आगजनीमा परेको बीपी स्मृति भवनमा कांग्रेसको बैठक
सारांश
- भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनमा विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो।
- आन्दोलनबाट कांग्रेसको केन्द्रीय कार्यालयमा १० करोड बराबरको क्षति भएको छ भने नेता तथा कार्यकर्ताका निवासमा पनि क्षति पुगेको छ।
- कांग्रेसले आगजनी र तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै आगामी निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको छ।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको कांग्रेसले बिहीबारदेखि आगजनीबाट ध्वस्त केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक आयोजना गरेको छ । बैठक शुक्रबार पनि जारी छ ।
आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त पारेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगजनीका कारण कार्यालयका कुनै पनि सामान बचेका छैनन् र आगजनीबाट केन्द्रीय कार्यालयमा मात्रै करिब रु १० करोड बराबरको क्षति भएको छ ।
बैठकमा सामसामयिक राजनीतिक विषयमा र यही असोज २६ गते बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित ‘एजेन्डा’लगायत विषयमा समेत छलफल भएको छ । जेनजी आन्दोलनपछि पार्टीको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पहिलोपटक बसेको हो ।
आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनाका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्य लाभपछि आराम गरिरहेका सभापति देउवा बिहीबारको बैठकमा उपस्थित भएनन् । यद्यपि उनी असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उक्त आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहससमेत सुरु भएको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरुले वर्तमान परिवेशमा भएको घटनाक्रमले उत्पन्न राजनीतिक र पार्टीगत चुनौतीको सामना गर्नुपर्नेलगायत विषयमा धारणा व्यक्त गरेका थिए । साथै पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भएको र समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय बैठकमा उठेको प्रवक्ता डा.महतले जानकारी दिए ।
राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई कारबाही नगरेसम्म निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठने कांग्रेसको भनाइ छ । आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा कांग्रेसका देशभरका ९५ नेता तथा कार्यकर्ताका निवासमा क्षति पुर्याइएको र ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेता कार्यकर्ताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण