जङ्गली हात्ती गाउँ पसेपछि रातभर जाग्राम
सारांश
- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलमा जङ्गली हात्तीको बथानले अन्नबालीमा क्षति पुर्याएको छ।
- हात्तीको डरले स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् र खेतीपाती गर्न छाडेका छन्।
- भारतीय सीमा क्षेत्रमा तारबार गर्न नपाउँदा समस्या भएको र स्थानीय सरकारले समाधान खोज्नुपर्ने माग छ।
कञ्चनपुर । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् ।
हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए । “मैले साढे चार बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ”, उनले भने, “खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ ।”
उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए । “हरेक वर्ष हात्तीले नोक्सानी पुर्याउँदै आएको छ, यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन”, उनले भने, “हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौँ ।”
वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । “रातिको समयमा ३०–४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्”, उनले भने, “बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ ।” अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले बताए। “हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ” महताले भने, “हामीलाई हात्तीको धेरै दुःख छ ।”
जङ्गली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन् । अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन् । “मजदुरी गरेर कमाएको पैसाले खेती लगाउँछौँ, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन”, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भने, “खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ ।”
छिमेकी मुलुक भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन् । केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण