सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप प्रिभ्यु - इरानविरुद्ध मोरक्को : स्टार होइन मेहिनतले बनेको टिम

शुक्रबार, ०१ असार २०७५, १३ : ०८
शुक्रबार, ०१ असार २०७५

काठमाडौँ । विश्वचर्चित खेलाडीले भरिएका दुई हेभिवेट राष्ट्र स्पेन र पोर्चुगलसँगै समुह बीमा मोरक्को र इरान पनि छन् । यी दुबै देशका खेलाडीबारे अन्तर्राष्ट्रिय फुटबलमा कमै चर्चा हुन्छ । 
त्यसैले यसपटक यी दुबै टोलीलाई कमजोर आँकिएको छ । यस समुहबाट स्पेन र पोर्चुगलले दोस्रो चरणको यात्रा गर्ने धेरैको अनुमान छ । अनुमान र सट्टेबाजीलाई मात्रै आधारमा मान्ने हो भने मोरक्को र इरानकोे यात्रा औपचारिकताका लागि मात्रै हो । 

तर विश्वकप त्यति सजिलो कहाँ हुन्छ र ? यी दुई देशबीच आज सेन्ट पिटर्सवर्ग शहरमा भिडन्त हुँदैछ र दुबै देशले जित निकाल्नका लागि दिलोज्यान लगाएर खेल्नेछन् । दुबै देशले विश्वकपसम्म आइपुग्नका लागि धेरै मेहिनत गरेका छन् । उनीहरुले पछिल्ला खेलहरुमा राम्रो नतिजा निकाल्दै आएका छन् । 

पछिल्लो अवस्था 
पछिल्लो समय मोरक्को निकै उत्कृष्ट लयमा छ । विश्वकपमा छनोट भइसकेपछि खेलेका ५ खेलमध्ये मोरक्कोले ४ खेल जितेको छ र एक खेल बराबर गरेको छ । इटलीमा भएको मैत्रिपूर्ण खेलमा उसले सर्बियालाई २–१ ले हराएको थियो । यी ५ खेलमा उसले ३ गोलमात्रै खाएको छ । त्यसैले पनि मोरक्कोको पोष्टमा गोल गर्नु इरानका लागि सहज छैन ।


इरानले विश्वकपमा छनोट भइसकेपछि १० वटा खेल खेलेको छ । विश्वकप खेल्ने अन्य ३ टोलीसँग पनि मैत्रिपूर्ण खेलमा इरान भिडेको थियो । त्यसमध्ये उसले पानामालाई हरायो, रुससँग बराबरी खेल्यो र ट्युनिसियासँग पराजित भयो । अर्थात, इरानको यात्रा मिश्रित छ । यसका बाबजुद खेलेका पछिल्ला १० खेलमध्ये इरानले ७ खेल जितेको छ । त्यसैले आत्मविश्वास उच्च नै छ । 

हेर्नलायक खेलाडी 
नेदरल्यान्डस् यसपटकको विश्वकपमा छनोट हुन असफल भयो । तर डचहरुको प्रतिनिधित्व नै हुँदैन भन्ने होइन । मोरक्कोको टोलीमा रहेका ५ खेलाडी नेदरल्यान्डस्मा जन्मिएका हुन् । उनी सबै सुरुवाती ११ भित्र हटाउन विश्वास गरिएको छ । मोरक्कोको टोलीमा रहेका २३ खेलाडीमध्ये १७ जनाको जन्म विदेशमा भएको थियो । त्यसैले, उनीहरुसँग दोहारो नागरिकता अनि विदेशी लिग खेलेको अनुभव पनि छ । 


मोरक्कोको स्ट्राइकर अयुब इल काबी निकै फर्ममा छन् । उनले पछिल्ला ३ खेलमा २ गोल र एक एसिस्ट गरेका छन् । त्यसैले टोलीका स्टार खालिद बोउटाइभ र अयुबमध्ये कसलाई सुरुवाती एघारमा खेलाउने भन्नेमा प्रशिक्षकलाई दुविधा पर्नसछ । 

इसान हाजसाफीको अनुभव इरानी टोलीलाई काम लाग्नसक्छ । गत संस्करणको विश्वकपमा नाइजेरिया विरुद्ध खेल्ने खेलाडीमध्ये यसपटक हाजसाफीमात्रै टोलीमा सहभागी हुन् । अन्य सबै खेलाडी नयाँ हुन् । 

२० वर्षपछि फर्किएको मोरक्को 
मोरक्कोले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्न लागेको हो । सन् १९८६ को विश्वकपमा मोरक्कोले पोर्चुगललाई हराउँदै नकआउट चरणको यात्रा गरेको थियो । यसपटक मोरक्कोको टोली त्यस्तै, यात्रा गर्न चाहन्छ र संयोग्वस उसको समुहमा यसपटक पनि पोर्चुगल नै छ । तर, यसका लागि इरान विरुद्धको पहिलो खेलमा जित निकाल्नुपर्नेछ । 
एशियाली पावर हाउस इरानले छनोट चरणमा निकै उत्कृष्ट खेलेर विश्वकपमा स्थान बनाएको हो । तर  इरानलाई पनि कमजोर आँकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप