सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड

शनिबार, १७ जेठ २०८२, १८ : ५३
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • प्रचण्डले कांग्रेस र एमालेसँगको सहकार्यबाट राम्रो अनुभव नभएको बताए। उनले अब जनताको घरघरमा गएर समस्याको समाधान गर्ने र अन्य दलसँग सहकार्य नगर्ने कुरा व्यक्त गरे।
  • माओवादी केन्द्रले हुलाकी अभियानमा तराईमा ८-९ लाख जनता पार्टीमा प्रवेश गरेको र दुई पार्टीसँग एकता गरेको जानकारी दिए। मध्यपहाडी लोकमार्ग अभियानपछि थप तीन पार्टीसँग एकता गर्ने कुरा पनि उनले बताए।
  • प्रचण्डले कीर्तिपुरलाई धन्यवाद दिँदै आगामी दिनमा नयाँ काम गर्ने दृढता व्यक्त गरे। उनले उपत्यका जागरण अभियान जेठ २० गतेदेखि सुरु हुने र नेवार समुदायलाई प्राथमिकता दिइने बताए।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको बताएका छन् । 

शनिबार कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौँ। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौँ।’

अध्यक्ष प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिए। उनले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीन वटा पार्टीसँग निसर्त एकता गरिने जानकारी समेत दिए।

‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्नुभयो। उहाँले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्‍याए।

कीर्तिपुरलाई सधैँ परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउँदै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे।

“कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उनले भने, “यस पटक जित्न विशेष प्रयास गर्‍यौँ, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्‍याउन सक्यौँ। हामी निराश भएका छैनौँ, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौँ।”

सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए। उनले नेवार समुदायलाई प्राथमिकता दिनका लागि पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत बताए।

नेवार संस्कृतिमा समाजवादको भ्रूण रहेको उल्लेख गर्दै उनले भने, ‘समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ। समाजवादको खोजी नेपाली संस्कृति, जाति, र परम्परामै गर्नुपर्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप