सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन

सोमबार, १५ असार २०८३, ०७ : ०९
सोमबार, १५ असार २०८३

सारांश

  • प्रेसिडेन्सियल ग्राजुएट स्कुलले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसन सम्बन्धी परियोजनाहरूको प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको छ।
  • यस 'प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६' कार्यक्रममा करिब १७० विद्यार्थीले तयार पारेका ५५ भन्दा बढी नवीन परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए, जसलाई करिब ४ हजार जनाले अवलोकन गरेका छन्।
  • प्रदर्शनीमा कम्प्युटर भिजन, आइओटी, साइबर भिलेज, सफ्टवेयर लगायतका परियोजनाहरू समेटिएका थिए, जसमा पुष्प वृष्टि गराउने ड्रोन, फुटबल खेल्ने रोबो सकर्स, डान्सिङ रोबोट र इमोसन डिटेक्सन सिस्टम मुख्य आकर्षण बनेका थिए।

काठमाडौँ। प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसँग सम्बन्धित परियोजनाहरूको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ।

असार ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालन भएको यस टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थीले तयार पारेका ५५ भन्दा बढी नवीन परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए।

उक्त भव्य प्रदर्शनीलाई करिब ४ हजार जनाले अभिरुचिपूर्वक अवलोकन गरेका छन्। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित यस स्कुलले ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ नाम दिएर यो कार्यक्रम आयोजना गरेको हो।

IMG_3315

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीले ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.० केवल प्रदर्शनी कार्यक्रम मात्र नभएर विद्यार्थीको सोच, सीप र सम्भावनालाई बजारसँग जोड्ने एक प्रभावकारी प्लेटफर्म’ भएको बताएका छन्। उनले विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनका समस्या समाधानमा कसरी प्रयोग गर्न सक्छन् भन्ने देखाउनु नै यसको मुख्य उद्देश्य रहेको प्रष्ट पारे। आगामी दिनमा इन्नोभिस्टालाई अझ व्यापक बनाउँदै नेपालमा एक बलियो ‘इनोभेसन इकोसिस्टम’ निर्माण गर्ने लक्ष्य उनले राखेका छन्।

प्रदर्शनीमा कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता, आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न विधाका परियोजनाहरू समेटिएका थिए। यस नवप्रवर्तनकारी मेलालाई विभिन्न क्षेत्र र व्यवसायका प्रतिष्ठित व्यक्तित्वहरूले अवलोकन गरेका छन्। पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, निम्बुस नेपालका प्रबन्ध निर्देशक आनन्द बगारिया, फुटबल खेलाडी उमेन्द्र मान सिंह, प्रदिप महर्जन, आइडियाप्रेनर नेपालका फाउण्डर एवं कलाकार तथा व्यवसायी सञ्जोग कोइरालालगायतले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरूको प्रविधिको प्रयोगात्मक अभ्यासको सरहाना गरे।

IMG_2643

यस पटकको प्रदर्शनीमा पुष्प वृष्टि गराउने एफपीभी ड्रोन, फुटबल खेल्ने रोबो सकर्स, गीतमा नाच्ने डान्सिङ रोबोट र एआई प्रविधिको प्रयोग गरी अनुहारको भाव अनुसार संगीत सिफारिस गर्ने ‘इमोसन डिटेक्सन सिस्टम’ मुख्य आकर्षणका रूपमा रहेका थिए। यसका साथै अचेल बढ्दै गएको अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षा जस्ता गम्भीर चुनौतीसँग लड्न सहयोगी हुने साइबर सुरक्षाका परियोजनाहरू पनि विद्यार्थीले प्रस्तुत गरेका थिए।

IMG_9754

कृषि क्षेत्रलाई आधुनिक बनाउने स्मार्ट सिँचाइ प्रणाली, ग्यास लिक हुँदा स्वचालित रूपमा अलार्म बज्ने र आपूर्ति बन्द गर्ने प्रविधिसहितको स्मार्ट होम सिस्टम, पर्यटन प्रवर्द्धन गर्ने विशेष सफ्टवेयर तथा ३६० डिग्री क्यामेरा जडित रिमोटबाट नियन्त्रण गर्न सकिने गाडी पनि प्रदर्शनीमा राखिएको थियो। यी सबै परियोजनाले प्रविधिको प्रयोगलाई दैनिक जीवन, सुरक्षा, कृषि, पर्यटन र व्यवसायसँग प्रत्यक्ष जोड्ने प्रयास गरेका छन्।

IMG_3798

स्कुलका अध्यक्ष लक्ष्मण केसीका अनुसार यी सबै परियोजनाहरू विद्यार्थीहरूले आफैँ सुरुवाती चरणदेखि मिहिनेत गरेर बनाएका हुन्। ‘नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,’ भन्दै केसीले अब यी परियोजनाहरूलाई उद्योग, लगानीकर्ता र बजारसँग जोड्ने काममा कलेज केन्द्रित हुने बताए।

IMG_3770

सम्भावना बोकेका परियोजनाहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउन स्कुलको बिजनेस इन्क्युबेसन सेन्टरले विशेष सहयोग गर्ने योजना बनाएको छ। यस अन्तर्गत आईटी र बिजनेस पढिरहेका विद्यार्थीहरूबीच सहकार्य गराई परियोजनाहरूलाई बजार, लगानी र नयाँ स्टार्टअपका लागि योग्य बनाइनेछ।

IMG_3886

प्रेसिडेन्सियल ग्राजुएट स्कुलकी निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले यो इभेन्ट हरेक वर्ष आयोजना गरिने जानकारी दिएकी छन्। ‘यो इभेन्ट हरेक वर्ष आयोजना गरिनेछ। उद्योगी र लगानीकर्तालाई आमन्त्रण गरेर विद्यार्थीलाई रोजगारी र स्टार्टअप अवसरसँग जोड्ने हाम्रो उद्देश्य हो,’ गुरुङले भनिन्। हाल प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा करिब १४ सय विद्यार्थीहरू अध्ययनरत छन् भने ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारीहरू कार्यरत रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप