मृत्यु संस्कार : शोकको संस्कार कि प्रदर्शनको मञ्च ?
मृत्यु जीवनको अवश्यम्भावी सत्य हो । यो संसारको कुनै पनि शक्तिले परिवर्तन गर्न नसक्ने प्राकृतिक नियम हो । विशेष गरी हिन्दु दर्शनमा आत्माले भौतिक शरीर त्याग्ने रूपमा मृत्युलाई बुझिन्छ ।
मृत व्यक्तिको आत्मालाई शान्ति प्रदान गर्न मृत्यु संस्कार (१३ दिनको किरिया)देखि हरेक वर्ष तिथि पारेर श्राद्ध समेत गर्ने गरिन्छ । आत्माको शुद्धि, मृतात्माप्रति श्रद्धा र परिवारको शोक सान्त्वना झल्काउनकै लागि यी परम्परा गरिने हुन् । वर्तमान समाजमा भने यस्ता संस्कार आफ्नो मूल उद्देश्यबाट विचलित भई सामाजिक प्रतिस्पर्धा, आर्थिक भार र बाह्य देखावटीमा परिणत हुँदै गएका छन् ।
काजकिरियालाई हिन्दु धर्मशास्त्रमा अत्यन्तै महत्त्वका साथ वर्णन गरिएको छ । यस अवधिमा परिवारजन शुद्ध र सात्त्विक जीवन बिताउने; मृतात्माको शान्तिका लागि ब्राह्मण भोजन गराउने; दानपुण्य गर्ने; वेदपाठ, गरुड पुराण वाचन, हवन आदि गर्ने चलन छ । यस्तै श्राद्धमा पनि पितृप्रति कृतज्ञता प्रकट गर्दै विशेष पूजा, तर्पण, पिण्डदान र ब्राह्मण भोजनको परम्परा रहिआएको छ । देखासिकी, प्रतिष्ठा प्रदर्शन र अनावश्यक खर्चको प्रतिस्पर्धाले आजकाल यी कार्यहरूको आध्यात्मिक उद्देश्यलाई ओझेलमा पारेको छ ।
आजकलको सामाजिक मनोविज्ञान यस्तो छ कि यदि कसैले आफन्तको मृत्युमा ठुला भोजभतेर गरेन भने उसलाई ‘कन्जुस’, ‘संस्कारहीन’, वा ‘गाउँ बेखबर’ ठहर गरिन्छ । किरियापुत्रीका लागि सयौँको भीड जम्मा गरिनु, तीन–चार परिकारको खाना, चेलीबेटीलाई बाक्लो दक्षिणा, ब्राह्मणलाई महँगो पोसाक र थुप्रै सामग्रीसहितको दान आदिले धर्मभन्दा बढी सामाजिक प्रतिष्ठाको सूचक बनेका छन् । त्यति मात्रै होइन किरियापुत्रीका लागि ल्याएको घोतहरूलाई हेरेर त्यसको मूल्यमा अझ थप गरेर दक्षिणा अनिवार्य फिर्ता गर्ने चलन छ । यो चलनमा महँगो मूल्यमा सामग्री खरिद गरेको हो कि दुःखमा घोत मिसाएर साथ दिएको भन्ने प्रश्नचिह्न छैन र ? कतिपय अवस्थामा आर्थिक हैसियत नभएकाले पनि ऋण गरेर भोज गरिरहेका छन् । दुःखको घडीमा परिवार भावनात्मक रूपमा मात्र नभई आर्थिक रूपमा समेत चकनाचुर हुने स्थिति आइपरेको छ ।
देखासिकी, प्रतिष्ठा प्रदर्शन र अनावश्यक खर्चको प्रतिस्पर्धाले आजकाल यी कार्यहरूको आध्यात्मिक उद्देश्यलाई ओझेलमा पारेको छ ।
हिन्दु धर्मशास्त्रमा मृत्यु संस्कार वा किरिया, श्राद्धको अनिवार्यता उल्लेख गरिएको भए पनि त्यसमा तडकभडक गर्नुपर्छ भन्ने कतै भनिएको छैन । ‘मनसा, वाचा, कर्मणा’ अर्थात् मन, वचन र कर्मबाट श्रद्धापूर्वक गरिएको कर्म नै फलदायी हुन्छ भनिएको छ । परन्तु आजकल श्रद्धा होइन संख्या र सजावटलाई मुख्य मानिन्छ । गुणात्मक पूजाअर्चनाभन्दा मात्रात्मक सहभागिता र प्रदर्शन प्राथमिक बन्नु धर्मको विकृति हो । यस्ता प्रवृत्तिले समाजमा वैचारिक स्खलन र व्यावहारिक दुराचारको बिउ रोप्दै छ ।
हाम्रो समाजमा मृत्यु संस्कार र श्राद्धमा गरिने खर्च निम्न वर्गीय र मध्यमवर्गीय परिवारका लागि दुःखको अर्को नाम बनेको छ । दैनिक ज्यालादारी गर्ने मजदुर, साना किसान वा निम्न वर्गले यस्ता कर्मकाण्ड पूरा गर्न ऋण लिनुपर्ने, गहना बेच्नुपर्ने वा जग्गा बन्धक राख्नुपर्ने अवस्था समेत आउन सक्छ । यसले मृत्युको शोकमाथि आर्थिक संकट निम्त्याइरहेको छ । यस्ता संस्कारहरूले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै प्रतिष्ठावान् बनाउने सामाजिक विभाजनलाई बढावा दिएको छ ।
मृत्यु संस्कारमा चेलीबेटीलाई बोलाउने, उनीहरूलाई विशेष रूपमा सम्मान गर्ने, दक्षिणा दिने चलन नेपाली हिन्दु समाजमा व्यापक छ । यसलाई पनि अहिले भड्किलो रूपमा व्याख्या गर्न थालिएको छ । चेलीबेटीको उपस्थितिलाई भावनात्मक नाता र सद्भावका रूपमा बुझ्नुको साटो, कतिपयले ‘कति पैसा दिइयो’, ‘कसलाई कति सम्मान गरियो’ भनेर नाफाघाटाको हिसाब गर्न थालेका छन् । यो चलनले सम्बन्धभन्दा प्रतिस्पर्धा र तिक्तता जन्माइरहेको छ ।
यस सबैको विपरीत पछिल्लो समय केही सचेत वर्गले यस्ता तडकभडकमाथि प्रश्न उठाउन थालेका छन् । कतिपयले ‘मलामी नखानुस्, बाँचुन्जेल प्रेम दिनुस्’ भन्ने नारासहित समाजमा चेतना फैलाइरहेका छन् । कसैले परोपकार गर्ने, विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने, अस्पताल वा विद्यालयमा सहयोग गर्नेजस्ता वैकल्पिक सुकर्म अपनाएका छन् । यो दृष्टिकोणले परम्पराको भावनात्मक सारलाई विस्थापन नगरी त्यसलाई वर्तमान सन्दर्भमा अर्थपूर्ण बनाउन सक्ने सम्भावना देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण