सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
आईपीएलको दोस्रो क्वालिफायर

फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई

आइतबार, १८ जेठ २०८२, ०९ : ४३
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • आईपीएल क्रिकेटको दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्, विजेताले फाइनलमा बेंगलुरुसँग खेल्नेछ।
  • मुम्बई र पञ्जाबबीचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार राति १९:४५ बजे सुरु हुनेछ, जहाँ ब्याट्सम्यानलाई साथ दिने पिच छ।
  • मुम्बईका सूर्यकुमार यादव र रोहित शर्मा लयमा छन् भने पञ्जाबका प्रभसिमरन सिंह र श्रेयष ऐयरले राम्रो प्रदर्शन गरेका छन्।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दोस्रो क्वालिफायर खेल खेल्दै छ । फाइनल प्रवेशको लक्ष्यसहित दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्स र पञ्जाब किङ्स आपसमा भिड्दै छन् । 

पञ्जाब र मुम्बईबिचको खेल विश्वकै सबैभन्दा बढी दर्शक क्षमता भएको अहमादाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले जुन ३ तारिखमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग फाइनल खेल्नेछ । 

बेंगलुरु भने पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा बेंगलुरुसँग हारेपछि पञ्जाबले दोस्रो क्वालिफायर खेल्नु परेको हो । मुम्बई भने एलिमिनेटर भिडन्तमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । 

मुम्बई र पञ्जाबले आईपीएलको इतिहासमा पहिलो पटक प्ले–अफ चरणमा आपसमा भिडन्त गर्न लागेका हुन् । यो सिजनको आईपीएलमा भने पञ्जाब र मुम्बई दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा पञ्जाबले मुम्बईलाई सात विकेटले हराएको थियो । 

हेड टु हेडमा एक जितको अन्तर

mi
आईपीएलको इतिहासमा पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबिच ३३ खेल खेलिएको छ । त्यसमा एक जितको मात्र अन्तर देखिन्छ । मुम्बईले १७ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने १६ खेलमा मुम्बईलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा दुबै टोली पहिलो पटक भिड्न लागेका हुन् ।

लयमा छन् सूर्य र रोहित
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । पूर्वकप्तान रोहित शर्मा पनि लयमा देखिएका छन् । सूर्यकुमारले हालसम्म १५ खेल खेल्दै कुल ६ सय ७३ रन बनाएका छन् । 

यो सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी दोस्रो स्थानमा आसीन छन् । उनले हालसम्म पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । रोहितले भने १४ खेलमा कुल चार सय १० रन बनाएका छन् । 

रोहितले यस क्रममा चारवटा अर्धशतक प्रहार गरेका छन् । एलिमिनेटर भिडन्तमा पनि उनले गुजरातविरुद्ध केवल ५० बलमा ८१ रन बनाएका थिए । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर ट्रेन्ट बोल्ट हुन् । उनले १५ खेलमा २१ विकेट लिएका छन् । जसप्रित बुमराह र मिचेल सान्टनर पनि लयमा छन् । 



पञ्जाबको सर्वाधिक रन प्रभसिमरनको नाममा
यो सिजनको आईपीएलमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान प्रभसिमरन सिंह हुन् । उनले हालसम्म १५ खेलमा कुल पाँच सय १७ रन बनाइसकेका छन् । यस क्रममा उनले चार अर्धशतक पनि प्रहार गरेका छन् । 

singh

पञ्जाबका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान श्रेयष ऐयर हुन् । उनी पनि लयमा देखिएका छन् । उनले १५ खेलमा पाँच सय १६ रन बनाइसकेका छन् । यस क्रममा उनले पाँच अर्धशतक प्रहार गरेका छन् । 

प्रियांश आर्या पनि लयमा छन् । उनले १५ खेलमा चार सय ३१ रन बनाएका छन् । पञ्जाकका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले १५ खेलमा १८ विकेट लिएका छन् । यो खेलमा युजवेन्द्र चहल पनि फर्कन सक्छन् । टोलीमा अजमतुल्लाह ओमरजाईजस्ता प्रभावशाली बलर पनि छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच
मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबिच दोस्रो क्वालिफायर खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । खेलको मध्यतिर स्पिन बलरले पनि केही सहयोग पाउन सक्छन् । 

यो स्टेडियममा हालसम्म आईपीएलको ४२ खेल खेलिएको छ । त्यसमध्ये २१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र २१ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा बनेको ठुलो स्कोर पाँच विकेट गुमाएर दुई सय ४३ रन हो । यो स्कोर पञ्जाबले यही सिजन गुजरात टाइटन्सविरुद्ध बनाएको थियो ।

वर्षाको निकै कम सम्भावना
पञ्जाब किङ्स र मुम्बई इन्डियन्सबिच दोस्रो क्वालिफायर खेल हुने दिन आइतबार अहमादाबादमा वर्षाको निकै कम सम्भावना छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना दुई प्रतिशत मात्र छ । तापक्रम २८ देखि ३८ डिग्री सेल्सियको बिचमा रहने छ ।

सम्भावित टोली 
पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रभसिमरन सिंह, जस इङ्लिस, नेहल बढेरा, शशांक सिंह, मार्कश स्टोइनिस, अजमतुल्लाह उमरजाई, प्रविण दुबे, काइल जामिसन, हरप्रित बरार र अदर्शदी सिंह । इम्प्याक्ट प्लेयर : मुशिर खान । 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, जोनी बेयरस्टो, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, राज बाबा, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र रिचर्ड ग्लिसन । इम्प्याक्ट प्लेयर : अश्विन कुमार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप