आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
किन कविता

‘सायद मेरा लागि कविता मयुर हो, मयुरको नृत्य हो’

शनिबार, ३१ जेठ २०८२, २० : ५३
शनिबार, ३१ जेठ २०८२

‘कहिलेकाहीँ म सोच्छु, भूपि नभइदिएका भए वा मैले उनलाई नचिनेको भए सायद म कविता लेख्ने धृष्टता कहिल्यै गर्ने थिइनँ,’ उनी भन्छन्, ‘यस्तै–यस्तै अरु थुप्रै कविका कविता संग्रह मलाई मन परेका छन्, जसमा केही विदेशी पनि छन् तर स्वदेशी वा विदेशी कुनै पनि कवि मेरो कविता लेख्ने प्रेरणा भने होइनन् ।’

०००

बजारमा कविताको किताब बिक्दैन । गुणस्तरीय हुँदा पनि प्रकाशकका नजरमा कविता संग्रह छाप्नु भनेको जोखिमपूर्ण लगानी हो । त्यसैले नयाँ कविले संग्रह निकाल्नु युद्ध जित्नुसरह हुन पुग्छ । कतिले त आफ्नै लगानीमा पुस्तक निकालेर आफैँ बेच्दै र बाँड्दै हिँडेको पनि देखिन्छ । यसको अर्थ कविता मृत भयो भन्ने होइन । काठमाडौँसहित देशभर साप्ताहिक, पाक्षिक वा मासिक रूपमा हुने साहित्यिक कार्यक्रमहरुमा कविता नै बढी सुनाइन्छ । 

ठाउँ ठाउँमा हुने साहित्यिक महोत्सवहरूमा पनि कविहरूलाई कविता सुनाउन भ्याइनभ्याइ छ । कविता गुन्जिरहेकै छ— काठमाडौँदेखि कञ्चनपुरसम्म, स्टेजदेखि फेसबुकसम्म, युट्युबदेखि इन्स्टाग्रामसम्म ।
कवि पनि सेलिब्रेटी बन्न सक्छ भन्ने प्रमाणित अनुहारहरू पनि छन् । पछिल्लो पुस्ताले पनि कविता अँगाल्न छाडेको छैन । प्रश्न उठ्न सक्छ, जब व्यावसायिक हैसियत छैन भने कविता किन लेख्नु ? 

यसै प्रश्नको जवाफ खोज्न हामीले नयाँ नयाँ कविका कविता र धारणा खोज्दै छौँ । यसपल्ट हामीले बनेपाका कवि सुशान्त खत्रीसँग कविताबारे भलाकुसारी गर्‍यौँ र उनका कविता पनि सुन्यौँ । 

उनी कविता किन लेख्छन् त ? ‘कुशल न्यौपानेको कवितामा एउटा लाइन छ— सपना पछ्याएर निर्धक्क उड्नेलाई जे भने पनि के फरक पर्छ ?’ खत्री भन्छन्, ‘म यसैको आडमा प्रश्न गर्छुु— सिर्जना स्वार्थ हो ? मयुर स्वार्थी हो ? अनि कोइली ? यी उडान भर्नेहरु स्वार्थी हुन पनि सक्छन्/नहुन पनि सक्छन् तर त्यसले के फरक पर्छ ?’ 

अर्थात् उनी सपनालाई पछ्याएर स्वतन्त्र ढंग कविता लेख्नुमा विश्वास गर्छन् । आदिम कालदेखि बगिरहेको सानो खोलाजस्तो आफूलाई अटाउने, डुब्ने र उत्रने ठाउँ हो उनका लागि कविता । ‘अलिकता सुमसुम्याउन सकुँ, स्पर्श गर्न सकुँ बहाबलाई । नाच्न सकुँ— बेफिक्री, बेअर्थ, बेपर्वाह । सायद मेरा लागि कविता मयुर हो, मयुरको नृत्य हो अथवा मयुरको अबोधपना ।’ 

कोर्सबाहेकका उनले सबैभन्दा पहिले पढेको कविता हो, पारिजातको ‘जुनी काट्नुः एउटा बाजी’ शीर्षकको । उनले सबैभन्दा पहिले पढेको कविता संग्रह हो, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ । ‘कहिलेकाहीँ म सोच्छु, भूपि नभइदिएका भए वा मैले उनलाई नचिनेको भए सायद म कविता लेख्ने धृष्टता कहिल्यै गर्ने थिइनँ,’ उनी भन्छन्, ‘यस्तै–यस्तै अरु थुप्रै कविका कविता संग्रह मलाई मन परेका छन्, जसमा केही विदेशी पनि छन् तर स्वदेशी वा विदेशी कुनै पनि कवि मेरो कविता लेख्ने प्रेरणा भने होइनन् ।’ 

कविताको कुनै उद्देश्य हुनुपर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘उद्देश्य नै नभएको कविता पनि हुन्छ र ? कविताको त उद्देश्यहीनता पनि एक प्रकारको उद्देश्य नै हो । त्यसैले कुनै रचना कविता कहलिन्छ भने त्यसले आफ्नो उद्देश्यलाई स्वतः आन्तरिकीकरण गरिसक्छ ।’  

करिब आधा दशकदेखि कविता कर्ममा सक्रिय उनका लागि कवितासँगको सम्बन्ध लामो र फराकिलो होइन तर यो यात्रा अनन्त राख्न चाहन्छन् उनी ।

प्रस्तुत छ कवि खत्रीका तीन कविता 

१) पराजय

नैराश्यको विम्ब भएर
खण्डहर बनेको घरले पनि स्वीकार गर्छ
बलेसी हुन् मान्छेका आँखा 
छाल–छालमा उर्लेर बग्ने ।

मानिसजस्ता श्रापित आँखा
आँखाजस्ता श्रापित मानिस
आखिर मान्छे बलेसी न हो
(मान्छे आखिर बलेसी बाहेक अरू क्यै होइन) ।

म सक्दिनँ अस्वीकार गर्न
न त धोका दिन सक्छु आफूलाई
डराएर प्रतिविम्बसँग 
हराएर प्रतिध्वनिमा 
तड्पिएर, तर्सिएर, तर्किएर
उम्किहालेँ भने पनि पिँधबाट
भागिहालेँ भने चाहनाहरूको समाधिस्थलबाट
सपनाको अतिरञ्जित बगैँचा– मलाई पर्खिरहेको हुनेछैन ।

यो सहर र भिड
यो सडक र अन्धवेग
यी इमारत र कोलाहल 
यहाँ केको अभाव छ ?
हराउनलाई बिराना गल्ली छन्
टहलिन उदाङ्गो आकाश छ
मन बहलाउनु न हो
पुरानो भित्तामा नयाँ क्यालेन्डर टाँगेरै भए पनि टोलाउन सकिन्छ ।

कुनै संघर्षको स्वरूप होइन जीवन
एउटा हिस्सा त
वेश्यालय बाहिर
अत्तरको सुगन्धमा
अल्झिएरै काट्न पनि सकिन्छ ।

केही निरीहता
केही अकर्मण्यता
र फाटेको गोजीको स्याबोटेज,
पर्याप्त छ हर कोहीको एकान्त 
सिगरेटको धुवाँभरि भरिनका लागि ।

तैपनि
मन गिजोल्ने गरी 
पाइलैपिच्छे व्यर्थता बोकेर
बाच्नुसँगको एउटा अपरिचित सम्बन्ध
र परिभाषा खोज्दै
धमिरा लागेको ढोका अघिल्तिर उभिन्छ ।

अथवा,
वसन्तको वासनालाई मन अघाउने गरी सुँघ्न नसक्नुको मनोदशा
र आत्मरति हाँसोहरूको आतङ्क
मक्किएको झ्यालबाट बतासिएर भित्र छिर्छ ।

क्षणभर प्रतिकार गर्न नसकिने पनि होइन
यद्यपि, जीवनको नैसर्गिकता आत्मपीडन पनि त हो ।

कहिले स्मृतिहरूमा पिल्सिएर
कहिले पराजित अनुहार पछाडि लुकेर
अलिअलि भोगेर, अलिअलि भागेर
एउटा सहज निष्कर्ष दिन नसकिने पनि होइन ।

जीवन
हिउँदका नङ्ग्राले चिथोरेको पातको कोमलताजस्तो
संवेदना र संवेगको
अर्थहीन एकोहोरोपना हो ।

त्यसैले जीवन
एक हरफ  पराजय
र बाँकी ऐजन लागेको दोस्रो हरफ िसवाय कै हुन सक्दैन ।

२) झुसिल्किरा पुतली बन्न 

एउटा पहाड जत्रो पहाड चढेर
एउटा सिङ्गो आकाश हिँडेर
थाकेका पाइला सुमसुम्याउँदै 
फाटेका पैताला कोट्याउँदै
कैयन् युगदेखि
एउटा झुसिल्किरो... ।  

प्रत्येक धरातल नापेर
हरेक गल्छेडो र गोरेटा कजाएर
समयको वेगमा/वेगको समयमा
घिस्रिरहेछ– शुष्क गति
मागिरहेछ सुस्तरी;
पिँजडाको स्वतन्त्रता
संस्कृतिको पखेटा
निर्बन्ध– डोरीको खुकुलोपन
पराजित– हारको स्वाभिमान
कठिन– उपमाको आजादी
परिहास, अट्टहास । 

यो कहालीलाग्दो शान्तमा
यी मौन दृश्यहरूको कोहोलोमा
कतै बनिरहेको/कतै भत्किरहेको 
अन्धकार छायामुनिको– सिल्भर रेखाझैँ
बन्दै बन्दै भत्किरहेको
भत्किँदै भत्किँदै बनिरहेको
एउटा झुसिल्किरो... ।

भग्न इतिहासको भारी बोकेर
विकृत अतीतको स्याखु ओढेर
भक्कानिँदै आँखाका डिलमा
आगोका लप्का सिँगारेर
आफ्नै आवाज भुलेर, अनुहार बिर्सिएर 
विभक्त बनाएर छातीको भूगोल
रचिरहेको छ एउटा पखेटा
कोरिरहेछ एउटा पंख
कैयन् युगदेखि 
एउटा झुसिल्किरा पुतली बन्न ।

३) ...र तिमी चाहिँ छुटिगयौ 

सुमसुम्याउँदै पातका चिसा थोपा 
चढ्नु थियो उकालो ।

गुनगुनाउँदै चिर्बिर
सुँघ्दै सुँघ्दै वन फूलको बास्ना
पुग्नु थियो चुचुरो ।

तिर्खा मेटाउन प्रशस्तै थिए होलान् पोखरी
कुवाकै पानी पर्याप्त हुन्थे होला, ओठ भिजाउन 
जमेको पानी– मरेको हुन्छ
त्यसैले त बन्नु थियो 
बग्दै... बग्दै  
नदी/समुद्र/महासमुद्र 

पुग्नु नै त हो !
आकाशको शाश्वत फैलावट पनि
सकिन्छ एक दिन । 

चढ्नु नै त हो !
मान्छेको विराट जटिलता पनि 
कटिन्छ एक दिन । 

यस्तै के–के सोचेका थियौँ होला
मनको पोल्टोभरि नानाथरी सामल भरेर
जब हिँडेका थियौँ हामी यात्रामा । 

शरदको चिसो छल्न बसाइँ हिँडेका
साइबेरियन चराझैँ 
बतासको वेगमा फूलको गर्भ खोज्दै भौँतारिएका
परागकणझैँ
निस्किएका थियौँ हामी सुदूर यात्रामा ।
पतवारले धमिलो पानी खियाउँदै पनि जान सकिन्थ्यो होला 
तर डुबेरै पुग्नु थियो
एक–अर्काको गहिराइ 

कुरूपताको बखान गरेरै पनि कट्थे होलान् उराठ दिन 
तर मनका खाल्डालाई ब्रेल जसरी छाम्दै
चुपचाप अभिव्यक्त भइरह्यौँ अभाषित लबजमा ।

जब–जब म तिम्रा आँखासँग ठोकिएँ
दयाभावले सम्झिरहेँ ती आदिम मानवलाई 
अप्ठेरा भिर फाँडेर कहाँ नै पुग्न सकिन्छ र ?
आखिर मान्छेले आफूलाई आँखैमा त बिसाउँदो रहेछ ! 

खरको पाखोमा घाम ताप्दै
घरी बाँदर्नी मैयाँको कथा सुनायौ तिमीले
सुन्तलाको बोक्रा छोडाउँदै
कहिले खय्यामका रुबाइयातहरू फलाकेँ मैले ।

मेरो काँधमा सुस्ताएर कति वसन्त फुलिरह्यौ तिमी
र डिलका सिउँडी हेर्दै सोचिरहेँ म
कसरी एउटै फूलको उपस्थितिमा
मान्छे आफू सिङ्गो बगैँचा हुँदो रहेछ ।

यद्यपि 
फूल न हो
फुल्नुको पनि आयु हुन्छ
यात्राको परिणति नै हुन्छ छुट्नु 
कहिले बाटोबाट मान्छेहरू छुट्छन्/
कहिले मान्छेबाट बाटोहरू छुट्छन्
प्रत्येक दोबाटो/प्रत्येक घुम्ती,
पर्खिरहन्छन् निर्मम उपेक्ष बोकेर ।

अनि यात्रा
सम्झौता पनि हो– कोही हुनुको
गति हो– कहीँ पुग्नुको
जानलाई त चन्द्रमासम्मकै गोरेटो भेटिएलान्
तैपनि
अल्झिन सकिन्छ/अलमलिन सकिन्छ ।

सायद अल्झिएँ होला
कहीँ समयको उन्युघारीमा
अलमलिएँ होला कतै
पाइताला बिझ्ने गिटीको चोटतिर
र हतास तिमीचाहिँ छुटिगयौ ।

म त्यति धृष्ट पनि हुन सकिनँ
कि तिमीलाई रोक्न सकुँ
त्यति काँतर पनि कहाँ बन्न सकेँ र
आफ्नो अहंको टाकुराबाट आत्मदाह गर्न सकुँ ।

केवल
उभिइरहेँ पङ्गु भएर 
हेरिरहेँ निरीह भएर 
छाती बिझेर गइरहेका– एक जोर पाइला
आँखा दुखेर गइरहेका– एक थान याद । 

तिम्रो वियोगपछि
कति बर्खाले पखाल्यो यो बाटो
चैते हुरीले उडाइरह्यो बगरको माटो
तैपनि बालुवामा तिम्रा डोब भने मेटिएनन् ।

खहरेले बगाउँदै ल्याइपुर्‍याएको 
सदियौँ पुरानो यो बगर 
कतै मेरै चिहान त हैन ? 

र आज पनि
बलेसी हुँदै बग्ने झरीको आवाज सुन्दा
पिल्सिएर दुख्छु– एक छाती ।

हाय ! के मौलाउँदै छ यसरी मभित्र 
फाँसीको डोरी बनेर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप