २०८३

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्ने गरेको छ ।

संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उनले भने, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्‍याउने गरेका छौँ ।”

तुलसीपुर–४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ती, अरनिको टोल, बरुवागाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहरलगायत स्थानमा यसरी ट्याङ्करबाट वितरण गर्ने गरिएको छ । तुलसीपुरमा एक करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको भए पनि हाल ५० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ ।

मुहान सुक्दा समस्या

यसरी खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु नै रहेको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार हाल खानेपानीका दगेरा र बाख्रेका मुहान सुकेका छन् । ती तुलसीपुर खानेपानीका अस्थायी मुहान हुन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट र चिसापानीका मुहानमा पानीको सतह घटेको छ । विगतभन्दा पानीको सतह घटेका कारण आपूर्तिमा समस्या रहेको थापाले बताए ।

त्यस्तै, तुलसीपुर–६ कभर्डहल नजिकको डिपबोरिङसमेत सुकेको छ । गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा पनि पानीको सतह घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा छ हजार लिटरको ट्याङ्कर भरिने गरेको भए पनि हाल उक्त ट्याङ्कर भरिन ३५ मिनेटभन्दा बढी समय लाग्छ ।

पढ्ढाका दुईवटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै, विद्युत् अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजारभन्दा बढी धारा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप