सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत

सोमबार, १५ असार २०८३, ०६ : २५
सोमबार, १५ असार २०८३

सारांश

  • आँखाको सेतो भाग पहेँलो हुनु मिर्गौला, पित्तथैली वा प्यान्क्रियाजको समस्याको सङ्केत हुन सक्छ।
  • दृष्टि धमिलो हुनु मधुमेह वा उच्च रक्तचापको प्रारम्भिक लक्षण हुन सक्छ।
  • आँखाअगाडि तैरिरहेको आकृति देखिनु रेटिना डिटेचमेन्टको सङ्केत हुन सक्छ।

काठमाडौँ । आँखा हाम्रो शरीरको अत्यन्त संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो। आँखाबिना संसार देख्न असम्भव छ। त्यसैले, आँखाको स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ।

आँखासम्बन्धी कतिपय समस्याहरू शरीरभित्र लुकेर रहेका अन्य गम्भीर रोगका लक्षण पनि हुन सक्छन्। त्यसैले, आँखाको समस्यालाई जरैदेखि हटाउन यसको भित्री कारणसम्म पुग्न आवश्यक छ। आजको यस लेखमा हामी शरीरमा कुनै रोग लाग्दा आँखाले दिने १० वटा पूर्वसंकेत बारे चर्चा गर्नेछौँ :

१. आँखाको सेतो भाग पहेँलो हुनु

यदि आँखाको सेतो भाग पहेँलो हुन थालेको छ भने यो मिर्गौला, पित्तथैली वा प्यान्क्रियाज मा समस्या भएको सङ्केत हुन सक्छ।

२. दृष्टि धमिलो हुनु

यदि तपाईंले आफ्नो आँखामा धमिलोपन वा जालो लागेजस्तो महसुस गर्नुहुन्छ भने यो मधुमेह (डायबिटिज) को प्रारम्भिक सङ्केत हुन सक्छ। उच्च रक्तचाप (हाइपरटेन्सन) हुँदा पनि यस्तै समस्या देखिन सक्छ।

३. आँखाको नानीवरिपरि सेतो घेरा देखिनु

यदि तपाईंको आँखाको नानी (पुतली) वरिपरि सेतो वा खैरो रङको घेरा बन्छ भने यो बढ्दो उमेर (बुढ्यौली) को कारणले हुन सक्छ। यसका साथै यसले शरीरमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा उच्च भएको सङ्केत पनि दिन्छ।

४. आँखा फर्फराउनु

आँखाको ढकनी लगातार फर्फराइरहन्छ भने यो अत्यधिक चिया वा कफीको सेवन, स्नायु प्रणालीको थकान वा अनिद्रा (निद्राको कमी) को कारणले हुन सक्छ।

५. आँखा बाहिर निस्किएजस्तो देखिनु

आँखा बाहिर निस्किन थालेको वा अस्वाभाविक रूपमा ठुलो देखिएको छ भने यो 'हाइपरथाइरोइडिज्म' को लक्षण हुन सक्छ। थाइराइड ग्रन्थि आवश्यकताभन्दा बढी सक्रिय हुँदा यस्तो अवस्था आउँछ।

६. आँखाको ढकनीमा बारम्बार गिर्खा निस्किनु

आँखा चिलाउने वा ढकनीमा बारम्बार गिर्खा आउने समस्या हुनु रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको सङ्केत हुन सक्छ। कब्जियत र पेट दुखाइका कारण पनि यस्तो समस्या देखिन सक्छ।

७. आँखा सुक्खा हुनु

बारम्बार आँखा सुक्खा हुने र चिलाउने समस्या मोबाइल वा कम्प्युटरको स्क्रिनमा लगातार घण्टौँसम्म हेरिरहने बानीले गर्दा हुन सक्छ।

८. आँखाअगाडि तैरिरहेको आकृति देखिनु

आँखाको अगाडि विभिन्न आकार, कालो धब्बा, धागो वा जालाजस्तो वस्तु तैरिरहेको देखिनुलाई 'फ्लोटर' भनिन्छ। यदि यस्तो समस्या अत्यधिक मात्रामा देखिन थाल्यो भने यो ‘रेटिना डिटेचमेन्ट’ को सङ्केत हुन सक्छ।

९. ढकनीमा पहेँलो दाग वा गिर्खा देखिनु

आँखावरिपरि वा ढकनीमा आउने साना पहेँला गिर्खाहरूलाई ‘जेन्थिलाज्मा’ भनिन्छ। शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च हुँदा यस्तो समस्या देखा पर्न सक्छ।

१०. रातको समयमा कम देखिनु

साँझ पर्दै जाँदा वा रातको समयमा दृष्टि मधुरो वा धमिलो हुँदै जान्छ भने यसले शरीरमा भिटामिन 'ए' को कमी भएको सङ्केत गर्छ। समयमै यसको उपचार गरिएन भने पछि गएर अन्धोपनको समस्यासमेत निम्तिन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप