हालसम्म ३३ करोडको जुम्ली स्याउ निर्यात
सारांश
- जुम्लाबाट यो सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ, तर गत वर्षको तुलनामा यो कम हो।
- असिनाका कारण स्याउ उत्पादनमा गिरावट आएको र यसले १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
- स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो छ, र यसले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ।
सुर्खेत । जुम्लाबाट यो सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । यो रेकर्ड भदौ र असोज महिनाको मात्र हो ।
कात्तिक मसान्तसम्म स्याउ निर्यातको क्रम जारी रहन्छ । कृषि विकास कार्यालय जुम्लाले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार, निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा कम हो । गत वर्ष यो अवधिसम्म ९ हजार ३३१ मेट्रिक टन स्याउ निर्यात भइसकेको थियो, तर यो वर्ष घटेर ४ हजार ७२५ मेट्रिक टनमा खुम्चिएको छ ।
गत वर्ष जुम्लाले समग्रमा ६१ करोड २ लाख ४७ हजार रुपैयाँ बराबरको स्याउ निर्यात गरेको थियो । यद्यपि, यो पटक उत्पादनमै गिरावट आएको तथ्याङ्कले देखाउँछ । कृषि विकास कार्यालयका अनुसार, प्राप्त विवरणमा हालसम्म १३ हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमानित तथ्याङ्क छ ।
कात्तिक मसान्तसम्म करिब ४५ करोड रुपैयाँसम्मको स्याउ निर्यात हुनसक्ने अनुमान कृषि कार्यालयले गरेको छ । गत वर्ष जुम्लामा १९ हजार ८४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले स्याउ उत्पादन घटेको छ । असिनाले यो पटक उत्पादनमा गिरावट आएको स्याउ कृषक बताउँछन् ।
_dl74c0qNnv.jpg)
कृषि विज्ञहरूका अनुसार मौसमी प्रभाव, बाली व्यवस्थापनमा चुनौती वा नयाँ बिरुवाले पूर्ण उत्पादन दिन समय लाग्ने लगायतका कारणले उत्पादन घटेको हो ।
असिना र वर्षाले गर्दा १६ करोड ६९ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण कृषि कार्यालयले तयार पारेको थियो । कात्तिक मसान्तसम्म ४५ करोड ६० लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको कृषि कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार स्याउको विक्री मूल्यमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिमेट्रिक टन स्याउको विक्री मूल्य ६५ हजार ४०० रुपैयाँ थियो । यस वर्ष बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्मको वृद्धि हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारी यसले किसानलाई ठुलो राहत मिलेको बताउँछन् ।
जुम्ला स्याउ उत्पादनका लागि प्रख्यात जिल्ला हो । तथ्याङ्क अनुसार जुम्लाको स्याउ खेती निरन्तर विस्तार हुँदै गएको छ र यसले स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ । जुम्लाको स्याउ सुर्खेतबाट काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर, धनगढीका बजारमा निर्यात हुने गर्छ ।
- बढ्दो क्षेत्रफल
कृषि विकास कार्यालयका अनुसार, स्याउ खेतीतर्फ किसानको आकर्षण हरेक वर्ष बढ्दै गएको छ । चालु आर्थिक वर्ष (२०८०/०८१) को प्रारम्भिक अनुमानअनुसार जुम्लामा स्याउ लगाइएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्ष (२०७९/०८०) को ४ हजार ३२५ हेक्टरबाट बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ । ‘यो १२० हेक्टरको थप विस्तारले स्याउ खेतीप्रति किसानको बढ्दो आकर्षणलाई दर्शाउँछ,’ निमित्त प्रमुख अधिकारीले भने ।
यसैगरी, फल दिने स्याउको क्षेत्रफल पनि यो वर्ष बढेको छ । गत वर्ष दुई हजार हेक्टर क्षेत्रफल रहेकोमा यो वर्ष बढेर दुई हजार १२५ हेक्टर पुगेको छ, जुन १२५ हेक्टरको वृद्धि हो । यसले भविष्यमा उत्पादन अझ बढ्ने संकेत गर्छ ।
- कृषक संलग्नता र जागरुकतामा वृद्धि
जुम्लामा स्याउ खेतीमा अग्रसर हुने घरधुरी संख्या पनि हरेक वर्ष बढ्दै गएको छ । स्याउ खेतीमा संलग्न कुल घरधुरीको संख्या गत वर्ष १९ हजार १२५ थियो । अहिले बढेर १९ हजार २५८ पुगेको छ । जुम्लाका कुल २४ हजार ८३८ घरधुरीमध्ये ७७.५ प्रतिशत घरधुरी स्याउ खेतीमा संलग्न छन् । यस्तै, स्याउको विक्री वितरणमा संलग्न कृषकको संख्या पनि ७ हजार ३२५ बाट बढेर ७ हजार ३३० पुगेको छ । यद्यपि विक्री वितरण व्यापारमा संलग्न कृषकको संख्या ५२५ रहेकोमा यस वर्षको विवरण भने आउन बाँकी छ ।
_OP2Ul9sXTD.jpg)
जुम्लाका कृषकले हाल रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड रिचर्ड र जोनाथनजस्ता स्थानीय जातका स्याउ लगाइरहेका छन् । यसका साथै, फुजी, गालाजस्ता उन्नत जातका स्याउको खेती पनि भइरहेको छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले स्टार क्रिमसन डेलिसियस, ब्राइट एन्ड अर्ली र स्टार्क स्पर गोल्डेनजस्ता नयाँ जातका स्याउ सिफारिस गरेको छ, जसले जुम्लाको स्याउ खेतीलाई थप विविधता र गुणस्तर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले भने, ‘हामी उन्नत जात र आधुनिक खेती प्रणाली अपनाउन किसानलाई प्रेरित गरिरहेका छौँ ।’
नयाँ जातहरूले उत्पादन र बजार मूल्य दुवैमा सुधार ल्याउन सक्ने आकलन गरिएको छ । अहिले प्रतिकिसान ५ हजारदेखि ४० हजारसम्म स्याउका बोट लगाउने किसान संलग्न छन् ।
- ४१.२ प्रतिशत स्याउ उत्पादन कर्णाली प्रदेशमा
नेपालका उच्च पहाडी क्षेत्रमा विभिन्न किसिमका अन्न तथा फलफूल उत्पादन हुने गरेको छ । कर्णालीका जुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाहरूमा स्थानीय किसानहरूको जीविकोपार्जनको मुख्य आयस्रोतको रूपमा स्याउ खेती रहेको छ, तर जुम्लाबाहेक अन्य जिल्लाको स्याउ उत्पादनदेखि निर्यातको रेकर्ड पाइँदैन ।
_YfMX9ip8xM.jpg)
सरकारले पनि जुम्लाबाहेक अन्य जिल्लामा स्याउको क्षेत्रमा लगानी गरेको छैन । यद्यपि, जुम्ला जतिको स्याउ उत्पादन अन्य जिल्लामा हुँदैन । देशभरको कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत कर्णाली प्रदेशमा हुने गरेको तथ्याङ्कले देखाउँछ ।
२०२४ सालमा जुम्लामा बागवानी फार्म स्थापना भएपश्चात् सो फार्मद्वारा भारतको कश्मीरबाट स्याउको बेर्ना ल्याएर जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको थियो । स्थानीय किसानहरू स्याउको बगैंचा स्थापनामा लागे । बिस्तारै जुम्लामा स्याउको उत्पादन पनि बढ्यो । तथापि, बजार पहुँचको अभावका कारण आयस्रोतको दायरा भने सीमित थियो । २०६४/०६५ सालमा कर्णाली राजमार्गको निर्माण भएसँगै जुम्ला जिल्ला सुर्खेत, नेपालगञ्ज लगायत विभिन्न बजारसँग जोडियो र यो सँगै स्याउको बजारीकरणमा पनि सुधार हुँदै आएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२/०७३ सालमा जुम्ला जिल्लालाई ‘स्याउ सुपर जोन’ को रूपमा अगाडि बढाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण