शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

शनिबार, ३० जेठ २०८३, ०५ : २४
शनिबार, ३० जेठ २०८३

कञ्चनपुर । “राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि (बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भने, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो बिचल्ली बनाइदियो ।”

शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ । हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवारको वासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो ।

शुक्लाफाँटा –९ वडाध्यक्ष रमेशबहादुर ऐरकाअनुसार हुरीले अधिकांश घरका जस्तापाताका र टायलका छाना उडाएको छ । त्यस लगत्तै परेको वर्षाले घरभित्र राखिएका अन्नपात, खाद्यान्नलगायत भिजाएर कामै नलाग्ने बनाएको छ ।

“धेरै परिवार अहिले समस्यामा छन्,” अध्यक्ष ऐरले भने, “कतिपय आफन्तकहाँ आश्रय लिएर बसेका छन् भने केही परिवार अझै अस्थायी व्यवस्थामा खुला आकाशमुनि बसिरहेका छन् ।” हुरीले विद्युत् संरचनामा पनि ठुलो क्षति पुर्‍याएको छ । वडाका विभिन्न स्थानमा १८ वटा विद्युत् पोल ढलेका छन्, केही भाँचिएका छन् । २०० केभीएको ट्रान्सफर्मर जडित पोल ढलेपछि दुई दिनदेखि सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

“घर तथा गोठका छानामात्र होइन, विद्युत् संरचनामा व्यापक क्षति पुगेको छ,” अध्यक्ष ऐरले भने, “वडाभरि जडान गरिएका पाँच वटा सिसिटिभी क्यामेरा पनि क्षतिग्रस्त भएका छन्, करिब डेढ किलोमिटर क्षेत्रमा सिसिटिभीको तार चुँडिएको छ ।” उनका अनुसार हावाहुरीका कारण केही घर तथा विद्यालयमा रुख ढल्दा क्षति पुगेको छ ।

क्षतिग्रस्त क्षेत्रमा विद्युत् सेवा पुनः स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालित भएका छन् । ढलेका पोल हटाउने, नयाँ पोल गाड्ने तथा लाइन विस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ । “विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि आवश्यक काम भइरहेको छ,” अध्यक्ष ऐरले भने, “मौसमले साथ दिए भोलिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।”

हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोलीले मुचुल्का तयार पार्ने काम सुरु गरेको छ । प्रभावित परिवारको तथ्याङ्क सङ्कलनसँगै राहत तथा पुनः स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको अध्यक्ष ऐरको भनाइ रहेको छ ।

स्थानीयवासीका अनुसार केही मिनेट चलेको हावाहुरीले वर्षौँको मेहनतले बनाएको संरचनामा ठुलो क्षति पुर्‍याएको छ । विशेष गरी न्यून आय भएका परिवार बढी प्रभावित भएका छन् । स्थानीय तहले प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत र पुनः स्थापनाको पहल गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप