आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
विचार

समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क

आइतबार, १४ असार २०८३, १४ : ४६
आइतबार, १४ असार २०८३

नर्डिक युरोप समाज कल्याण र दिगो विकासको मामलामा संसारकै नमुना छन् । नर्डिकमा विशेष गरी स्विडेन, डेनमार्क र नर्वे ऐतिहासिक रूपमै अब्बल नै थिए । तर फिनल्यान्ड सन् १९५० देखि १९८० को दशकभित्र एक कमजोरबाट विकसित मुलुकको सुचीमा अग्रणी बन्न पुग्यो। यसले जे जति छलाङ मार्‍यो, त्यसका पछाडि अनेक कारण र आयामहरू छन् । तर सामाजिक-आर्थिक व्यवस्थापनको आधार भने राष्ट्रिय परिचय पत्र (नम्बर), व्यावसायिक परिचय पत्र (नम्बर) र तथ्याङ्क बैङ्कको उचित प्रबन्ध गर्नु नै हो। जसले समाज व्यवस्थापन, आर्थिक अनियमितता नियमन र समग्र राष्ट्र व्यवस्थापन गर्न अत्यन्तै सहज बनायो। हालै मात्र पनि विगत दुई दशकमा बाल्टिक मुलुकहरू ईस्टोनिया, लात्भिया र लिथुनियाको प्रगति पनि निकै लोभलाग्दो छ।

कुनै पनि राष्ट्र भित्र बसोबास गर्ने व्यक्तिलाई राज्यका तर्फबाट पहिचान गर्ने दस्ताबेज राष्ट्रिय परिचयपत्र हो। विकसित राष्ट्रको तुलनामा विद्यमान नेपाली राष्ट्रिय परिचयपत्र बनाउँदा आवेदन फर्ममा आवश्यकता भन्दा ज्यादै न्यून सूचनाहरू मागिएको देखिन्छ।  अति सामान्य भन्दा पनि सामान्य जानकारी मागिएको हुन्छ । विशेष गरी जन्म ठेगाना, जात, धर्म, जस्ता सामान्य प्रश्नलाई जोड दिएर सोधिएको देखिन्छ । तर राष्ट्रिय परिचयपत्र यस्तो चिज हो जसले राष्ट्रले चाहेको बखत कुनै पनि देशका बासिन्दालाई तुरुन्त पहिचान गर्न, भेट्न, र आवश्यक परेको समपूर्ण जानकारी पाउन सकोस्। लिङ्ग, जात र धर्मका कुराहरूलाई गौण र अरू धेरै व्यक्तिगत महत्त्वपूर्ण विषयवस्तु र सूचनाका तथ्याङ्कहरूलाई अभिलेखीकरणमा समेटिएको हुनु पर्छ । नेपाली नागरिकको प्रमाण स्वरूप देश भित्रको लागि नेपाली नागरिकता हुन्छ भने विदेशमा नेपाली भनेर चिनिन नेपालको पासपोर्ट  हुन्छ । यदि त्यो भन्दा थप उपयोगी हुँदैन भने अर्को त्यही काम गर्ने राष्ट्रिय परिचय पत्रको अर्थ हुँदैन । राष्ट्रिय परिचयपत्रले राज्यले चाहेको बखत एक क्लिकमा देशभित्र स्थायी तथा अस्थायी रूपमा बस्ने आफ्ना नागरिक तथा गैर नागरिक सम्पूर्णको व्यक्तिगत र पारिवारिक सूचना पाउन सक्नु पर्छ । जसले कुनै पनि व्यक्ति र परिवारलाई राज्यले चाहेको बेला तुरुन्त भेट्न सकोस् र आवश्यक व्यवस्थापन गर्न सकोस् ।

व्यक्तिको पहिचानको आधार नै लिङ्ग, जात र धर्म हुने कुनै जमाना थियो । तर, हाम्रै समाजको कुनै हिस्सा आजको अत्याधुनिक डिजिटल र क्रिप्टो युगमा प्रवेश गरिसकेको अवस्थामा पनि एउटा व्यक्तिको परिचय त्यही परम्परागत आधार मात्र खोज्नु कति घातक हुन सक्छ भन्ने कुरा राष्ट्र, राजनीतिज्ञ, प्रशासक र समाजले प्रस्ट बुझ्नु अत्यावश्यक छ  । किनभने अब  एउटा कुनामा बसेर लिङ्ग, जात र धर्म नछुट्टिएको व्यक्तिको एउटा बटनले संसारमा ठुला ठुला आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक उथलपुथल सहजै ल्याउने जमानामा हामीले नचाहेर पनि हामी प्रवेश गरिसकेका छौँ ।

 कुरा राष्ट्रिय परिचयपत्रमा लिङ्ग, जात र धर्म राख्नु पर्दैन भन्ने हुँदै होइन । जमाना अनुसारको व्यक्तिको परिचयका आधारहरू चाहिँ समेट्नु पर्दछ भन्ने हो । अत्याधुनिक प्रविधिको प्रयोग मार्फत ई-डाटा बैङ्कको स्थापना गरेर निश्चित कोड भित्र हरेक व्यक्तिको सम्पूर्ण व्यक्तिगत तथा पारिवारिक लगत राखेपछि  व्यक्तिको हरेक गतिविधिलाई एउटा कोडभित्र व्यवस्थापन गर्न राष्ट्रिय परिचयपत्र तयार गरिन्छ । उक्त व्यक्तिगत तथा पारिवारिक लगत सङ्गृहीत कोड भएको प्रमाणपत्र या कोड नम्बर भएको कार्ड  राष्ट्रिय परिचयपत्र हो ।  

अबको डिजिटल र कृत्रिम बुद्धिमत्ताको जमानामा त जबसम्म कुशल पद्धतिको स्थापना र प्रयोग गर्न सकिँदैन तब सम्म कुनै पनि व्यक्ति, समाज र मुलुकलाई सुरक्षित र समृद्ध बनाउन सकिँदैन | समयको गतिसँगै विज्ञान प्रविधिले वेग हानिरहेको छ | हामी पनि विश्व समाज सँगसँगै विज्ञान प्रविधि एवं विज्ञानको वरदानलाई आत्मसात् गरेर अगाडि बढ्नु बाध्य भइसक्यौं | त्यसैले हामीले पनि अत्याधुनिक प्रविधिको माध्यमबाट राष्ट्रको विशिष्ट सर्भर प्रयोग गरी राष्ट्रिय ई-डाटा बैङ्कको स्थापना गर्नु पर्दछ । समाजको हरेक पक्षको तथ्याङ्कलाई अत्याधुनिक प्रविधि(सफ्टवेयर)को माध्यमबाट ई-डाटा बैङ्कमा सङ्ग्रह गर्नु पर्दछ | 

हामी पनि विश्व समाज सँगसँगै विज्ञान प्रविधि एवं विज्ञानको वरदानलाई आत्मसात् गरेर अगाडि बढ्नु बाध्य भइसक्यौं | त्यसैले हामीले पनि अत्याधुनिक प्रविधिको माध्यमबाट राष्ट्रको विशिष्ट सर्भर प्रयोग गरी राष्ट्रिय ई-डाटा बैङ्कको स्थापना गर्नु पर्दछ । समाजको हरेक पक्षको तथ्याङ्कलाई अत्याधुनिक प्रविधि(सफ्टवेयर)को माध्यमबाट ई-डाटा बैङ्कमा सङ्ग्रह गर्नु पर्दछ | 

सङ्गृहीत तथ्याङ्कलाई राज्यले चिप्स, कोड, कोड रिडर अथवा  कुनै वैज्ञानिक पद्धतिको माध्यमबाट चाहेको बखत तुरुन्तै प्रयोग गर्न सक्नु पर्दछ | त्यस्ता तथ्याङ्कको विद्युतीय माध्यमबाट नै समाजको हरेक विधाको काममा पारदर्शिता, प्रभावकारिता र एकरूपता साथै दिगो राजनैतिक, सामाजिक, प्रशासनिक र आर्थिक पारदर्शिता एवम् अनुशासन कायम गरी लक्षित रूपान्तरण गर्न सहज र प्रभावकारी बनाउन सकिन्छ । यसै कार्यको निम्ति बनाइनु पर्दछ राष्ट्रिय परिचय पत्र । सम्पूर्ण जानकारी समेटिएको कोड र कोडवाला व्यक्ति त्यही हो भनेर रुजु गर्ने जानकारी समेटिएको कार्ड राष्ट्रिय परिचयपत्र हो ।

राष्ट्रिय परिचय पत्रका विशेषताहरू भन्नु नै कुनै पनि काम र कामको नतिजालाई चुस्त तथा दुरुस्त बनाउन ई-डाटा बैङ्कको प्रयोग हो । त्यसभित्र कुनै पनि व्यक्ति वा संस्थाको सम्पूर्ण सूचना सङ्ग्रह गरिएको हुन्छ । यसमा अति सुरक्षित बनाउन सकिने, अत्याधुनिक प्रविधिको प्रयोग हुने, बहु पक्षीय तथ्याङ्क प्रयोग गर्न सकिने, प्रयोग कर्ताको पूर्ण एवम् आंशिक पहुँच गर्न सकिने, आई डी र पासवर्डको माध्यमबाट सहजै गोपनीयता कायम हुने  विशेषता रहेका हुन्छन् । त्यस्तै  केन्द्रीय र स्थानीय तथ्याङ्कलाई जोड्न सकिने, सम्बन्धित अधिकारीको सहजै पहुँच पुर्‍याउन सकिने, विभिन्न मन्त्रालय, विभाग र मातहतका निकयहरुसँग सहजै जोड्न सकिने, स्थानीय स्तरमा पनि सजिलै प्रयोग  गर्न सकिने, केन्द्रीय र स्थानीय डाटाबेस सिस्टम र सब सिस्टम सहजै जोड्न गर्न सकिने जस्ता सहजता हुन्छ । व्यक्तिगत रूपमा डिजिटल परिचयपत्र नम्बर सिर्जना गरेर सम्पूर्ण तथ्याङ्कहरू पञ्जीकरण गर्ने र सामाजिक सुरक्षा नम्बर, बारकोड र रिडरका माध्यमबाट व्यवहारमा प्रयोग गर्नु पर्दछ ।

 हरेक व्यक्तिको व्यक्तिगत डिजिटल परिचयपत्रमा प्रोफाइल चुस्त र दुरुस्त बनाएर राखेर आवश्यक परेको बखत तुरुन्त प्रयोग गर्न सकिन्छ | कस्तो र कसरी व्यक्तिगत प्रोफाइल चुस्त र दुरुस्त राख्ने भन्ने कुरा तलका बुँदाहरूमा उल्लेख गर्न सकिन्छ | यस भित्र प्रत्येक व्यक्तिको राष्ट्रिय परिचय नम्बरको व्यवस्था गर्ने, उक्त परिचयपत्र नम्बरलाई निश्चित कोड दिने, व्यक्तिको सम्पूर्ण लगत/सूचनाहरू त्यस कोड भित्र सफ्टवेयरमा राख्ने, कार्डमा जति सक्दो कम चिज राख्ने सुविधाहरू हुन्छन् । त्यस्तै जे जति तथ्याङ्क हुन्छन् सफ्टवेयरमा सम्पूर्ण लगत राख्ने र उक्त लगतलाई दुरुपयोग हुन नदिन सहजै जोगाउन प्रयोगकर्ताले युजर आइडी, पासवर्ड, ई बैङ्किङ कोड, फोन नम्बर तथा पर्सनल डिभाइसको सहायताले आवश्यकता बमोजिम आंशिक र पूर्ण पहुँच दिने प्रबन्ध हुन्छ ।  यसमा परिवर्तन भएको लगत अर्थात् कसले, कहिले, किन गरेको भन्ने समेत रेकर्ड रहने हुन्छ । 

 व्यक्तिगत राष्ट्रिय परिचयपत्र नम्बर अथवा कोड सिर्जना गर्न जस्तै जगन्नाथ काफ्ले  = १३०५२०३१-१२३क जहाँ “१३०५२०३१” जन्म मिति , “१२३” कोड गणना र लैङ्गिक पहिचान-पुरुषलाई अन्तिम अङ्क बिजोडी, स्त्रीलाई जोडी र लिङ्ग नखुलेकोलाई ००) र अन्तिमको अक्षर “क” ट्रयाक नम्बर भएको उत्तम तरिका हो । परिचयपत्र नम्बरलाई एउटा बार तथा स्कवेर कोड सिर्जना गरेर म्याग्नेटिक चिप्समा मिलाउनु पर्दछ । यसरी तयार गरिएको बार तथा स्कवेर कोड र म्याग्नेटिक चिप्स राखेर सिस्टम तथा सफ्टवेयरमा राखेर कार्ड तयार गरी व्यक्तिलाई दिनु पर्दछ । यसभित्र सम्पूर्ण व्यक्तिगत प्रोफाइल र प्रगति विवरण सङ्ग्रह गरिएको हुन्छ, जसलाई बारकोड निडरको सहायताले सहजै सूचना भेट्टाउन सम्भव हुन्छ । व्यक्तिका हरेक क्रियाकलापहरूलाई श्रोतबाटै अद्यावधिक गर्दै लैजाने प्रबन्ध मिलाइएको हुन्छ । सम्बन्धित अधिकारी र निकायले सहजै अद्यावधिक गर्न सकिने प्रबन्ध मिलाउनु पर्दछ ।  मुख्य कुरा सिस्टम, कोड नम्बर, चिप्स, बारकोड - स्क्वेरकोड, चिप्स रिडर आदि जे भए पनि अत्याधुनिक प्रविधि एवम् वैज्ञानिक पद्धति मार्फत सजिलैसङ आवश्यक पर्ने तथ्याङ्क र व्यक्ति तथा संस्थाको प्रोफाइलको व्यवस्थापन गरेर विद्यमान नेपालमा भएको सर्वत्र अस्तव्यस्तताको दिगो समाधान गर्नु हो ।

डिजिटल राष्ट्रिय परिचय पत्र भित्रको सफ्टवेयरमा के के रेकर्ड गर्न सकिन्छ अथवा के के तथ्याङ्क छुटाउनु हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यस्तो सफ्टवेयरभित्र कम्तीमा निम्न बमोजिम तथ्याङ्कहरू समेट्नु पर्दछ । जस्तै व्यक्तिगत विवरणहरू नाम, ठेगाना, उमेर, लिङ्ग, वैवाहिक अवस्था, पारिवारिक अवस्था, दश औँलाको औँठाछाप; स्वास्थ्य, शिक्षा(ज्ञान,सीप,क्षमता, दक्षता), पेसा, व्यवसाय सम्बन्धी विवरण; सामाजिक सुरक्षा, पेन्सन, सरकारी भत्ता, सरकारी आपत् कालीन सहयोग (कहिले, कति, के ); प्यान नम्बर, कर विवरण, आम्दानी विवरण लगायत । त्यस्तै सम्पत्ति विवरण, व्यावसायिक   विवरण, सामाजिक सेवा एवम् सुविधाहरु (युटिलिटी) विवरण, आर्थिक कारोबारहरूको विवरण; बैंक खाता, संस्थागत ऋण/बचत विवरण, बैंक कार्ड, क्रेडिट कार्ड, बीमा; नागरिकता, पासपोर्ट, लाइसेन्स, हातहतियार, टेलिफोन; भोटिङ, जन गणना, व्यक्तिगत एवम् सामाजिक अवस्था, असल तथा खराब दुवै ऐतिहासिक विवरणहरू, अन्य आवश्यक सम्पूर्ण व्यक्तिगत तथा पारिवारिक विवरणहरू समेटिएको हुनुपर्दछ ।

राष्ट्रिय परिचयपत्रको प्रयोग कसरी हुन्छ भन्ने कुरा अर्को महत्त्वपूर्ण पाटो हो । हुन त तथ्याङ्क भइसकेपछि जसरी प्रयोग गरे पनि हुन्छ तै पनि एउटा समृद्ध समाजले हरेक नागरिकको जन्मदेखि मृत्यु पर्यन्त ख्याल राख्नु र उचित व्यवस्थापन गर्नु राष्ट्रको कर्तव्यभित्र पर्दछ |

राष्ट्रिय परिचयपत्रको प्रयोग कसरी हुन्छ भन्ने कुरा अर्को महत्त्वपूर्ण पाटो हो । हुन त तथ्याङ्क भइसकेपछि जसरी प्रयोग गरे पनि हुन्छ तै पनि एउटा समृद्ध समाजले हरेक नागरिकको जन्मदेखि मृत्यु पर्यन्त ख्याल राख्नु र उचित व्यवस्थापन गर्नु राष्ट्रको कर्तव्यभित्र पर्दछ | राष्ट्रिय परिचयपत्रको प्रयोग शिशु आमाको गर्भमा आएपछि आमा र शिशुको जाँच तथा स्वास्थ्य परीक्षणबाट नै सुरु हुन्छ ।  जन्म दर्ता, डिजिटल परिचयपत्र (कार्ड र नम्बर) प्राप्ति, त्यसपछि राज्यबाट पाउने  नागरिकता, पासपोर्ट, लाइसेन्स, रासन कार्ड प्राप्ति, बच्चाको उमेरसङै बेलाबेलामा गर्नु पर्ने स्वास्थ्य परीक्षण, लालन पालन, बाल अधिकार एवम् शारीरिक तथा मानसिक वृत्ति विकास जस्तै: डे-केयर भर्ना, स्कुल भर्ना, शैक्षिक तथा  प्राज्ञिक सीप, ज्ञान, दक्षता, वृत्ति विकास, पुरस्कार समेत समेटिएको हुनु पर्छ । यसै गरी सरकारी सुरक्षा विवरण, रोजगारी, नोकरी, व्यवसाय, तलब, भत्ता, आम्दानी, सुविधा, पेन्सन, कर, बैंक खाता, बचत, ऋण, बीमा, कम्पनी दर्ता, व्यवसाय सञ्चालन, आर्थिक कारोबार पनि समेटिनु पर्दछ । व्यक्तिका चल-अचल सम्पत्ति खरिद बिक्री, स्वामित्व प्राप्ति, हस्तान्तरण , अनलाइन कारोबार, मालपोत, अड्डा अदालत समेत पञ्जीकरण भएको हुनु पर्दछ । त्यसै गरी फोन, बिजुली, पानी, इन्टरनेट, टेलिभिजन आदिको प्रयोग, प्यान नम्बर, कर, सरकारी सुविधा, बाल – बेरोजगार- वृद्ध- एकल-असक्त भत्ता, विशिष्ट सुविधाहरू, आपत्कालीन सहयोग एवम् सामाजिक काम काज, दण्ड, जरिवाना, बक्यौता, तिरो, अन्य दस्तुर, मृत्यु पर्यन्त दाहसंस्कार, दायित्व बाट छुटकारा, पिँढीलाई हस्तान्तरणसम्मका काममा राष्ट्रिय परिचयपत्रको प्रयोग हुनु पर्दछ ।

राष्ट्रिय परिचयपत्र भित्रका तथ्याङ्कको प्रयोग मुख्य रूपमा सरकारले गर्ने हो । यद्यपि आवश्यकता अनुसार कुनै पनि प्रशासनिक निकाय तथा निजी क्षेत्रले सरकारको अनुमति लिएर सीमित पहुँच पाउन सक्छन् | हरेक तथ्याङ्कमा पूर्ण पहुँच हुने निकाय गृह मन्त्रालयका सम्बन्धित अधिकारीहरू हुन् भने अधिकांश पहुँच गाउँपालिका तथा नगरपालिकाका गोप्य शाखा हुन । यसै गरी केन्द्रीय तहका क्षेत्रगत सरकारी निकायहरू,  प्रदेश तहका सरकारी निकायहरू, स्थानीय तहका सरकारी निकायहरू, अर्धसरकारी निकायहरू (सरकारलाई पहुँच दिएर आफ्नै सीमित प्रयोजनका निमित्त मात्र आफ्नै थप सफ्टवेयर प्रयोग गर्न सक्ने), गैरसरकारी निकायहरू (सरकारलाई पहुँच दिएर आफ्नै सीमित प्रयोजनका निमित्त मात्र आफ्नै थप सफ्टवेयर प्रयोग गर्न सक्ने), निजी प्रतिष्ठानहरू (सरकारलाई पहुँच दिएर आफ्नै सीमित प्रयोजनका निमित्त मात्र आफ्नै थप सफ्टवेयर प्रयोग गर्न सक्ने), अन्य संस्थाहरू (सरकारलाई पहुँच दिएर आफ्नै प्रयोजनका निमित्त आफ्नै थप सफ्टवेयर प्रयोग गर्न सक्ने) ले  आ-आफ्नो क्षेत्रगत काममा सीमित हुने गरी आंशिक पहुँच पाउने व्यवस्था गरिएको हुनु पर्दछ ।

व्यक्तिलाई मात्र होइन, हरेक संस्थालाई पनि व्यापारिक परिचयपत्र र निश्चित कोड दिएर ई-डाटा बैङ्कमा अभिलेखीकरण गरिनु पर्दछ । ई-डाटामा आवश्यकता अनुसार सबै तथ्याङ्कलाई राख्न सकिन्छ ।  निजी व्यावसायिक निकायको कोड-मेशिन रिडेबल कोड नम्बर दिने र त्यसैमा उक्त कम्पनीको सम्पूर्ण तथ्याङ्क अभिलेखीकरण गर्ने र सोही मार्फत कर, बीमा, लेखा, कारोबार, स्थिति व्यवस्थित गर्नु पर्दछ । जसले गर्दा सम्पूर्ण कारोबारलाई करको दायरामा समेट्न सकिन्छ। यसै गरी सार्वजनिक व्यावसायिक  निकाय, सरकारी अड्डा, गैरसरकारी संस्थाहरू, गैर नाफामूलक सङ्घ संस्थाहरूको अलग अलग  व्यावसायिक  तथा गैर व्यावसायिक कोड नम्बर तथा मेशिन रिडेबल  कोड  मार्फत व्यवस्थापन गर्नु पर्दछ । अन्य कुनै पनि तथ्य तथा कामहरू एवम् अनुरूपले गर्न गराउन सकिन्छ । व्यक्तिको मात्र नभएर हरेक संस्थागत तथ्याङ्कलाई पनि व्यवस्थित र सदुपयोग गर्न डाटाबेस पद्धति उपयोगी हुन्छ ।

राष्ट्रिय परिचयपत्र र डाटाबेसको फाइदा हरेक सरकारी निकाय, निजी संस्था र व्यक्तिको निमित्त उत्तिकै महत्त्वपूर्ण हुन्छ । समाजका हरेक व्यक्तिहरूको आचरण सहजै व्यवस्थापन गर्न, श्रोतबाटै तथ्याङ्कहरू प्रविष्टि र अद्यावधिक गर्न, जनगणना एवम् चुनावलाई सजिलो र कम खर्चिलो बनाउन, सामाजिक सेवा प्रदान गर्न, सर्वसाधारणलाई सरकारी सेवा एवम् सुविधा प्रदान गर्न यसले योगदान गर्दछ । त्यस्तै राष्ट्रिय आम्दानी गणना गर्न, आपत्कालीन सहयोग पुर्याउन, कर सङ्कलन तथा कर फिर्ता, राजश्व सङ्कलन, आर्थिक कारोबार, हिनामिना एवम् भ्रष्ट्राचार अत्यन्तै सहज ढङ्गबाट व्यवस्थापन गर्न, कुनै पनि सार्वजनिक एवम् व्यक्तिगत काम गर्न गराउन अत्यन्तै सहज र पारदर्शी हुन्छ । हरेक व्यक्ति एवम् संस्थाको दैनिक व्यवहार एवम् कारोबार अनुसार परिचयपत्र नम्बरभित्र रहेको सफ्टवेयरमा तथ्याङ्कको सेवा प्रदायक श्रोतबाट तथ्याङ्क इन्ट्री अद्यावधिक रहने गर्दछ ।

डाटाबेसको सञ्चालन र परिमार्जन निश्चित अख्तियार प्राप्त व्यक्तिले गर्ने हुनाले तथ्याङ्क दुरुपयोग हुने सम्भावना कम हुन्छ । आइडी र पासवर्ड मार्फत कार्य क्षेत्र अनुसार पूर्ण र आंशिक पहुँच हुने  र परिवर्तन मिति समेत थाहा हुने भएकोले तथ्याङ्क परिमार्जन गर्ने व्यक्ति स्वयं जिम्मेवार र  जबाफदेही हुनु पर्दछ । जिम्मेवार अधिकारी पदबाट हट्दा वा अवकाश प्राप्त हुँदा निजको पहुँच निष्क्रिय गर्न सकिन्छ । यसो गर्नाले सम्बन्धित अधिकारीले तथ्याङ्क दुरुपयोग हुन नदिई जिम्मेवार र जबाफदेहिता बहन गर्ने छ र राज्य पूर्ण जिम्मेवार हुनेछ ।

यो पद्धतिमा तथ्याङ्क सङ्ग्रह, अद्यावधिक र व्यवस्थापन गर्ने निकाय एवम् अधिकारीले कुनै पनि तथ्याङ्क कसले, कुन मितिमा, किन परिवर्तन गर्‍यो सोको रेकर्ड सधैँ रहने, आइडी, पासवर्ड र मितिका मध्यमले जिम्मेवार अधिकारी पत्ता लगाउन सकिने हुनाले तथ्याङ्कलाई दुरुपयोग हुनबाट सजिलै जोगाउन सकिन्छ । यद्यपि अबको संसार चुनौतीरहित नहुने भएकोले ह्याकरबाट डाटा बैंक जोगाउन सरकारले अत्याधुनिक प्रविधि, विशेषज्ञ र साइबर कानुनबाट नियमन गर्नु पर्दछ । साइबर कानुन विज्ञहरू, सरकारी अधिकारीहरू र विषयगत विज्ञहरूको सहयोगले अझ परिकृत ढङ्गबाट पद्धति बसाल्ने, कार्यान्वयन गर्ने र व्यवस्थित गर्ने साथै राष्ट्रको समग्र आर्थिक, सामाजिक, प्रशासनिक, राजनैतिक, प्राविधिक र वातावरणीय अनियमितता बन्द गराउन सम्भव बनाउने छ। राष्ट्रिय परिचयपत्र, व्यावसायिक परिचयपत्र र तथ्याङ्क बैंक निर्माण र व्यवस्थापन गर्न सकेको खण्डमा नेपालको नयाँ सरकारले केही दशक भित्रमा नै नेपाललाई अब्बल मुलुकको दर्जामा सूचीकृत गर्ने सम्भावना बलियो छ। 

(विद्यावारिधि अनुसन्धानकर्ता, तुर्कु विश्वविद्यालय, फिनल्याण्ड )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जगन्नाथ काफ्ले
जगन्नाथ काफ्ले
लेखकबाट थप