आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने

आइतबार, ०४ जेठ २०८२, १५ : २३
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु प्ले–अफ चरणको नजिक छ । बेंगलुरुले शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने कार्यक्रम थियो । तर, उक्त खेल वर्षाका कारण रद्द भएपछि बेंगलुरुको प्ले–अफ चरण यात्रा केही लम्बिएको छ । 

हालसम्म १२ खेल खेलेको बेंगलुरु १७ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । बेंगलुरुले अब दुई खेल खेल्न बाँकी छ । बेंगलुरुले अब सनराइजर्स हैदराबाद र लखनउ जायन्ट्ससँग खेल्नेछ । त्यसमध्ये एक खेलमात्र जिते पनि बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछ । 

यसैबिच, बेंगलुरुका पूर्वखेलाडी एबी डे भिलियर्सले टोलीको प्रदर्शनबाट आफू निकै उत्साही भएको प्रतिक्रिया दिएका छन् । दक्षिण अफ्रिकी खेलाडी डे भिलियर्सले बेंगलुरु प्रतियोगिताको फाइनलमा पुगेमा आफू टोलीको हौसला बढाउन भारत आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

डे भिलियर्सले ११ वर्ष बेंगलुरुको टोलीबाट आईपीएल खेलेका थिए । उनले बेंगलुरुका लागि एक सय ५६ खेल खेल्दै कुल चार हजार चार सय ९१ रन बनाएका छन् । उनले विराट कोहलीसँग निकैपटक उत्कृष्ट साझेदारी पनि गरेका थिए । 

तर, उनले पनि बेंगलुरुलाई आईपीएलको उपाधि भने चुमाउन सकेनन् । त्यसपछि सन् २०२१ मा उनले आईपीएलबाट विदा लिएका थिए । तर, अहिले आएर आफ्नो पूर्वक्लबले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी पनि उत्साही बनेका हुन् । 

४१ वर्षीय डे भिलियर्सले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन्, ‘रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलको फाइनलमा पुग्यो भने टोलीको हौसला बढाउन म स्टेडियममा हुनेछ । यो मेरो प्रतिबद्धता हो । विराट कोहलीसँग मिलेर ट्रफी उचाल्दाको क्षम वास्तबमै रोचक हुनेछ,’ उनले भनेका छन् । 

डे भिलियर्सले दुईवटा टोलीबाट आईपीएल खेलेका थिए । उनले दिल्ली क्यापिटल्सबाट पनि २८ खेल खेल्दै ६ सय ७१ रन बनाएका थिए । 

आईपीएलमा उनले कुल एक सय ८४ खेल खेल्दै कुल पाँच हजार एक सय ६२ रन बनाएका छन् । यस क्रममा उनले तीन शतक र ४० अर्धशतक प्रहार गरेका छन् । उनी आईपीएलमा दुई सय ५१ छक्का प्रहार गर्ने खेलाडी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप