शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विवेक ओबोरोयले ‘रामायण’को पारिश्रमिक दान गर्ने

बुधबार, १२ कात्तिक २०८२, ११ : ४७
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • अभिनेता विवेक ओबेरोय रामायण फिल्ममा विभीषणको भूमिकामा देखिँदैछन् र पारिश्रमिक बालबालिकाको क्यान्सर उपचारका लागि दान गर्ने भएका छन्।
  • विवेकले फिल्मलाई भारतीय सिनेमालाई विश्वव्यापी बनाउने र भारतको सांस्कृतिक जरालाई विश्वमा पुर्याउने प्रयासको रूपमा लिएका छन्।
  • रामायणमा रणवीर कपूर रामको भूमिकामा, साई पल्लवी सीताको भूमिकामा, र यश रावणको भूमिकामा छन्, र फिल्म २०२६ र २०२७ मा रिलिज हुनेछ।

नयाँ दिल्ली । बलिउडका अभिनेता विवेक ओबेरोय यतिबेला बहुप्रतिक्षित फिल्म ‘रामायण’का कारण चर्चामा छन् । निर्देशक नितेश तिवारीको यस फिल्ममा उनले रावणका भाइ विभीषणको भूमिका निर्वाह गर्दैछन् ।

 उनले फिल्मको लागि ठुलो पारिश्रमिक लिँदैछन् । तर यसबाट आएको सबै रकम दान गर्नेछन् । विवेक अभिनेताको साथसाथै व्यापारी पनि हुन् । उनी प्रायः परोपकारी काम गरिराख्छन् । हिन्दुस्तान टाइम्ससँगको हालैको अन्तर्वार्तामा उनले रामायणबाट आउने पारिश्रमिकबाट एक सुको नराख्ने बताएका छन् ।

‘मैले निर्माता नमित मल्होत्रालाई भनेको थिएँ कि मलाई यो फिल्मको लागि एक पैसा पनि चाहिँदैन । म यो पैसा बालबालिकाको क्यान्सर उपचारको लागि दान गर्न चाहन्छु । मलाई विश्वास छ कि यो फिल्मले भारतीय सिनेमालाई विश्वव्यापी स्तरमा पुर्याउनेछ,’ अन्तर्वार्तामा विवेकले भने । रामायण केवल एउटा फिल्म मात्र नभएर भारतको सांस्कृतिक जरालाई विश्वमा पुर्‍याउने प्रयास भएको उनको भनाइ थियो । ‘हामीलाई विश्वास छ कि रामायण ऐतिहासिक छ, र यसमा काम गर्नु मेरो लागि गर्वको कुरा हो ।’ अझ अगाडि उनले भनेका छन् ।

नितेश र नमितले यसलाई जुन स्तरमा बनाइरहेका छन् त्यो अभूतपूर्व भएको पनि उनले बताए । यो हलिउडमा बन्ने गरेका एपिक फिल्महरूको लागि भारतको जवाफ हुने उनको भनाइ छ । आफूले यश, रकुल, साई पल्लवी र रणवीर कपूर जस्ता प्रतिभाशाली कलाकारहरूसँग काम गरेंको अनि केही दिनको छायांकन अझै बाँकी भएको पनि उनले बताए । खबरहरूका अनुसार रामायणको भाग एकको छायांकन जुन २०२५ मा पूरा भएको थियो । फिल्मको सम्पादन अब बन्द गरिएको छ । निर्माताहरूले अर्को ३०० दिन फिल्मको भीएफएक्समा काम गर्ने बताइएको छ ।

यस फिल्ममा बलिउड अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिँदैछन् । फिल्ममा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको रूपमा छिन् भने यशले रावणको भूमिका निर्वाह गरेका छन् । सनी देओल हनुमान बनेका छन् भने रवि दुबे लक्ष्मणको रूपमा प्रस्तुत हुनेछन् । दक्षिण भारतकी अर्की चर्चित अभिनेत्री काजल अग्रवालले फिल्ममा मन्दोदरीको भूमिका निर्वाह गर्नेछिन् । 

रकुल प्रीत सिंह भने शूर्पणखाको भूमिकामा देखिनेछिन् । रामायण भाग १ २०२६ को दिवालीमा र भाग २ २०२७ को दिवालीमा रिलिज हुने घोषणा मेकरहरूले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप