अन्त्यहीन पहिराहरू

समाचार सारांश
- एक १३ वर्षीया बालिकालाई एक व्यक्तिले विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्छन्, पछि उनलाई काठमाडौंमा ल्याएर फेरि शोषण गर्छन्।
- ती बालिकालाई पहिले कुबेरले आश्वासन दिन्छन्, तर पछि उनलाई बेच्ने योजना बनाउँछन्, र उनले बम्बई जान अस्वीकार गर्छिन्।
- अन्ततः, ती बालिकालाई काठमाडौंमा ल्याइन्छ र त्यहाँ पनि शोषणको शिकार हुन्छिन्, र उनको जीवन दुःखमय बन्छ।
उसले आफ्ना कोमल हातहरूले मैनाको कपाल सुमसुमायो, अनुहारको पसिना पुछ्यो, आँखाका कुना–कुनामा सोहोरिएका कचेरा झिक्यो र हात पाखुरा हुँदै सम्पूर्ण शरीरलाई हलुका–हलुकासँग मुसार्यो । प्रेमको कोमल स्पर्शानुभूति आफ्नो १३ वर्षको उमेरमा मैनाले पहिलोपटक अनुभव गरी र आफ्नो जीवनका सम्पूर्ण दुःखहरू बिर्सी । आफूलाई न्यानो काख दिने आमा छैन भन्ने बिर्सी, बाबुले लादेका असङ्ख्य कामको बोझ बिर्सी र मावलीको पराई व्यवहार बिर्सी ।
यही आनन्दमा लट्ठिएर आफ्ना जीवनका सम्पूर्ण थकानलाई कुबेरको काखमा बिसाएर मैना निदाउन मात्र के थालेकी थिई कुबेररूपी पहाडको निर्दयी पहिरो झर्यो र उसको सर्वाङ्ग थिच्यो । मैना आत्तिई, निस्सासिई र छट्पटाउँदै आफ्नो शक्तिको सम्पूर्ण प्रयासले पहिरो पन्छाउन खोजी तर सकिन ।
एकछिनपछि पहिरो आफैँ सर्लक्क पन्छियो । मैना अर्धबेहोसीबाट ब्युँझिई र काम्दै–काम्दै पहिरोले खोस्रेका घाउहरूलाई सुमसुमाउँदै बिस्तारै रुखको फेदमा गएर पल्टी । कुबेरले आफ्नो झोलाबाट बिस्कुट र दालमोठका दुई पोका झिक्यो र मैनाको हातमा थमाउँदै भन्यो— ‘मैना, भोक लाग्यो होला तँलाई, ला खा... ।’ मैना केही बोलिन र रसाएका आँखाले टोलाइरही । त्यस दिन मैना अरु दिनभन्दा चाँडो बाख्रा अघि लाएर घर फर्की ।
त्यस दिनपछि सदा सहज लाग्ने त्यो वन र वनमा आउने पशुपन्छीसँगको सामीप्य त्रासमा परिणत भयो । दुई दिनसम्म ऊ बिरामी परेर सुती । अनि तेस्रो दिनदेखि गोठमा अपर्याप्त घाँसमा बाँधिनुपरेका बाख्राहरूको कान छेड्ने म्या... म्या.... म्या... म्या... का कारण बाले कडा आदेश दिइहाले, ‘अलि–अलि बिसन्चो हुँदैमा ओछ्यानमा सुतेर कसलाई खान पुग्छ र ? ...फुकाल् बाख्राका डोरी... काम गरेपछि रोगसोग आफैँ हराउँछ । बाको कुरा ऊ रतिभर काट्न सक्तिनथी । अझ वनमा आफूलाई पहिरोले पुरेको खबर कसलाई कसरी सुनाउने ? भक्कानो फुटेर उर्लेका आँसुका भललाई बाहुलाको छेउले पुछ्दै–पुछ्दै पुनः मैना बाख्राहरू अघि लगाएर वन पुगी ।
सदाजस्तो वन घन्काएर आज उसले गीत गाइन । बरु एउटा रुखमुनि गएर बसी र चुपचाप टोलाएर कता हो कता एकोहोरो हेरिरही । बिहानभरि बादल लागेको थियो । १२ बजेतिर घाम झुल्कियो र घाम सँगसँगै कुबेर पनि झुल्कियो । कुबेरलाई देख्नेबित्तिकै ऊ डराई र जुरुक्क उठेर दौडँदै अलि परको एउटा रुखपछाडि लुकी । तर ओरालोका बस्तीहरूमा पहिरो पर्न कुन कानुनले रोक्न सक्थ्यो र ? पहिरोले हतार–हतार फेरि उसलाई थिचिहाल्यो ।
यसरी पटक–पटक पहिरोमा पुरिँदा समयको अन्तरालसँगै उसलाई यो काम सहज लाग्दै जान थाल्यो । एक–डेढ वर्ष यसै गरी बित्यो । पुर्नुअघि कुबेरले उसलाई मिठामिठा खानेकुरा, पैसा, बास्ना आउने साबुन, तेल, क्रिम पाउडर झिलिमिली चुरा, किलिप आदि दिने गथ्र्यो, जो उसलाई साह्रै मनपर्ने चिज थिए । यसभन्दा ठुलो कुरो त कुबेरले उसलाई ठूलो विश्वास दिएको थियो । जिन्दगीको दुःखबाट उसलाई उम्काइदिने बलियो विश्वास । यस विश्वासप्राप्तिका लागि मैनाले ठुलो आँट गर्नु थियो । घर छोडेर कुबेरको साथ हिँड्नुपर्ने आँट । विस्तार मैनाको आँटलाई उचाल्न उसले भन्यो–
‘मैना ! तँजस्ती रूपकी रानी त यो दुनियाँमा बिरलै छन् । यस्ती जूनजस्ती अप्सराले त फिलिममा हिरोइन हुनुपर्छ । कि जान्छेस् फिलिम खेल्न ?’ मैना केही बोलिन । उसले कुरा अगाडि बढायो– ‘हिरोइन भएपछि त पैसा कति हो कति ! मालामाल । ...दिनदिनै नयाँ लुगा, दिनदिनै फेरी फेरी गहनागुरिया ।’ उसको कुरामा गहिरो चासो राख्दै मैनाले सोधी, ‘कहाँ हो नि हिरोइन हुन जाने ठाउँ ?’
‘जहाँ गए पनि त भयो... । तर काठमाडौँका हिरोइनहरूले त पैसा धेरै कमाउँदैनन् । दिल्ली बम्बई गइस् भने त मलाई पनि किन्न सक्छेस् ।’
बम्बईको नाम सुनेबित्तिकै एकबित्ता लामो जिब्रो झिकेर टोक्दै मैना कराई— ‘...आबुई म त त्यो बम्बई भन्ने ठाउँ त रानी बनाइदिन्छु भने पनि जान्नँ, हिरोनी त के कुरा ? थाहा छ कुबेर काका ? बम्बई जाने केटीहरूलाई त एड्स भन्ने रोग लाग्छ रे ।’
कुबेर जोडले खित्का छोड्दै हाँस्यो र भन्यो, ‘एड्स !!! कसले भन्यो तँलाई
यस्तो कुरा ? के हो एड्स भनेको ?’
उसले कुबेरलाई एड्सबारे आफूले सुनेको कुरा बताई । एड्स लागेपछि मान्छे मरिहाल्छ रे । अहिले आएको नयाँ रोग हो रे क्या त्यो । मलाई त मर्नु छैन । र भनी, ‘म त मरे पनि त्यो बम्बई भन्ने ठाउँमा जाँदै जान्नँ ।’
‘अनि कहाँ जान्छेस् त ? काठमाडौँ ?’
‘जान्नँ, काठमाडौँ पनि जान्नँ । मलाई त डर लाग्छ ।’
‘अभागीहरूलाई यस्तै हो । भोकप्यास लाग्छ, निद लाग्छ, दुःखले घेर्दा सुखको आशा लाग्छ, अनि डर किन लाग्छ ?’ कुबेरले कड्केर भन्यो । तर मैना केही बोलिन ।
अनि ऊ केही क्षण रोकियो र मैनाको टाउको मुसार्दै भन्यो, ‘मैना, तँ देखेर म साह्रै खुसी भएँ, आजकलको जमाना राम्रो छैन । पराईले फकाइफुलाई केटीहरूलाई बम्बई पुर्याउँछन्, त्यहाँ लगेर बेच्छन् र आफू भाग्छन् । त्यसैले जसको पायो त्यसको कुरा नपत्याउनू, बम्बईजस्तो ठुलो सहरमा काम नपाइने त कुरै छैन, तर पराईले कस्तो काममा लगाइदिन्छन्, के थाहा ? साँच्चै त हो नि... ।’
मैनाले फेरि कुरो दोहोरर्याई ‘म त बम्बई मरे पनि जान्नँ ।’
कुबेरले मैनाको कुरामा सही थाप्दै भन्यो, ‘ठिकै, हो... मान्छेले आफ्नो मनले नखाएको काम गर्नै हुन्न ।’ अनि एउटा विदेशी चकलेट मैनाको हातमा राखिदिँदै बडो भावुक भएर उसले भन्यो– ‘मैना, मेरो लागि जिन्दगीमा तँजस्तो प्यारो अरु कोही हुन सकेन । तैँले दुःख पाएर यो नर्कमा बसेको मेरो मनले सहन सक्दैन । घरकी स्वास्नी बघिनी नभएकी भए तँलाई आफ्नै घरमा भित्र्याउँथेँ । तर मेरो आँखा अगाडि त्यसले तँलाई सिकार बनाएको सहने शक्ति ममा छैन । नबस्नु माया बसिहाल्यो तँसँग, कि हिँड् काठमाडौँ जाऊँ । आँट गर मैना, आँट गर । जाऔँ सँगै ।’ कुबेरको पटकपटकको यस्तो कुराकानीले मैनाको मन पगाल्यो । अनि उसलाई कुबेरसँग जाऊँजाऊँ लाग्न थाल्यो ।
एनकेन प्रकारेण गाउँको एउटा मन्दिरमा लगेर कुबेरले मैनाको सिउँदोमा सिन्दूर हाल्यो । त्यसबेला उसले मैनाको नामको न्वारान पनि गरिदियो– ‘मनीषा हो अब तेरो नाम बुझिस् ? फिलिमकी हिरोइनको नाम पनि मनीषा छ । सुनेकी छस् कहिले ? के सुन्नु कुवाकी ब्याङ्ले... !’
त्यसपछि कुबेरका साथ मनीषा काठमाडौँ पुगी । काठमाडौँमा ठुलो कम्पाउन्डभित्र रहेको एउटा चिटिक्क परेको सुन्दर घरमा कुबेर जोडी रमेर बस्न थाले । काठमाडौँको बसाइ बडो आनन्दको लाग्यो मनीषालाई । न घाँस–दाउरा खेप्नुपर्ने टन्टा, न काम गरिन भन्ने कसैको कचकच । मिठामिठा तैयारी खानेकुरा थालमा राख्ने, साथीभाइहरूसँगै बसी खाने, तास खेल्ने, सिनेमा हेर्ने । न कसैको चर्को बोली, न डर त्रास, हाँसखेल ठट्टा राम्रो लुगा गहना लगाएर ट्याक्सी चढेर सहर घुम्ने आदि इत्यादि ।
कुबेर केही समय नवविवाहित पत्नीको मनोरञ्जन र नयाँ वातावरणसँग उसको परिचयका लागि कामबाट छुट्टी लिएर बसेको थियो । अब उसले बिस्तारै काम सुरु गर्यो ।
एकदिन साँझपख खानपिन सकेर कुबेर काममा बाहिर निस्कियो । मनीषा श्रीमान्का विदेशी मित्रसँग अङ्ग्रेजी बोल्ने अभ्यास गर्दै थिई । अनायस उसको कोठामा ठुलो आधिँबेरी आयो । कोठामा झ्यालढोका ढ्यामढुम बन्द भए। मनीषाको होस् हवास् उड्यो । कोठाबाट आफूलाई बाहिर उम्काइदिन पाहुनासँग ऊ अनुनय–विनय गर्न थाली । तर उसको भाषा पाहुनाले किन बुझ्थ्यो र ? निर्दयतापूर्वक पाहुनारूपी पहिरोले उसलाई पुरिहाल्यो । सिंगो रातभरि नै पहिराले मनीषामाथि आफ्नो मनोमानी जमायो । पहिरोका रातभरिका गुल्टाइहरूले उसको प्राण त लिन सकेन, तर उसले पुनः पहिरोबाट अति पीडाको बोध गरी । उज्यालो हुने बेलातिर पहिरो कुन दिशातर्फ लाग्यो कुन्नि ? मनीषालाई वास्तै भएन ।
सूर्यको उज्यालो कोठामा पस्दा उसको सामु कुबेर झुल्कियो । पतिका सामु पहिरोले पुरेको अनुहार देखाउन उसलाई डर र लाज लागेर आयो । के भन्लान् यिनले मलाई ? एकैछिन आफूले छोडेर हिँड्दा पहिरोसँग लुटपुटिने छँडुली भन्लान् । रातिको यथार्थ घटना पतिले थाहा पाउँछन् । आफूलाई गलहत्याएर नर्कमा पठाइदिन्छन् भन्ने त्रासले मनीषा थरथर काँपी र भगवान्सँग प्रार्थना गर्न थाली– ‘हे भगवान् मैले कुनै परपुरुषलाई सपनामा सम्म चाहेकी छैन । त्यो बेइमानी दैत्यले मलाई कति साह्रो धोका दियो । म निर्दोष छु नाथ । मलाई सङ्कटबाट पार गराऊ ।’ मनीषाको आँखाबाट बरबर आँसु झर्न लागे । कुबेर मनीषाको नजिक आएर बस्यो र आफ्नो गोजीबाट हाते रुमाल झिकेर उसको आँसु पुछ्दै भावविभोर हुँदै भन्न थाल्यो– ‘मनु, तिमी रोयौ कि त मेरो मुटुमा घाउ हुन्छ... किन रोएकी ? के भयो तिमीलाई..? नरोऊ न ।’ लोग्नेले आफूलाई यति अगाध माया गरेको देख्दा उसको छाती अझ बल्झिन थाल्यो । उसले घटनाको बयान पतिलार्य खोजी । तर डरले वाक्य घाँटीबाट माथि आउनै सकेन ।
उसका ओठ फरफराए र आँसु झार्दै मनमनै भन्न थाली– ‘हे रामचन्द्र, तपाईंको अमूल्य सामान पहिरोले कुच्याइसक्यो... तपाईंको अमूल्य हीरामा कीरा
लागिसक्यो... ।’
“तपाईंका सबै साथीहरू गुन्डा रहेछन् । दिनभरका भक्त कुकुर, रात परेपछि भोका ब्वाँसाहरू । यिनीहरूले मलाई खान्छन् ।... यस्ता गुन्डाहरूको सङ्गत तपाईं आजैदेखि छोडिदिनुस् ।’
यति भनेर डरले मनीषा चुप लागी । कुबेर केही क्षण टोलायो । वातावरण एकछिन शान्त रह्यो । अनि कुबेरले भन्यो– ‘मनु, यस्तो कुरा मुखबाट कहिल्यै ननिकाल । तिनीहरू को हुन् थाहा छ ? ठुला मान्छेहरू । हाम्रो अन्नदाता....। भविष्य निर्माता.... । हाम्रा लागि ईश्वरसरह हुन् ।
पतिको यस्तो कुरा सुनेर मनीषा स्तब्ध भई, सोच्दै नसोचेको कुरा सुन्दै थिई ऊ ।
‘तिनीहरू रिसाएमा त हाम्रो जिन्दगी दुःखको घोर नर्कमा डुब्छ । परिवारको भविष्यका लागि हाम्रो आनन्दमय जिन्दगीका लागि तिनीहरूले जे गरे पनि सही देऊ । तिनीहरू हामीलाई नराम्रो गर्ने व्यक्ति कदापि होइनन् ।’
‘तिनीहरू हामीलाई नराम्रो गर्ने व्यक्ति कदापि हैनन्, तिनीहरूले जे गरे पनि सहिदेऊ’ कुबेरको यो वाक्यले मनीषालाई नजानिदो किसिमबाट आतङ्कित पार्यो । कुबेर बोल्दै नै थियो । ‘...मनु, स्वास्नीमान्छे पृथ्वी हो बुझ्यौ ? धरती विशाल हुन्छ । विशालतालाई प्रयोग गर्ने अधिकार सबैको हुन्छ । समुद्रमा चारैतिरबाट पानी मिसिन आउँछ । यसको विरोध कसले गर्छ ? धरतीमा कहिले घाम लाग्छ, कहिले आँधीबेरी, बाढी, पहिरो आउँछ यो त नियति नै हो... ।’
कुबेरको कुरा मनीषाले बुझी । मुक्तिका उसका सम्पूर्ण चाहनाहरूमा हजारौँ पहिराहरू परे । यी पहिराहरू विगतका पहिराहरूझैँ क्षणिक थिएनन् । यी त एकदमै भयानक दुर्दान्त थिए । उसको चन्द्रमुखी अनुहारमा वेदनाको खग्रास ग्रहण लाग्यो । तर त्यो ग्रहण ती भीषण पहिराहरू छेक्न सक्षम थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
-
यातायात बन्द हुँदा यस्तो देखियो काठमाडौँ, तस्बिरहरू
-
फ्रान्समा पीएसजीको जितको उत्सवका क्रममा २ जनाको मृत्यु, ५०० जना पक्राउ
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
-
शिलान्यासको छ वर्षपछि बल्ल नमुना सदरमुकाम निर्माण थालियो
-
के तपाईं पनि गर्मीमा टाउको दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ?