‘काभ्रेली सम्धी’ : रहर कालजयी, भइदियो भाइरल
सारांश
- युट्युब ट्रेन्डिङमा रहेको 'काभ्रेली सम्धी' गीतका गायक कोशिस थोकर तामाङ चर्चामा छन्।
- गीतको अडियोले बजार पिटेको र भिडियो बनाउने तयारी भइरहेको छ।
- कोशिस तामाङ सेलो संगीतका स्थापित नाम हुन्, उनलाई भाइरल हुने रहर छैन।
काठमाडौँ । गीतसङ्गीतको सफलताको मापन अचेल युट्युबको ट्रेन्डिङ, सामाजिक सञ्जाल टिकटकलगायतबाट हुने गरेको छ ।
अहिले सामाजिक सञ्जाल टिकटक खोल्ने हो भने ‘काभ्रेली सम्धी’ गीत आइहाल्छ । यस गीतमा भिडियो बनाउने थुप्रै छन् । युट्युबमा ट्रेन्डिङको यात्रा तय गरिरहेको यो गीत समाचार तयार गर्दासम्म ४ लाख ८ हजारभन्दा बढीले हेरिसकेका छन् । गीत ट्रेन्डिङको १९ नम्बरमा छ ।
रोचक कुरा के छ भने, गीतको भिडियो नै आएको छैन । अडियोले नै बजार पिटेको हो । जसका कारण यस गीतका गायक कोशिस थोकर तामाङ फेरि एकपटक चर्चाको केन्द्र बनेका छन् ।
काभ्रेको रोशी गाउँपालिकाका स्थायी बासिन्दा कोशिसका लागि यो सफलता पहिलो भने होइन । डेढ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका उनी तामाङ सेलो संगीतका एक स्थापित नाम हुन् । तर, ‘काभ्रेली सम्धी’ले अडियोबाटै पाएको यो अभूतपूर्व सफलता भने उनको गायन जीवनकै नौलो अनुभव पक्कै हो ।
‘गीतको चर्चा मात्र होइन, प्रतिक्रियासमेत एकदमै राम्रो पाइरहेको छु,’ उनी दङ्ग हुँदै भन्छन्, ‘गीत सबैको रुचिमा पर्यो । टिकटकमा भाइरल छ, युट्युबमा ट्रेन्डिङमा छ । एउटा गायकका लागि योभन्दा खुसीको क्षण के हुन सक्छ र ?’ गीत सार्वजनिक भएको दुई हप्तामै युट्युबको ट्रेन्डिङ र यति धेरै चर्चा आफूले कहिल्यै कल्पना नगरेको उनले सुनाए ।
गीतको चर्चापछि उनी अब यसको भिडियो पनि ल्याउने भएका छन् । भिडियोको काम पनि अगाडि बढेको उनले बताए । त्यसो त गीतको अडियो भिडियो एकसाथ ल्याउने उनको चाहना पहिले नै थियो । गीतमा जोडिएका कलाकारहरूको समय नमिलेकाले अडियोलाई पहिले सार्वजनिक गरिएको कोशिस बताउँछन् ।
‘यो निर्णय गर्नुपर्दा म त्यति खुसी थिइनँ,’ कोशिस थप्छन्, ‘तर यही निर्णय फलदायी साबित भइदियो ।’ गीत चलेपछि भिडियो उत्कृष्ट बनाउनुपर्ने प्रेसर पनि उनलाई थपिएको छ । भिडियो सक्दो राम्रो बनाउने सोच बनाएका उनी भिडियो आएपछि चल्नेमा आशावादी छन् ।

यो गीत गायनमा उनलाई गायिका जितु लोप्चनले साथ दिएकी छन् । गीतका शब्द जनक थोकरले कोरेका हुन्, जो पछिल्लो समय जापान बस्दै आएका छन् । जनक कोशिसका मित हुन् ।
गीतको यो सफलता पहिले अनुमान थियो त ? प्रश्नमा कोशिस भन्छन्, ‘गर्न त गीत सफल हुन्छ सोचेरै गरिन्छ । कतिपय गीत हुँदैनन्, केही हुन्छन् ।’ गीतले सोचेभन्दा धेरै राम्रो फिडब्याक पाएकामा दङ्ग छन् उनी ।
कोशिसको संघर्ष
कोशिस २०७२ सालदेखि औपचारिक रूपमै संगीतमा होमिएका हुन् । यो यात्राको सुरुमा उनले थुप्रै कठिनाइको सामना गर्नुपरेको थियो ।
‘सुरु–सुरुमा निकै गाह्रो थियो, गीतमा लगानी गर्न पैसा हुँदैनथ्यो । स्पोन्सरहरू भेटिँदैनथे, आफैँ लगानी गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘आफूले काम गरेर गीतमा लगानी गर्ने र घरपरिवार धान्नुपर्दा निकै गाह्रो हुन्थ्यो ।’ घरको जेठो छोरा भएकाले उनको काँधमा पारिवारिक जिम्मेवारी पनि थियो । यही कारणले उनले एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकेनन् ।
‘जेठो छोरोले बुबापछि परिवारको जिम्मेवारी थाप्नुपर्ने रहेछ,’ उनी भावुक बने, ‘गाउँघरमा एउटा जिम्मेवारीले थिचेपछि पढ्न नसकिने रहेछ ।’ पढाइ छाड्नुपरेकोमा पछुतो भए पनि उनी संगीतको बाटो हिँड्न सकेकामा खुसी छन् ।
बाल्यकालदेखि नै संगीतमा उनको रुचि थियो । एफएम रेडियोको जमानामा गीत बज्दा उनी ध्यान दिएर सुन्थे । उनकी आमाले उनको रुचि देखेर भविष्यमा यो कलाकार बने हुन्थ्यो भन्ने चाहना राख्थिन् । उनी आमाको प्रेरणा र साथले नै गायनमा होमिएका हुन् ।

‘त्यतिवेला क्यासेटको जमाना थियो । आफूलाई मन परेको गीतको क्यासेट किन्न बजार पुग्थें र ब्याट्रीवाला टेपमा बारम्बार बजाएर सुन्थें,’ कोशिसले भने, ‘आमाबुबा किसान भए पनि गायनमा सपोर्ट भयो ।’
‘सानोमा त डाक्टर, इन्जिनियर बन्ने रहर पनि थियो । के गर्नु, रहर रहरमै सीमित भयो,’ उनी थप्छन्, ‘अहिले कलाकारको रूपमा चिनिँदा, सपना अधुरो रह्योजस्तो लाग्दैन ।’
कलाकारिताको यात्रा सुरुमा कठिन भए पनि अहिले सहज भएको पाएका छन् । किनभने अहिले गीतसंगीत निर्माणमा उनले सजिलै स्पोन्सर पाउन थालेका छन् । मेला–महोत्सवमा पनि उनको डिमान्ड हुन्छ । विशेषगरी ल्होछारको समयमा उनलाई भ्याइनभ्याइ हुन्छ । पारिश्रमिक यतिउति नतोक्ने गरेको बताउने उनी राम्रै लिने गरेको सुनाउँछन् ।
भाइरल रहर छैन
कोशिसले गाएका ‘काभ्रेली सम्धी’का अलावा केही नेपाली गीत हिट छन् । तर पनि उनी आफूलाई ‘सेलो गायक’ भनेर चिनाउन रुचाउँछन् । किनभने उनले धेरै गीत तामाङ सेलो विधामा बनाएका छन् । भन्छन्, ‘म मूलतः सेलो गायक नै हो । नेपाली कहिलेकाहीँ गाउने हो ।’ उनका ‘तोरतोर लामा तामाङसे,’ ‘छारजिम बैसा साइलीला फिलीली’ र ‘राजारानी’ तामाङ गीतका युट्युबमा मिलियनभन्दा बढी भ्युज पाएका छन्, जसले उनलाई तामाङ संगीतमा स्थापित गर्ने काम गरेको छ ।
‘म भाइरलभन्दा पनि सधैँभरि नै दर्शक, स्रोताको मनमा बसिरहन पाउँ भन्ने चाहन्छु,’ उनी कुराकानीको बिट मार्छन्, ‘मेरो कोसिस भाइरल गीतभन्दा कालजयी बनाउने रहन्छ ।’ भाइरल गीतहरू केही समय चल्ने र कालजयी गीतहरू सधैँ रहने उनको बुझाइ हो ।
उनी गायक मात्र होइनन्, शब्द र संगीत पनि गर्छन् । ‘राजारानी’ गीतको शब्द, संगीत र स्वर उनकै हो । आफैँले सबै विधामा काम गर्दा चुनौती भए पनि त्यसले दिने सन्तुष्टि बेग्लै हुने उनी बताउँछन् । तामाङ गीत अहिले दिनमै ४–५ वटा आउने भएकाले प्रतिस्पर्धासमेत राम्रो भएको उनले महसुस गरेका छन् । उनको संगीत तामाङ समुदायमा मात्र सीमित छैन । गैर–तामाङ समुदायले पनि उत्तिकै माया दिएका छन् । ‘मेरो गाउँमा नेवार, बाहुन, क्षत्री, मगर सबैले तामाङ भाषा बोल्नुहुन्छ । मेलापात जाँदा, घाँस काट्न जाँदा पनि तामाङ गीत नै गाउनुहुन्छ,’ उनी खुसी साट्छन्, ‘यस्तो देख्दा आफ्नो भाषा र संगीतको दायरा फराकिलो भएकोमा गर्व महसुस हुन्छ ।’
अचेल गायक गायनमा मात्र सीमित छैनन् । थुप्रैलाई मोडलिङमा पनि देख्न सकिन्छ । कोशिसको भने मोडलिङमा रुचि छैन रे । अहिलेको समय डिजिटल युगको हो । यो समय ‘भाइरल’ शब्दको ठूलो प्रभाव छ । धेरै कलाकार छिट्टै चर्चामा छाउने र भाइरल हुने चाहना राख्छन् । उनमा भने भाइरल हुने चाहना कहिल्यै भएन रे ।
‘म भाइरलभन्दा पनि सधैँभरि नै दर्शक, स्रोताको मनमा बसिरहन पाउँ भन्ने चाहन्छु,’ उनी कुराकानीको बिट मार्छन्, ‘मेरो कोसिस भाइरल गीतभन्दा कालजयी बनाउने रहन्छ ।’ भाइरल गीतहरू केही समय चल्ने र कालजयी गीतहरू सधैँ रहने उनको बुझाइ हो ।
पछिल्लो समय मौलिक र सांस्कृतिक गीतहरू कम बन्दै गएकोमा उनी चिन्तित छन् । ‘अहिले त संस्कृति बचाउने गीत बजारमा खासै छैनन् । ‘भाइरल’ भन्ने शब्दले बिगारेको छ,’ उनी भन्छन्, ‘अहिले त सबै नाच्ने, रमाइलो खालका गीतहरू मात्रै छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण