बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिगको फाइनल

पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै

मङ्गलबार, २० जेठ २०८२, ११ : ४५
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्स भिड्ने।
  • फाइनल खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ, जहाँ बेंगलुरु र पन्जाबले यसअघि प्रतिस्पर्धा गरिसकेका छन्।
  • खेलमा वर्षाको सम्भावना रहेको र खेल प्रभावित भएमा नियम परिवर्तन हुने सम्भावना।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको उपाधि भिडन्त मंगलबार हुँदैछ । १८औँ संस्करणले आईपीएललाई नयाँ च्याम्पियन दिने पक्का भइसकेको छ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्सबिच भिडन्त हुनेछ । 

खेल विश्वकै सबैभन्दा बढी दर्शक क्षमता भएको अहमादाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आए पनि यी दुवै टोलीले हालसम्म उपाधि जित्न सकेका छैनन् । 

आईपीएलले तीन वर्षपछि नयाँ च्याम्पियन पाउन लागेको हो । यसअघि सन् २०२२ मा गुजरात टाइटन्स पहिलो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला गुजरात टाइटन्सले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । 

जारी सिजनको आईपीएलमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शनसहित फाइनलसम्मको यात्रा तय गरेका हुन् । त्यसैले उपाधि भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुवै टोली पहिलो पटक फाइनलमा आपसमा भिड्न लागेका हुन् । 

बेंगलुरुको फाइनल यात्रा

रोयल च्यालेन्जर्स बेंगलुरु लिग चरणको खेलमा अंक तालिकामा दोस्रो भएर प्ले–अफ चरणमा प्रवेश गरेको थियो । लिग चरणमा बेंगलुरुले १४ मध्ये नौ खेलमा जित र चार खेलमा हारको नतिजा निकाल्यो । १९ अंक बटुलेको बेंगलुरुको एक खेल भने अनिर्णीत रुपमा सकिएको थियो ।

त्यसपछि बेंगलुरुले पन्जाब किङ्ससँग प्रतियोगिताको पहिलो क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायरमा पञ्जाबलाई आठ विकेटले हराउँदै बेंगलुरुको टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

यो सिजनको आईपीएलमा बेंगलुरुले एउटा कीर्तिमान पनि बनाएको छ । बेंगलुरु आईपीएको एउटै सिजनमा खेलिएको लिग चरणको आफ्नो सबै अवे (विपक्षी टोलीको मैदानमा खेलिएको) खेल जित्ने एकमात्र टोली बनेको छ । 

जारी सिजनको आईपीएलको लिग चरणमा बेंगलुरुले सातवटा टोलीलाई उसेको घरेलु मैदानमा हरायो । बेंगलुरुले विपक्षी टोलीको घरेलु मैदान कोलकाता, चेन्नई, मुम्बई, जयपुर, मुल्लनपुर, दिल्ली र लखनउमा खेल जितेको हो । 

यसका अतिरिक्त बेंगलुरुले पहिलो क्वालिफायर खेलमा पनि पन्जाब किङ्सलाई उसैको घरेलु मैदान मुल्लनपुरमा हराएको थियो । यदि, मंगलबार हुने पन्जाब किङ्सविरुद्धको फाइनल खेलमा पनि विजयी भए बेंगलुरुले अर्को कीर्तिमान बनाउने छ । 

यस्तो स्थितिमा बेंगलुरुको टोली आईपीएलको एउटा सिजनमा आफूले खेलको सबै ‘अवे’ खेल जित्ने एकमात्र टोली बन्नेछ । त्यसपछि बेंगलुरुको यो कीर्तिमान तोडिन पनि निकै कठिन हुनेछ । 

पन्जाबको फाइनल यात्रा

पन्जाब किङ्सले जारी सिजनको आईपीएलको लिग चरणमा अब्बल प्रदर्शन गरेको थियो । पन्जाबको टोली लिग चरणको तालिकामा १९ अंकसहित पहिलो हुँदै प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गरेको हो । लिग चरणमा पञ्जाबले नौ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको थियो । 

पन्जाबको एक खेल भने अनिर्णीत रुपमा सकिएको थियो । पन्जाब र बेंगलुरुको अंक बराबरी भए पनि नेट रन रेटमा पञ्जाबले बेंगलुरुलाई पछि पारेको थियो । पहिलो क्वालिफायर भिडन्तमा पन्जाबको टोली बेंगलुरुसँग आठ विकेटले पराजित भएको थियो । 

त्यसपछि पञ्जाबले मुम्बई इन्डियन्ससँग दोस्रो क्वालिफायर खेल्नु परेको थियो । दोस्रो क्वालिफायर खेलमा पञ्जाबले मुम्बईलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यसैले पञ्जाबले फाइनलमा पुग्न बेंगलुरुभन्दा एक खेल बढी खेल्नु पर्‍यो ।

आईपीएलमा बेंगलुरको प्रदर्शन

बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । 

त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

आईपीएलमा पन्जाबको प्रदर्शन

पन्जाब किङ्सको टोली सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, पन्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । 

सन् २०१४ मा पन्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पन्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।

जारी संस्करणमा चौथो भिडन्त

जारी संस्करणको आईपीएलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु चौथो पटक आपसमा भिड्न लागेका हुन् । १८औँ संस्करणमा यसअघि यी दुई टोलीबिच लिग चरणमा दुईपटक र प्ले–अफ चरणमा एकपटक भिडन्त भएको थियो । 

जारी संस्करणमा यी दुई टोली अप्रिल १८ तारिखमा पहिलो पटक आपसमा भिडेका थिए । आईपीएलको त्यो ३४औँ खेल थियो । उक्त खेलमा पञ्जाबले बेंगलुरुलाई पाँच विकेटले हराएको थियो । वर्षाका कारण उक्त खेल १४–१४ ओभरमा खेलाइएको थियो ।

त्यसपछि लिग चरणमा अप्रिल २० तारिखमा यी दुई टोली दोस्रो पटक आपसमा भिडेका थिए । जारी आईपीएलको त्यो ३७औँ खेल थियो । त्यो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पन्जाब किङ्सलाई सात विकेटले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो ।

यसैगरी, मे २९ तारिखमा पहिलो क्वालिफायर खेलमा बेंगलुरु र पञ्जाबबिच तेस्रो पटक भिडन्त भएको थियो । आईपीएलको इतिहासमा यी दुई टोली प्ले–अफ चरणमा पहिलो पटक भिडेका थिए । त्यो खेलमा बेंगलुरुले पञ्जाबलाई आठ विकेटले हराएको थियो । 

हेड टु हेडको अवस्था बराबर

आईपीएलको इतिहासमा रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्सबिच हालसम्म ३६ पटक भिडन्त भएको छ । त्यसमध्ये १८ खेलमा बेंगलुरुले पञ्जाबलाई हराएको छ । पञ्जाबले पनि १८ खेलमै बेंगलुरुलाई पराजित गरेको छ । 

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भने यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि जारी संस्करणको पहिलो क्वालिफायर खेल पनि यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा बेंगलुरुले पञ्जाबलाई हराएको थियो ।

पन्जाबको सर्वाधिक रन श्रेयषको नाममा

जारी सिजनको आईपीएलमा पन्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान श्रेयष ऐयर हुन् । उनले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले १६ खेलमा कुल ६ सय तीन रन बनाइसकेका छन् । 

यस क्रममा उनले ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । यो सिजन उनको उत्कृष्ट प्रदर्शन अविजित ९७ रन हो । उक्त रन उनले नरेन्द्र मोदी स्टेडियममै बनाएका हुन् । मुम्बईविरुद्धको दोस्रो क्वालिफायर खेलमा टोलीलाई जिताउन पनि उनले अविजित ८७ रनको योगदान गरेका थिए । 

प्रभसिमरन सिंह र प्रियांश आर्याको ओपनिङ जोडीले पनि गतिलो प्रदर्शन गर्दै आएको छ । प्रभसिमरनले १६ खेलमा कुल पाँच सय २३ रन बनाएका छन् । प्रियांशले पनि १६ खेलमा चार सय ५१ रन जोडेका छन् । नेहल बधेरा र शशांक सिंह पनि लयमा छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले १६ खेलमा १८ विकेट लिएका छन् । 

लयमा छन् बेंगलुरुका विराट

जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । प्रभावशाली ब्याट्सम्यान विराटले हालसम्म १४ खेल खेल्दै कुल ६ सय १४ रन बनाइसकेका छन् ।

यस क्रममा उनले आठवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी जारी सिजनको आईपीएलमा आठवटा अर्धशतक प्रहार गर्ने एकमात्र ब्याट्समयन हुन् । यो सिजन उनको उत्कृष्ट प्रदर्शन भने अविजित ७३ रन हो । 

विराटका जोडी फिल साल्टले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले १२ खेलमा कुल तीन सय ८७ रन बनाएका छन् । यस क्रममा उनले चार अर्धशतक प्रहार गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन ६५ रन हो । 

यसका अतिरिक्त, रजत पाटिदार, देवदत्त पाडिकल र मयंक अग्रवालको प्रदर्शन पनि सन्तोषजनक छ । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले हालसम्म ११ खेलमा कुल २१ विकेट लिएका छन् । 

क्रुणाल पाण्ड्याले १४ खेलमा १५ विकेट हात पारेका छन् । भुवनेश्वर कुमार र यश दयालजस्ता क्षमतावान बलर पनि टोलीमा छन् । भुवनेश्वर कुमारले १३ खेलमा १५ र यश दयालले १४ खेलमा १२ विकेट लिएका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच

रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्सबिच फाइनल खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । खेलको मध्यतिर स्पिन बलरले पनि केही सहयोग पाउन सक्छन् । 

यो स्टेडियममा हालसम्म आईपीएलको ४३ खेल खेलिएको छ । त्यसमध्ये २१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र २२ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा बनेको ठुलो स्कोर पाँच विकेट गुमाएर दुई सय ४३ रन हो । यो स्कोर पञ्जाबले यही सिजन गुजरात टाइटन्सविरुद्ध बनाएको थियो । 

वर्षाले खेल बिथोल्ने सम्भावना

पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच फाइनल खेल हुने दिन मंगलबार अहमादाबादमा वर्षाको सम्भावना निकै बढी देखिन्छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना ६२ प्रतिशत छ । तापक्रम २७ देखि ३८ डिग्री सेल्सियको बिचमा रहने अनुमान छ ।

यो स्टेडियममा यसअघि दोस्रो क्वालिफायर खेल पनि खेलिएको थियो । वर्षाकै कारण दोस्रो क्वालिफायर खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको थियो । फाइनल खेल पनि वर्षाबाट प्रभावित भए दुई घण्टा समय थप गरिने छ र २०–२० ओभरमै खेलाइने छ । 

दुई घण्टापछि पनि खेल सुरु हुन नसके फाइनल खेल बुधबार खेलाइने छ । बुधबार पनि वर्षाका कारण फाइनल खेल हुन नसके बेंगलुरु र पञ्जाबलाई संयुक्त रुपमा विजेता घोषित गरिने छ । 

बेंगलुरुको सम्भावित टोली

रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, मयंक अग्रवाल, लियाम लिभिङ्स्टोन वा टिम डेभिड, जितेश शर्मा (विकेटकिपर), रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल र जस हेजलउड । इम्प्याक्ट प्लेयर : सुयश शर्मा । 

पन्जाबको सम्भावित टोली 

श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, प्रभसिमरन सिंह, जस इङ्लिस (विकेटकिपर), नेहल बाधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, विजय वैशाख, काइल जामिसन र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : युजवेन्द्र चहल वा हरप्रित बरार । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?