विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो

समाचार सारांश
- कञ्चनपुरको अठन्नीफाँटामा बाढीमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भयो, जसले विपद् व्यवस्थापनमा समुदायको भूमिकालाई उजागर गर्यो।
- कार्यक्रमले पूर्वसूचना, उद्धार र प्राथमिक उपचार कार्यदलको भूमिकालाई व्यावहारिक अभ्यासका माध्यमबाट प्रदर्शन गर्दै विपद् प्रतिकार्यका लागि समुदायलाई तयार पार्यो।
- जलवायु उत्थानशील समुदाय कार्यक्रमले बाढी प्रभावित क्षेत्रहरूमा मानवीय क्षति कम गर्न र जनधनको सुरक्षा सुनिश्चित गर्न कृत्रिम घटना अभ्यासहरू सञ्चालन गरेको छ।
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ । बाढीमा आधारित कृत्रिम घटना नमूना अभ्यास कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको भूमिका, चेतना र तयारीलाई बलियो आधार दिएको छ ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र अन्तरराष्ट्रिय संस्था मर्सिकोरको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत बिहीबार वनहरा नदीमा आयोजना गरिएको कृत्रिम घटना नमूना अभ्यासमा विपद् आउनुअघि, विपद्को बेला र पछि अपनाइने कार्यलाई व्यावहारिक अभ्यासमार्फत प्रदर्शन गरिएको छ ।
कार्यक्रममा विशेष रूपमा पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार नमूना अभ्यास गरेर देखाएका थिए । विपद्को अवस्था आउँदा समुदायले कसरी समन्वय गरेर सुरक्षित ढङ्गले प्रतिकार गर्न सक्छ भन्ने कुरा नमूना अभ्यासका क्रममा देखाएको जलवायु उत्थानशील समुदाय कार्यक्रमका संयोजक महेश घिमिरेले बताए ।
“पूर्वसूचना कार्यदलको मुख्य काम बाढी वा अन्य विपद् आउनुअघि समयमै सूचना सङ्कलन, विश्लेषण र जानकारी प्रवाह गर्नु हो”, उनले भने, “बाढीको जोखिम देखिएपछि कार्यदलले तत्काल समुदायमा सूचना फैलाउने, सरोकारवाला निकायलाई खबर गर्ने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम गर्छ ।”
सामुदायिक सूचना केन्द्र, मोबाइल सन्देश, घरघर सूचना, साइरन बजाएर र सार्वजनिक स्थानहरूमा माइकिङजस्ता माध्यममार्फत सावधानीका सन्देश प्रवाह गर्नमा समुदाय सचेत रहेको उनले बताए ।
“जब विपद् घट्न थाल्छ, तत्काल उद्धार कार्यदल सक्रिय हुन्छ”, सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष सत्यराज कठायतले भने, “अभ्यासमा उद्धार टोलीले जोखिममा परेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने, बच्चा, वृद्ध, अपाङ्गता भएका व्यक्तिको प्राथमिकताका आधारमा उद्धार गर्छ भन्ने कुरा अभ्यासमार्फत देखाइएको छ, त्यो व्यवहारमा उतार्छौँ ।”
उनका अनुसार विपद्का बेला सामान्य घाइतेदेखि गम्भीर अवस्थासम्मकालाई तत्काल उपचार आवश्यक पर्ने गर्छ । प्राथमिक उपचार कार्यदलले सुरक्षित स्थानमा उपचार केन्द्र स्थापना गरेर घाइतेको प्राथमिक उपचार गर्ने, रक्तश्राव रोक्ने, सामान्य औषधोपचार गर्नेजस्ता काम नमूना अभ्यासमा प्रदर्शन गरिएको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति प्रेम बोगटीले सूचना प्रवाह, उद्धार र उपचारबीच राम्रो समन्वय भयो भने विपद्को असर न्यून पार्न सकिने बताए ।
विगतमा बाढीजन्य विपद्का घटनामा परेर भौतिकसँगै मानवीय क्षति निकै हुने गरेको उल्लेख गर्दै उनले हाल बाढीजन्य विपद्बारे जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बुलेटिन ‘अलर्ट’ले निकै सहज बनाएको बताए ।
स्थानीय समुदाय बाढीजन्य प्रकोप आउनपूर्व नै तयारीमा जुट्ने भएकाले मानवीय क्षति न्यून हुँदै गएको उनले बताए। नदी क्षेत्रका बगरमा वृक्षरोपणसँगै घाँस रोपेर भूक्षय हुने क्रमलाई रोक्न सकिने भएकाले त्यसतर्फ समुदायको ध्यान जानुपर्ने बताए ।
‘जलवायु उत्थानशील समुदाय कार्यक्रम’अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय तहमा बाढी, डुबानजस्ता प्राकृतिक विपद्का खतरालाई न्यून गर्ने र जनधनको सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।
विपद् न्यूनीकरणका लागि कार्यक्रमअन्तर्गत दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर, शान्तिटोल, पटरा खल्ला, कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटा, नयाँ बस्ती, खल्लागोठलगायत क्षेत्रका बाढी प्रभावित समुदायमा मानवीय क्षति न्यूनीकरण गर्न कृत्रिम घटना नमूना अभ्यास कार्यक्रम सञ्चालन गरिएका छन् ।