शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कर्णाली : चाडपर्वमा ९१ सवारी दुर्घटना, १९ जनाको मृत्यु

दसैँमा बढी दुर्घटना, तिहारमा धेरै मानवीय क्षति
मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ५५
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • कर्णाली प्रदेशमा दसैँ र तिहारमा ९१ वटा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा १०८ जना गम्भीर र ११५ जना सामान्य घाइते भएका छन्, जसमा रुकुममा सबैभन्दा बढी ८ जनाको मृत्यु भयो।
  • प्रहरीले चाडपर्वमा सवारी सुरक्षाका लागि विशेष योजना बनाएको थियो, तर दुर्घटनाको संख्याले थप सचेतना आवश्यक देखाउँछ।

सुर्खेत । कर्णाली प्रदेशमा यस वर्षको बडादसैँ र दीपावली (तिहार) लगायतका चाडपर्वको अवसरमा ९१ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने १०८ जना गम्भीर घाइते र ११५ जना सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वको अवसरमा हुने सवारी चाप र लापर्बाहीका कारण सवारी दुर्घटनामा बर्सेनि मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये चाडपर्वमा सुर्खेतमा सबैभन्दा बढी ३६ वटा सवारी दुर्घटना भएका छन् ।

यस्तै रुकुममा १६, सल्यानमा ११ र जाजरकोटमा ९ वटा दुर्घटना भएका छन् । दैलेख र कालिकोटमा ६÷६ वटा दुर्घटना हुँदा जुम्लामा ४ र डोल्पामा १ सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मुगु र हुम्लामा भने चाडपर्वको अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको जनाइएको छ ।

सवारी दुर्घटनामा रुकुममा सर्वाधिक ८ जनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानमा ४÷४ जनाको मृत्यु भएको छ भने जाजरकोटमा एक र दैलेखमा २ जनाको मृत्यु भएको छ । कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भने यस अवधिमा सवारी दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन ।

दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या सुर्खेतमा ३७, रुकुम पश्चिममा २५ र सल्यानमा १७ रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार खनालले बताए ।

यस्तै, कालिकोटमा ८, जाजरकोटमा ५, दैलेखमा ११, जुम्लामा ४ र डोल्पमा एक जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेमा सबैभन्दा बढी सुर्खेतमै ३९, रुकुम पश्चिममा १७, जाजरकोटमा २३, दैलेखमा २०, सल्यानमा र कालिकोटमा ६÷६ र जुम्लामा ४ जना छन् ।

चाडपर्वमा भएका कुल ९१ दुर्घटनामध्ये बडादसैँको अवधिमा ५७ वटा र दीपावलीको अवधिमा ३४ वटा दुर्घटना भएका छन् । दुर्घटनाको संख्या दसैंंमा बढी देखिए पनि मानवीय क्षतिको हिसाबले दीपावली अलि बढी देखिएको छ ।

दसैंको अवधिमा ८ जनाको ज्यान गएको थियो भने दीपावलीमा ११ जनाको ज्यान गएको छ । दसैँको अवधिमा भएको दुर्घटनामा ६६ जना गम्भीर घाइते र ९३ जना सामान्य घाइते भएका थिए । दीपावलीमा भने ४२ जना गम्भीर घाइते र २२ जना सामान्य घाइते भएका छन् ।

अधिकांश जिल्लामा तिहारको तुलनामा दसैँको समयमा बढी सवारी दुर्घटना भएको छ । सुर्खेतमा दसैँमा २२ र तिहारमा १४, सल्यानमा दसैँमा ७ र तिहारमा ४, रुकुममा दसैँमा ११ र तिहारमा ५, जाजरकोटमा दसैँमा ५ र तिहारमा ४ तथा दैलेखमा दसैँमा ४ र तिहारमा ३ दुर्घटना भएका छन् । जुम्लामा दसैँको अवधिमा ४ र डोल्पामा १ दुर्घटना भए पनि यी दुई जिल्लामा तिहारमा भने कुनै दुर्घटना भएका छैनन् ।

मृत्युको तथ्यांक विश्लेषण गर्दा रुकुम पश्चिममा तिहारको समयमा भयावह स्थिति देखिएको छ, जहाँ दसैँमा भएका दुर्घटनामा शून्य मृत्यु रहे पनि तिहारमा ८ जनाको ज्यान गएको छ । सल्यानमा दसैँमा ४ जनाको मृत्यु भएको थियो भने तिहारमा कुनै मृत्यु भएको छैन । सुर्खेत र दैलेखमा दसैँमा दुई–दुई र तिहारमा एक–एक जनाको मृत्यु भएको छ ।

तथ्याङ्कले चाडपर्वको समयमा सवारी सुरक्षामा थप सचेतना र कडाई आवश्यक रहेको देखाउँछ । कर्णालीमा प्रहरीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेर लागु गरेको थियो ।  यो सुरक्षा योजना असोज ६ गतेदेखि कात्तिक १० गतेसम्म लागु गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप