पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्काएर रकम असुल गरी भ्रष्टाचार गर्ने मन्थली नगर विकास समितिका अस्थायी नायब सुब्बा टीकाप्रसाद भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरू अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसहित ६ जनाविरुद्ध कमिसन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
अस्थायी नायब सुब्बा पदमा कार्यरत भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा भट्टले २०४९ साउन १ गते अस्थायी खरिदार पदमा ६ महिनाका लागि नियुक्ति लिएका थिए । तर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार, काठमाडौँको प्राप्त पत्रानुसार नगर विकास ऐन, २०४५ मा नगर विकास समितिको अस्थायी कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्था छैन २०७०।१०।०१ मा अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
भट्टले बढुवा प्राप्त गर्न दिएको निवेदन, निजको शैक्षिक योग्यता र कार्य सम्पादनको स्तरलाई हेरी बढुवा गर्ने राय पेस गरेकोमा बढुवाको निम्ति खटिएको कार्यदलले सोको कुनै प्रक्रिया पूरा नगरेको देखिएको आरोप पत्रमा उल्लेख छ ।उनले २०५३ सालमा कान्तिपुरको विभिन्न पदमा कार्यरत रही काम गर्दै आएकोमा २०७० पुस १ गते पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिई नियमित पारिश्रमिक लिँदै आएको देखिएको छ ।
कार्यालयमा हाजिर गरी कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव र दबाबमा पारी काज/भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिएको देखिएको अख्तियारले जनाएको छ ।
यस्तै मन्थली बचत तथा ऋण सहकारीको कोषाध्यक्षमा रही गैरकानुनी लाभ लिएको आरोप उनीमाथि छ । टिका प्रसाद भट्ट मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको म्यानेजर तथा स्थानीय प्रतिनिधिका रूपमा कार्यरत रही उनले आफू कार्यरत आयोजनाबाट विज्ञापन प्रकाशन गर्ने गरेको आरोप उनीमाथि छ ।
यसरी उनले कमिसन बापतको रकम लिने गरेको अख्तियारले जनाएको छ। जिल्लास्थित कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी कमिसन लिएको आरोप उनीमाथि छ ।
आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरू अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरू यमलाल बेलवासे र सुरेश प्रसाद दाहालले भट्टसँगको मिलेमतोमा आयोजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता दिएको आरोपमा उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ ।
भट्टले तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखसँगको मिलेमतोमा २०४९/५० देखि २०८०/८१ सम्ममा एक करोड १५ लाख रुपैयाँ गैरकानुनी लाभ लिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।