भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
- मधेस प्रदेश र कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
- लगातारको वर्षाले बाढी, पहिरो, नदी कटान, डुबानको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको पनि पूर्वानुमान गरिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार जारी गरेकाे सूचना अनुसार लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बस्ने तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान र सुरक्षित स्थानको जानकारी राख्न अनुरोध गरिएको छ।
यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।
प्राधिकरणले नागरिकलाई वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक पर्दा प्रयोग गर्न अनुरोध गरेको छ।
साथै जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीबारे जानकारी लिइरहन समेत आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण