भैरव अर्यालले सोधे, ‘कथा/कविता लेख्ने गरेको छ कि छैन ?’

समाचार सारांश
- सिर्जना शर्माको साहित्यिक यात्रा, १७ वर्षको उमेरमा कथा प्रकाशनबाट सुरु भई हालसम्म पाँच कृति प्रकाशित छन्।
- लेखनमा संघर्ष र परिवारको साथ नपाए पनि उनले लेखनलाई निरन्तरता दिइन्, र पहिलो कृति २०६३ मा प्रकाशित भयो।
- महिला साहित्यकारप्रतिको दृष्टिकोण र आगामी योजनाहरू: जीवन स्मृति र नियात्रा संग्रह लेख्ने इच्छा।।
१७ वर्षको उमेर (२०३० साल) मा ‘रोदनको कारण बुझ्दा’ शीर्षकको कथा गोरखापत्रमा प्रकाशित भएसँगै सिर्जना शर्माको पाइला नेपाली साहित्य जगतमा परेको थियो । यद्यपि कृतिकारका रुपमा उदाउन भने उनलाई समय लाग्यो ।
साहित्यकार सिर्जना शर्मा (जन्म : वि.सं. २०१३) का हालसम्म पाँच कृति प्रकाशित छन्— अन्त्यहीन पहिराहरु (कथासंग्रह, २०६२), ‘गोल्डेन गेट’ (उपन्यास, २०७०), आकाशको रङ (बालचित्रकथा, २०७२); दुर्ई मुक्तक संग्रह ‘जूनकीरीको उडान’ र ‘मन्दाकिनी’ ।
- पृष्ठभूमि
सिर्जनाको घरमा दाजुहरू सबैको रुचि साहित्यमा थियो । उनका दाइहरू आनन्ददेव र भीमदेव भट्ट त्यति वेलाका नाम चलेका साहित्यकार थिए । सिर्जनाले भने दाजुहरूसँग खासै समय बिताउन पाइनन् । पिताको जागिर जहाँ जहाँ हुन्थ्यो, त्यहीँ त्यहीँ आमासँगै जाँदा उनले विभिन्न परिवेशबारे जानकार हुने अवसर प्राप्त गरिन्, यसले उनलाई दाजुहरुदेखि भने भौतिक रुपमा टाढा राख्यो । त्यसैले आफूमा दाजुहरूको छाप खासै नपरेको उनी बताउँछिन् ।
उनका पिता जयदेव भट्ट न्यायाधीश थिए । पिता डोटी जिल्ला अदालतमा न्यायाधीश भएका वेला उनको अक्षरारम्भ भयो । पिता न्यायाधीश भएकाले उनीहरूको परिवारलाई त्यहाँको समाजले निकै माथिल्लो वर्ग मान्थ्यो । त्यसैले सिर्जनाले त्यहाँ साथी बनाउन सकिनन् । ‘हामीलाई त उनीहरूले एलियनजस्तो व्यवहार गर्थे । बोल्नै धक मान्ने, नखुल्ने । भाइ र म उनीहरूको नजिक गयौँ भने तर्कन्थे, भाग्थे । त्यसले हामीलाई निकै दुःखी बनाउँथ्यो,’ सिर्जना आफ्नो बाल्यकाल सम्झिन्छिन्, ‘त्यहाँ मेरो कोही साथी भएनन् । त्यसमाथि त्यहाँ स्कुल पढ्ने छोरीहरू निकै कम थिए ।’
नाटकमा सबै पुरुष पात्र मात्रै थिए, तर शिक्षकले महिला पात्र खडा गरेर सिर्जना र उनका साथीलाई पनि सहभागी हुन प्रेरित गरे ।
पछि उनका पिता नेपालगन्ज अञ्चल अदालतमा न्यायाधीश भएर गए । त्यहाँ भने सिर्जनाले अलि फराकिलो दायरा पाइन् । नेपालगन्जबाट पनि सरुवा भएर उनका पिता धरान गए । त्यतिखेर उनी कक्षा ८–९ मा पढ्थिन् । त्यसताका उनले पढ्ने विद्यालयमा कथा–कविता सुनाउने कार्यक्रम हुन्थे । यस्ता कार्यक्रममा उनी सहभागी हुन थालिन् । उनले साहित्यको सुरुवात छोटा कविता (चुट्किला)बाट गरेकी थिइन् ।
उच्च शिक्षा पनि उनले धरानबाटै पूरा गरिन् । पिताको सरकारी जागिरको कारण विद्यालयमा पनि आफूले ‘प्रिभिलेज्ड’ पाएको सिर्जनाको अनुभव छ । उनी भन्छिन्, ‘कक्षामै पनि शिक्षकले मलाई अलि बढी ध्यान दिने, कुनै कार्यक्रम भए त्यसमा सहभागिता जनाउन प्रोत्साहन गर्ने गर्थे ।
आईए पढिरहँदा एक दिन बौलाहाकाजीको सपना नाटक मञ्चन भयो । नाटकमा सबै पुरुष पात्र मात्रै थिए, तर शिक्षकले महिला पात्र खडा गरेर सिर्जना र उनका साथीलाई पनि सहभागी हुन प्रेरित गरे ।
लामो समय सिर्जनाले आफ्ना जुम्ल्याहा भाइको साथमा बिताएकी थिइन् । एसएलसी उत्तीर्ण भएपछि सिर्जना मातापितासँगै बसिन् भने भाइ उच्च शिक्षाका लागि काठमाडौँ आए । त्यतिवेला उनले भाइकै बारेमा एउटा कविता लेखिन् । केही शब्द यस्ता थिए—
सानु भाइ, तिमी के गयौ
आत्मा मेरो बिझायो
मेरो यो माया अधुरो पारी कुन्नि के रित्तै बनायो... ।
यही उनको पहिलो कविता थियो । अहिले भने उनको संग्रह र सम्झनामा यो कविता छैन ।
उनी आईए दोस्रो वर्ष पढिरहँदा बुबा सरुवा भएर काठमाडौँ आए । त्यसपछि उनी पनि काठमाडौँ आएर सुरुमा रत्नराज्यमा र पछि पद्मकन्या पढ्न थालिन् । पीकेमा पढिरहँदा उनको साहित्य लेखनले फक्रिने मौका पायो ।
पीकेमा भने अतिरिक्त क्रियाकलाप निकै धेरै हुन्थे । त्यहाँ उनको भेट इल्या भट्टराई लगायत साहित्यकारसित भयो । काठमाडौँमा नियमित बस्न थालेपछि सिर्जनाका ठुलो दाजुले वेला–वेला उनलाई पनि साहित्यिक कार्यक्रममा लैजान्थे । यसै सिलसिलामा सिर्जनाको चिनजान पारिजात, माधव घिमिरे, मञ्जुल, सिद्धिचरण श्रेष्ठ लगायत साहित्यकारसँग भयो । यी सबैले सिर्जनालाई लेखनका लागि प्रेरित गर्थे ।
- भैरव अर्यालको प्रेरणा
नाम चलेका साहित्यकारको छोरी भएर पनि इल्या भट्टराईले साहित्यमा खासै कलम चलाएकी थिइनन् । एकपल्ट कलेजको वार्षिकोत्सवमा प्रदर्शनका लागि सिर्जनाले एउटा कमिक्स लेखिन् । सिर्जना, इल्या र विजय भन्ने साथी मिलेर यसमा प्रस्तुति दिए । संयोग कस्तो पर्यो भने सो कार्यक्रममा भैरव अर्याल प्रमुख अतिथि बनेर आएका थिए । उनी त्यतिबेला गोरखापत्रमा काम गर्थे । उनीहरूको हास्यव्यङ्गात्मक प्रस्तुति उनले निकै चाख मानेर हेरे ।
कार्यक्रम सकिएपछि भैरवले सिर्जना शर्माको समूहलाई मञ्चमै बोलाए । ‘साह्रै राम्रो प्रस्तुति थियो, कसले लेखेको हो यो प्रहसन ?’ उनले सोधे । सिर्जनाले आफूले लेखेको बताइन् ।
यो २०३० सालको कुरा थियो । भैरव अर्यालले छापिदिन्छु भनेको सुनेर सिर्जना निकै उत्सुक भइन् । उनले इल्यालाई पनि भनिन्, ‘तिमी पनि केही लेख, छापिन्छ ।’
भैरवले सोधे, ‘कथा/कविता लेख्ने गरेको छ कि छैन ?’
सिर्जनाले कहिलेकाहीँ लेख्ने बताइन् ।
भैरवले भने, ‘गोरखापत्रमा पठाउ, म छापिदिन्छु ।’
यो २०३० सालको कुरा थियो । भैरव अर्यालले छापिदिन्छु भनेको सुनेर सिर्जना निकै उत्सुक भइन् । उनले इल्यालाई पनि भनिन्, ‘तिमी पनि केही लेख, छापिन्छ ।’
इल्यालाई भने भैरवको कुरामा खासै विश्वास लागेको थिएन । जसले जे भने पनि पत्याउने भन्दै उनले उल्टै सिर्जनालाई जिस्काइन् । सिर्जनालाई आफ्नो सिर्जना गोरखापत्रमा जसरी पनि छपाउनु थियो । उनले कथा तयार गरिन् र न्युरोड (गोरखापत्रको कार्यालय)सम्म साथी जानका लागि इल्यालाई मनाइन् । कथा छाडेर आएको केही दिनमै सिर्जनाको कथा गोरखापत्रमा छापियो, ‘रोदनको कारण बुझ्दा’ शीर्षकको । गोरखापत्रमा सिर्जना छापिनु चानचुने कुरा थिएन । सिर्जना छापिएपछि सिर्जना एसएलसी उत्तीर्ण भएसरह खुसी भइन् । कैयौँ दिनसम्म सिर्जनाले आफ्नो कथा छापिएको गोरखापत्रको अंक बोकेर हिँडिन्; आफन्त र साथीभाइलाई देखाइरहिन् ।
यसपछिका झन्डै दुई वर्ष सिर्जनाका कथा/कविताहरू नियमितजसो अभिव्यक्ति, गरिमा, रूपरेखा लगायत पत्रिकाहरूमा बाक्लै छापिन थाले । सिर्जना ती खुसीहरु व्यक्त गर्छिन्, ‘लेखेको पारिश्रमिक पाइन्थ्यो, त्यो पैसा निकै धेरैजस्तो लाग्थ्यो ।’
त्यति वेला महिला लेखक सीमित थिए । यसको फाइदा के भयो भने लेखिरहने महिलाका सिर्जना पत्रपत्रिकाले मागेरै छापिदिन्थे ।
२०३२ सालमा सिर्जनाको बिहे भयो । यसपछि दुई सन्तान जन्मिएर नहुर्किंदासम्म सिर्जनाको साहित्यिक यात्रामा विराम लाग्यो । घर–परिवार, बालबच्चा अनि जागिरबिच तालमेल मिलाउनुपर्दा उनले लेख्ने फुर्सदै पाइनन् । मस्तिष्कमा कथा–कविता अनेकौँ फुर्थे । तिनलाई टिप्न पनि भ्याउँदिनथिन् । लेखनमा सिर्जनाले घर–परिवार र खासगरी पतिबाट खासै साथ पाइनन् । साहित्यप्रति उति रुचि नराख्ने श्रीमानले उनलाई वेलावेला हाकाहाकी भन्थे, ‘लेखेर कामै छैन ।’ आफ्नो मनको शान्तिका लागि भए पनि सिर्जनाले लेख्न भने छाडिनन् ।
- पहिलो कृति
लेखेपछि छपाउन खासै दुःखकष्ट गर्नुपर्दैनथ्यो । २०६३ सालमा उनको पहिलो कथा संग्रह ‘अन्त्यहीन पहिराहरू’ बजारमा आयो । यसमा सुरुवाती दिनदेखि २०६३ अघिसम्म लेखेका सबै कथालाई उनले संग्रहित गरेकी छिन् । यसमा उनले घर–परिवार अनि समाजमा महिलामाथि हुने शोषण, विभेद आदिलाई देखाउन खोजेकी छिन् ।
‘मेरो लेख्ने समय भनेकै राति हो । सबै मस्त निद्रामा पुगेपछि मात्रै मैले लेख्न पाउँथे वा भनौँ सक्थेँ । यसमा संग्रहित केही कथामा फिल्डमा गएको समयमा गाउँमा देखेका दुःखपीडा पोखिएका छन्,’ उनी भन्छिन् । त्यति वेला नुवाकोट फिल्डमा जाँदा कतिपयले आफूहरूलाई बम्बैवाली (बम्बैमा लगेर केटी बेच्ने महिला) आएकी छ रे भनेको पनि उनले सुनिन् ।
पहिलो कृति निकाल्न उनले खासै पैसा खर्च गरिनन् । ‘यो कृति निस्किनुको श्रेय म वासु क्षितिजलाई दिन्छु ।’ उनले भनिन् ।
सिर्जना सेभ द चिल्ड्रेनमा कार्यरत रहेकै समयमा क्षितिजसँग उनको भेट भयो । साहित्यिक कर्म र लेखनबारे चर्चा परिचर्चा हुने क्रममा पत्रपत्रिकामा छापिएका कथाहरूको बारेमा कुरा भयो । आफूले एकजना सम्पादक र प्रकाशकलाई चिनेको भन्दै क्षितिजले कृति निकाल्ने कुरा अगाडि बढाए । पुस्तक छापिएर आएपछि सिर्जनाले सय थान किताब पाइन् । यसपछि सिर्जनाका केही थान बाल साहित्यका कृतिहरू छापिए । गोल्डेन गेट उपन्यासका लागि अक्षर प्रकाशनले उनलाई किताब निस्कनुअघि नै पैसा दिएको थियो । किताब छापिएर आएपछि रोयल्टी र पुस्तक दुवै पनि आइन् ।
सिर्जनाका लागि ध्यान, योगा सबै पठन नै हो । आफूलाई रुचि लागेको कुनै पुस्तक समातेर बस्यो भने उनी त्यसमै मग्न हुन्छिन् ।
अहिले आएर कृति प्रसव गाह्रो भइरहेको छ सिर्जनालाई । यति वेला सिर्जनाको किशोर उपन्यास तयारी अवस्थामा छ । कृति निकाल्ने सबै तयारी भइसकेको छ । उनले पोहोरको साल नै प्रकाशन गृहलाई यसको पाण्डुलिपि बुझाइसकेकी थिइन् । अहिलेसम्म पनि कृति छापिन्छ कि छापिँदैन वा छापिएर कहिले आउँछ उनलाई थाहा छैन । प्रकाशकको आलटाले व्यवहार सम्झिँदा कृति नै ननिकाल्ने हो वा प्रकाशन गृह फेर्ने हो भन्ने दोधारमा सिर्जना पुगिसकेकी छिन् ।
महिलाले राम्रो लेख्दैनन् भन्ने सोच नाम चलेका चर्चित साहित्यकारा समेत आफूले पाएको सिर्जना बताउँछिन् । पुरुष साहित्यकारको सर्कल पनि ठुलै हुन्थे । त्यसमाथि महिलाहरूले पनि पढ्थे तर पुरुषले महिला साहित्यकारले लेखेको कुरालाई ‘त्यसले के नै लेखी होली र ?’ भनेर हेयको दृष्टिकोणले हेर्ने गरेको उनको अनुभव छ । महिलालाई कसै कसैले दोस्रो दर्जाको रूपमा हेर्ने गरेको उनले बताइन् ।
- आगामी योजना
सिर्जनाका लागि ध्यान, योगा सबै पठन नै हो । आफूलाई रुचि लागेको कुनै पुस्तक समातेर बस्यो भने उनी त्यसमै मग्न हुन्छिन् । ‘मलाई दुईवटा कुरा गर्न असाध्यै रहर छ । एउटा जीवन स्मृति लेख्नु छ, अनि अर्को नियात्रा संग्रह निकाल्न मलाई निकै मन लागिरहेको छ,’ उनले भनिन् । ‘अहिले ठुल्ठुला मान्छेको जीवनी पढ्ने त कमै भेटिन्छन् । म जस्तोको कसले पढ्नु । त्यसैले मलाई जीवनी लेख्न मन छैन । पुराना स्मृतिमा कल्पनाका रङहरू मिसाएर अलि रोचक कथा लेख्न मन छ ।’ अझ अगाडि उनले भनिन् ।
वर्षभरिमा बल्लतल्ल दसैँमा एक थान नयाँ कपडाको अनुहार हेर्न पाइन्थ्यो । अहिलेको यो दुनियाँ हेर्दा त्यो जमाना उनलाई दूरदराजको कथाझैँ लाग्छ । हरेक मान्छेको जीवनका आ–आफ्नै दुःख संघर्ष हुन्छ, तर आफूले भोगेको जीवनलाई दुःखी मान्ने हो भने साँच्चै दुःख भोगेका, पीडाका आहालमा डुबेर बस्न बाध्यहरूको जीवनलाई के भन्नु भन्ने दोधारमा उनी छिन् ।